Edukhabar
बुधबार, १२ बैशाख २०८१
अन्तैवाट

परीक्षा केन्द्रमा स्यानेटरी प्याड !

बुधबार, ०७ चैत्र २०७४

काठमाडौं ७ चैत / यस वर्षको एसईई परीक्षा सञ्चालन हुने बाग्लुङ् जिल्लाका सबै परीक्षा केन्द्रमा सिनेटरी प्याडको व्यवस्था गरिएको छ। बिहीबारदेखि सुरु हुन लागेको परीक्षामा छात्रा विद्यार्थीलाई रजस्वलाका कारण समस्या नहोस् भन्ने अभिप्रायले यस्तो व्यवस्था गरिएको जिल्ला शिक्षा कार्यालय बागलुङले जनाएको छ।

सुआहारा परियोजना बागलुङको सहयोगमा जिल्लाका ३१ वटै परीक्षा केन्द्रमा अनिवार्य रूपमा सिनेटरी प्याडको व्यवस्था गरिएको जिल्ला शिक्षा अधिकारी गुरुप्रसाद पौडेलले बताए। ‘प्रत्येक परीक्षा केन्द्रमा ६० वटाका दरले सिनेटरी प्याड पठाइएको छ’, जिशिअ पौडेलले भने, ‘छात्रालाई रजस्वला हुँदा स्वास्थ्य र परीक्षामा पर्न सक्ने सम्भावित असरलाई ध्यानमा राखेर सिनेटरी प्याडको व्यवस्था मात्र गरेका छैनौं, छात्राहरूले समस्या परे पनि लुकाएर भन्न नसक्ने अवस्था संवेदनशीलतालाई पनि ख्याल गरेर परीक्षार्थीलाई बालमैत्री व्यवहार गर्न केन्द्राध्यक्षहरूलाई निर्देश गरेका छाौ।’

परीक्षा मर्यादित बनाउन माध्यमिक परीक्षा समन्वय समितिले ३५ बुँदे आचारसंहिता पनि जारी गरेको छ। ती संहिता पालना नगरे आवश्यक कारबाही गर्ने र परीक्षालाई खलल पर्ने गतिविधि गरे शिक्षा ऐन २०२८ को दफा १७ (क) अनुसार कसुरको मात्रा हेरी ६ महिनासम्म कैद र एक लाख रुपैयाँसम्म जरिवाना गराउन सकिने चेतावनी दिइएको छ।

परीक्षा मर्यादित बनाउन कुनै पनि विद्यालयका विद्यार्थीले आफ्नो विद्यालयमा परेको केन्द्रबाट परीक्षा दिन नपाउने व्यवस्था गरिएको छ। नारायणस्थानस्थित जनताधन माविका एक जना दृष्टिविहीन विद्यार्थीलाई भने आफ्नै केन्द्रमा बसेर परीक्षा दिने व्यवस्था गरिएको हो। सदरमुकामको विद्यामन्दिर माविमा बहिरा, खुला विद्यालय, नियमित र पुरानो शिक्षाका एक्जाम्टेड गरी ४ सय ५ विद्यार्थीले परीक्षा दिनेछन्।

यस वर्षको एसईई परीक्षामा जिल्लाभरका ५४ सय १३ परीक्षार्थीले भाग लिँदै छन्। उनका अनुसार परीक्षा दिने छात्रा २ हजार ३ सय ९३ र छात्र १ हजार ९ सय ५० जना छन्। केही वर्षदेखि होम सेन्टर हटाइएकोमा यो वर्ष पनि निरन्तरता दिइएको छ। जिल्लामा ३१ वटा परीक्षा केन्द्रमा ३१ जना केन्द्राध्यक्ष, ३३ जना सहायक केन्द्राध्यक्ष, २ सय ३८ जना निरीक्षक र १ सय २३ सहयोगी कर्मचारी तथा ४ सय ६५ जना सुरक्षाकर्मीसमेत खटाइसकिएको छ।

नियमित परीक्षाबाहेक जिल्लाका १ सय ३८ विद्यार्थीले प्राविधिक धारबाट कम्प्युटर, कृषि, भेटेनरी र सिभिल इन्जिनियरिङको परीक्षा दिनेछन्। जिल्ला शिक्षाले परीक्षा मर्यादित बनाउन सरोकारवालासँग छलफल गरेर सबै केन्द्रका लागि आवश्यक सामग्रीसमेत पठाइसकेको छ। चैत ८ देखि सुरु हुने परीक्षा नियमितहरूको १७ गते र प्राविधिक विषयका विद्यार्थीको २० गतेसम्म चल्नेछ।

अन्नपूर्ण पोष्टमा दिल शिरीषले लेखेका छन् ।

प्रतिक्रिया