Edukhabar
शनिबार, ०८ बैशाख २०८१
खबर/फिचर

एसईई परीक्षा आज देखि, अमर्यादित कार्य गर्नेलाई स्थलगत कारवाही

विहीबार, ०८ चैत्र २०७४

काठमाडौं - कक्षा १० को अन्तिममा लिईने माध्यमिक शिक्षा परीक्षा (एसईई) को यस बर्षको परीक्षा आज देखि शुरु भएको छ । विद्यार्थीले पहिलो दिन बिहीबार अनिवार्य अंग्रेजी र वेद विद्याश्रम तर्फ अनिवार्य संस्कृत भाषा र साहित्यको परीक्षा दिईरहेका छन् । *

यस बर्षको परीक्षामा सहभागी हुन देशभरबाट ४  लाख ८५ हजार ५ सय ८६ परीक्षार्थीले फारम भरेका छन् । परीक्षा सञ्चालनका लागि तय गरिएका १ हजार ९ सय ५६ केन्द्रमा चुस्त तयारी रहेको परीक्षा नियन्त्रण कार्यालयले जनाएको छ । प्रति केन्द्र एक जना केन्द्राध्यक्ष सहित २ हजार ४ सय ५० सहायक केन्द्राध्यक्ष, २० हजार ३ सय ४० निरीक्षक, १० हजार ६ सय ७६ सहयोगी र २९ हजार ३ सय ४० सुरक्षाकर्मी गरी जम्मा ६४ हजार ७ सय ६२ जनशक्ति परिचालित गरिएको कार्यालयले जनाएको छ ।  

परीक्षालाई मर्यादित, अनुशासित र व्यवस्थित गर्ने र अमर्यादित कार्य गर्ने वा गर्न उक्साउने जो–कोहीलाई स्थलगत रूपमै कारबाही गर्न सक्ने गरी अनुगमन निरीक्षणको व्यवस्था मिलाइएको कार्यालयले दावी गरेको छ ।

शिक्षा ऐनमा भएको आठौं संशोधनले विद्यालय शिक्षालाई कक्षा १२ सम्म हुने ब्यवस्था गरे पनि राष्ट्रिय परीक्षा बोर्डको असक्षमताका कारण परीक्षाको व्यवस्थापन साविककै परीक्षा नियन्त्रण कार्यालय मार्फत् भएको हो । आगामी वर्षदेखि प्रदेश स्तरमा सञ्चालन गर्ने बोर्डले जनाएको छ ।

विहान ८ बजे देखि शुरु परीक्षामा साधारण धार तर्फको १७ गते सम्म र प्राविधिक धार तर्फको २० गतेसम्म सञ्चालन हुने छ । यस वर्ष माध्यमिक शिक्षा पाठ्यक्रम, २०७१ अनुसार नयाँ पाठ्यक्रम अनुसारका प्रश्नपत्रका आधारमा परीक्षा सञ्चालन गरिँदैछ । यस अनुसार अनिवार्य विषय तर्फ गणित बाहेक बाँकी सबैमा प्रयोगात्मक परीक्षाको व्यवस्था गरिएको छ ।

अनुत्तीर्ण परीक्षार्थी र अक्षराङ्कन पद्दतिको नतिजामा विभिन्न विषयमा ’सी’ ग्रेड वा सो भन्दा तल्लो ग्रेड प्राप्त भई ग्रेडवृद्धि परीक्षामा समेत ग्रेडवृद्धि गर्न नसकेका परीक्षार्थीका लागि समेत एक्जेम्टेड परीक्षार्थीका रुपमा परीक्षा दिने व्यवस्था गरिएको छ ।

*अपडेट

प्रतिक्रिया