Edukhabar
शुक्रबार, १६ चैत्र २०८०
खबर/फिचर

कक्षा कोठामा शिक्षा मन्त्री !

विहीबार, ०८ चैत्र २०७४

ललितपुर - शिक्षा मन्त्री गिरिराजमणि पोखरेलले कक्षा कोठामै पसेर कक्षा १० को अन्तिममा लिईने माध्यमिक शिक्षा परीक्षा (एसईई) को 'अनुगमन' गरेका छन् । बिहीबार देखि शुरु भएको परीक्षाको पहिलो दिन उनले उपत्यकाका तीनै जिल्लाका विभिन्न ४ वटा विद्यालयमा रहेका परीक्षा केन्द्र घुमेर परीक्षा सञ्चालनको अवस्थाका बारेमा जानकारी लिएका हुन् ।

लगनखेल स्थित नमूना मच्छिन्द्र माविमा परीक्षा सञ्चालन भएका १० मध्ये २ वटा कक्षा कोठा भित्रै छिरेर उनले परीक्षाका बारेमा जानकारी लिएका थिए ।

'मन्त्री ज्यू दल बल सहित आउनु भयो, सबै कक्षामा त छिर्नु भएन, २ वटा कक्षामा भित्रै छिरेर यसो हेर्नु भयो' विद्यालयका एक शिक्षकले भने, 'बाहिर फोटो सोटो खिच्नु भयो अनी फर्कनु भयो ।'

पोखरेलले सिनामंगलको गुह्येश्वरी मावि, मध्य बानेश्वरको रात्नराज्य मावि र आदर्श मावि सानोठिमी भक्तपुरमा पनि उसै गरी अवलोकन गरेका थिए ।

पोखरेलको अघिल्लो कार्यकालमा कक्षा १० को परीक्षा ग्रेडिङ् प्रणालीमा शुरु गर्ने निर्णय भएको थियो ।

अवलोकनका क्रममा उनले विद्यालयको भौतिक संरचना लगायतका अवस्थाका बारेमा चासो ब्यक्त गरेको विद्यालयका शिक्षकहरुले बताए ।

उपत्यकाका तीनै जिल्ला शिक्षा अधिकारीहरुको आग्रहमा मन्त्रीले परीक्षाको अनुगमन गरेको उनका प्रेस संयोजक सुनील खड्काले बताए । 

एसईईको पहिलो दिन बिहीबार अनिवार्य अंग्रेजी र वेद विद्याश्रम तर्फ अनिवार्य संस्कृत भाषा र साहित्यको परीक्षा भएको थियो । यस बर्षको परीक्षामा सहभागी हुन देशभरबाट ४  लाख ८५ हजार ५ सय ८६ परीक्षार्थीले फारम भरेका छन् । परीक्षा सञ्चालनका लागि देशभर गरी १ हजार ९ सय ५६ केन्द्र , त्यतिकै संख्यामा केन्द्राध्यक्ष सहित २ हजार ४ सय ५० सहायक केन्द्राध्यक्ष खटिएका छन् ।
यस्तै २० हजार ३ सय ४० निरीक्षक, १० हजार ६ सय ७६ सहयोगी र २९ हजार ३ सय ४० सुरक्षाकर्मी गरी जम्मा ६४ हजार ७ सय ६२ जनशक्ति परिचालित गरिएको परीक्षा नियन्त्रण कार्यालयले जनाएको छ ।  

शिक्षा ऐनमा भएको आठौं संशोधनले विद्यालय शिक्षालाई कक्षा १२ सम्म हुने ब्यवस्था गरे पनि राष्ट्रिय परीक्षा बोर्डको असक्षमताका कारण परीक्षाको व्यवस्थापन साविककै परीक्षा नियन्त्रण कार्यालय मार्फत् भएको हो । आगामी वर्षदेखि प्रदेश स्तरमा सञ्चालन गर्ने बोर्डले जनाएको छ ।

परीक्षा अन्र्तगत साधारण धार तर्फको १७ गते सम्म र प्राविधिक धार तर्फको २० गते सम्म सञ्चालन हुने छ । यस वर्ष माध्यमिक शिक्षा पाठ्यक्रम, २०७१ अनुसार नयाँ पाठ्यक्रम अनुसारका प्रश्नपत्रका आधारमा परीक्षा सञ्चालन गरिएको छ । यस अनुसार अनिवार्य विषय तर्फ गणित बाहेक बाँकी सबैमा प्रयोगात्मक परीक्षाको व्यवस्था गरिएको छ ।

अनुत्तीर्ण परीक्षार्थी र अक्षराङ्कन पद्दतिको नतिजामा विभिन्न विषयमा ’सी’ ग्रेड वा सो भन्दा तल्लो ग्रेड प्राप्त भई ग्रेडवृद्धि परीक्षामा समेत ग्रेडवृद्धि गर्न नसकेका परीक्षार्थीका लागि समेत एक्जेम्टेड परीक्षार्थीका रुपमा परीक्षा दिने व्यवस्था गरिएको छ ।

प्रतिक्रिया