Edukhabar
शुक्रबार, १६ चैत्र २०८०
बहस

कक्षा १ मा प्रबेश परीक्षा उचित कि अनुचित

मंगलबार, १९ फागुन २०७१

काठमाडौं १९ फागुन / नयाँ शैक्षिक सत्र आउन पुग नपुग एक महिना मात्रै बाँकी छ । यो संगै भित्रिदैंछ, साना नानीहरुको कहरको कथा ! 'राम्रा भनिएका' विद्यालय पढाउन चाहने अभिभावक र उनीहरुका साना वालवालिकाको पहिलो पाईला एकै पटक ठोकिनेछन् प्रबेश परीक्षाका नाममा । विद्यालयहरुले लिने यस्ता परीक्षाले वाल मनोविज्ञानमा नराम्रो असर गरेको बताउँछन् प्रारम्भिक वाल विकासमा विद्यावारिधि गरेका, प्राध्यापक डा. प्रेम नारायण अर्याल ।

राम्रा विद्यालय पढाउने सपना साँचेका अभिभावकलाई यसले पुर्याउने असर भन्दा कैंयौँ गुणा धेरै असर ती साना नानीहरुमा पुग्ने अर्यालको भनाई छ । ‘विद्यालय भनेको त जीवन बुझ्न र ज्ञान बढाउन जाने हो नी’, उनले भने ‘प्रबेश परीक्षाको त्रासदीले वाल मनोविज्ञानमा नराम्रो असर गर्छ जुन जीवनभर नकारात्मक प्रभाव बनेर बस्छ ।’

हरेक नयाँ शैक्षिक सत्र संगै कक्षा १ मा पढ्ने विद्यार्थीलाई लिईने प्रबेश परीक्षा उचित की अनुचित भन्ने बहस हुन्छ । तर यसको निश्कर्ष न त शिक्षा मन्त्रालय न त विद्यालय सञ्चालक कतैबाट पनि निकालिएको छैन । साना नानीहरु भने परीक्षाको मनोबैज्ञानिक असरबाट गुज्रीरहेका छन् ।

शैक्षिक संरचनाले नै यस्ता कृयाकलाप बढाएको बताउँछन् अभिभावक सँघका अध्यक्ष सुप्रभात भण्डारी । राम्रो विद्यालयमा छोराछोरी पढाउन चाहनु अभिभावकको ईच्छा र अधिकार दुवै हो, तर परीक्षाका नाममा वालवालिका माथि दबाव दिईएको उनको भनाई छ । ‘भएका सबै विद्यालय राम्रा हुने वातावरण सृजना गराउन राज्य असफल हुँदा कलिला नानीहरुले हैरानी पाए’ उनले भने ‘यस्ता परीक्षाको विकल्पका बारेमा विद्यालय सञ्चालकहरु र शिक्षा मन्त्रालय गम्भिर हुन नसक्दा समस्या भयो ।’

निजी तथा आवासीय विद्यालय अर्गनाईजेशन प्याब्सनका महासचिव डीके ढुङ्गाना विद्यार्थीको क्षमता पहिचान गर्न परीक्षा लिने विद्यमान चलनकै आधारमा भईरहेको बताउँछन् । निश्चित कोटामा धेरै विद्यार्थीको आवेदन परेपछि कुनै न कुनै रुपमा छनौट गर्नु पर्दा परीक्षालाई अपनाईएको उनको भनाई छ । ‘पूर्व प्राथमिक तह सञ्चालन नगरेका विद्यालयहरुले अन्यत्रबाट आउने विद्यार्थीलाई प्रबेश गराउन एउटा आधार तय गरिएको हो,’ उनले भने, ‘विद्यार्थीको उमेर अनुसारको क्षमता परीक्षण गर्न परीक्षा लिने गरिएको हो ।’ 

कक्षा १ मा भर्ना हुने विद्यार्थीको प्रबेश कसरी गराउने भन्ने स्पष्ट ब्यवस्था नहुँदा प्रबेश परीक्षाका नाममा वालवालिकाले हैरानी खेपेको भण्डारीको भनाई छ । यो हैरानी सँगै राम्रा भनिएका विद्यालयको कमाईको मेलो समेत हुने गरेको उनले बताए । ‘हरेक विद्यार्थीबाट प्रबेश परीक्षाका नाममा लाखौं रकम शुल्क उठाईएको छ’ उनले भने, ‘यसलाई तत्काल नीयमन गर्नु आवश्यक छ ।’

शिक्षा मन्त्रालयका प्रवक्ता डा. हरी लम्साल पनि पेपर पेन्सील टेष्टका आधारमा साना नानीहरुलाई प्रबेश गराउनु अनुचित भएको बताउँछन् । तर यस्ता परीक्षाको विकल्पका बारेमा मन्त्रालयले अहिले सम्म केही पहल गरेको छैन । ‘थप गृह कार्य गरी नियमनको ढाँचा विकास गर्ने मन्त्रालयले सोचेको छ,’ उनले भने ।  

साना नानीहरुको पूर्व प्राथमिकमा भएको विकासलाई यस्ता परीक्षाका विकल्पको आधार मान्नु पर्ने प्रा.डा. अर्याल बताउँछन् । ‘खेलकुद, अतिरिक्त कृयाकलाप लगायतका सर्वाङ्गिण विकासलाई हेरे मात्रै पुग्छ धेरै तामझाम गर्नु आवश्यक छैन,’ उनले भने ।

विकल्पको बारेमा राज्यले नै ठोस नीति अख्तियार गर्नु आवश्यक रहेको भण्डारी बताउँछन् । ‘हामी थुर्पै विकल्प दिन सक्छौं’ उनले भने, ‘उदाहरणका लागी कक्षा १ मा पढ्न आवश्यक उमेर पुगेका वालवालिकालाई गोला प्रथाबाट छान्ने प्रणालीको विकास गर्न पनि सकिन्छ ।’

तस्बिर : ईन्टरनेट

प्रतिक्रिया