Edukhabar
शनिबार, ०८ बैशाख २०८१
अन्तैवाट

विद्यालयमा बालमैत्री पूर्वाधार

सोमबार, ०३ बैशाख २०७५

काठमाडौं ३ बैशाख  /  म्याग्दीको अन्नपूर्ण गाउँपालिका–५ फलातेको शारदा आधारभूत विद्यालयमा समुदायको पहलमा बालमैत्री पूर्वाधार निर्माण भएको छ । स्थानीयवासी, प्रवासी, पोखरा, काठमाडौँमा बसोबास गर्ने फलातेवासी र विदेशी नागरिकको सहयोगमा रु २५ लाखभन्दा बढीको लगानीमा बालमैत्री पूर्वाधार निर्माण भएको हो । रु २५ लाख ३० हजार १११ को लागतमा पूर्व प्राथमिक र प्राथमिक तहका विद्यार्थीका लागि घेराबार सहितको बास्केटबल, फुटबल खेल्न मिल्ने खेलमैदान, स्विमिङ पुल, पिङ, खानेपानी धारा, स्लाइड, मंकीबार, सिस, प्रवेशद्वार लगायतका पूर्वाधार तयार पारिएको खेलमैदान निर्माण समितिका अध्यक्ष केश गौचनले बताउनुभयो ।

स–साना बालबालिकालाई विद्यालय जाउँ जाउँ लाग्ने वातावरण बनाई उनीहरुको पढाइप्रति रुचि बढाई शैक्षिक गुणस्तर सुधार गर्ने उद्देश्यले पूर्वाधार निर्माण गरिएको हो । खेलमैदान निर्माणका लागि फलातेकी नन्दकुमारी शेरचनले एक रोपनी तीन पैसा एक दाम जग्गा निःशुल्क उपलब्ध गराउनु भएको थियो । खेलकुदका सामग्री खरिदका लागि जर्मन नागरिक मिस रेजिना बडर र करिना स्टेफनले रु तीन लाख ३१ हजार ४३९ सहयोग गर्नुभएको छ ।

यसैगरी पोखरा, काठमाडौँ र प्रवासमा रहेका फलाते, घोप्टेखर्कका बासिन्दाले रु २९ लाख ८१ हजार ८६३ चन्दा सहयोग गरेका थिए । फलातेका ५५ घरधुरीले १०१० दिन, चित्रेका २५ घरधुरीले एक दिन, स्वाँताका ३० घरधुरीले एक दिनका दरले श्रमदान गरेका अध्यक्ष गौचनले बताउनुभयो । पर्खाल लगाएर उकासिएको खेलमैदान वरपर तारजालीले घेराउ गरिएको छ । जीर्ण अवस्थामा रहेको प्रवेशद्वार मर्मत, रंगरोगन, चुहिने अवस्थामा रहेका छानाका टिन परिवर्तन गरिएको छ । झ्याल ढोका, शौचालय मर्मत गर्नाका साथै बालमैत्री धारा निर्माण गरी नियमित शुद्ध खानेपानी आपूर्ति हुने व्यवस्था मिलाइएको छ । कक्षा ५ सम्मको पाठनपाठन हुने विद्यालयमा हाल करीब २० जना विद्यार्थी अध्ययनरत रहेका प्रअ चिना गर्बुजाले बताउनुभयो ।

विद्यालयमा बालमैत्री पूर्वाधार निर्माण शिर्षकमा गोरखापत्रमा प्रकाशित

प्रतिक्रिया