Edukhabar
शनिबार, ०८ बैशाख २०८१
विचार / विमर्श

कक्षाका गुरु पनि 'बस र वायरिङ्'का जस्तै बनौं न !

सोमबार, ०३ बैशाख २०७५

काठमाडौंको मुख्य बजार ताकेर वरीपरीका जुन वस्तीबाट मान्छे निस्के पनि उनीहरु भन्छन् – शहर जाने । कीर्तिपुरबाट निस्कने सार्वजनिक यातायातका साधनले तीनै शहर जानेहरुलाई ओसार्छ । त्यहाँबाट विहानमा सार्वजनिक यातायात चढ्नेहरु भने प्राय शहर तिरका कलेजमा पढ्ने विद्यार्थी हुन्छन् ।

सार्वजनिक यातायातको अवस्था त सधैँ भिड, ठेलाठेल र कोचाकोच, सास फेर्न पनि घाँटी तन्काउनु पर्ने !

माइक्रो  छुटे पछिको पहिलो स्टपमा चढ्नु पर्ने म, सजिलैसंग ढोका भित्र पस्न पाए पनि खुशी हुनु पर्ने । कहिलेकाँही त बल्खु वारीबाट कहिले पारीबाट सिट पाइहालिन्छ पनि ।

हिजो पनि त्यस्तै भयो । करिव साढे सात बजे तिर माइक्रो भित्र छिरेको बल्खु पारी पुग्दा पछाडिको सिटमा बस्ने मौका मिल्यो ।

मेरो आडमा झण्डै सोह्र सत्र बर्षका पातला पातला युवक थिए । उनको शरीर, लुगा फाटो अनुहार हेर्दा उनी शहरमा पढ्न जान लागेका विद्यार्थी होइनन् र कीर्तिपुरबासी पनि हैनन् भन्ने प्रष्ट हुन्थ्यो । सुरुमा त कुरा नगरौं कि जस्तो पनि लागेको थियो । चुप लागेर बस्न सकिन एक छिन पछि कुरा नारें तपाई पनि पढ्ने विद्यार्थी हो ?
होइन ।

के गर्नु हुन्छ ?

बागबजारमा काम गर्छु ।

अनि मेरो कुराको मेसो सुरु भयो ।

उनी पर्साका मोटु अन्सारी रहेछन् । कक्षा नौ पास गरे पछि काठमाडौं हानिएछन् ।

उनको डेरा पनि कीर्तिपुर तिर होइन रहेछ । उनी गाउँमा बस्ने साथीले मोवाइल फोन किन्न सहयोग मागेको हुनाले  घर जाँदै गरेको साथीसंग पैसा पठाउन विहानै कीर्तिपुर पुगेर फर्कदै रहेछन् ।
यति कुरा थाह पाए पछि मेरो पहिलो जिज्ञासा विद्यालय किन छाडेको त भन्ने नै थियो ।

गाउँबाट कक्षा दशमा पढ्ने कोही साथी भएन । उनका उमेरका प्राय साथी कामको लागि कठमाडौ र अन्य शहरमा हिँडि सकेका थिए । अनि उनी पनि विद्यालयमा कक्षा दश पढ्न छाडेर कठमाडौ आएका रहेछन् । उनले वायरिङ् सिक्दै रहेछन् । रौतहटबाट काठमाडौमा आइ पहिले देखि वायरिङ पेशा गर्दै आएका मिस्त्रीले उनलाई सिकाउँदा रहेछन् । उनको भनाइ अनुसार सिक्दै गर्दा गर्ने कामको पारिश्रमिक स्वरुप दश हजार मासिक मिल्दो रहेछ । उनले सजिला कुराहरु सिकिसके । अव अली कठिन कुराहरु सिक्न बाँकी छ ।

उनीसँग कुरा हुँदै गर्दा मेरो मनमा अर्को प्रश्न उब्ज्यो – उनले कक्षा नौ सम्म पढ्दा सिकाउने शिक्षकले माया गरेर बुझ्ने तरिकाले सिकाए होलान् की अहिले वायरिङ सिकाउने सिनियर मिस्त्रीले ?

उनको सपाट उत्तर थियो – मिस्त्रीले ।  

मोटु सँग कुरा गर्दै गर्दा मलाई केही समय अघि पोखराबाट काठमाडौ आउने बसमा सहयोगीको काम गर्दै गरेका करिव बाह्र तेह्र बर्षका किङ्ग तथा आशिसको याद आयो ।

उमेरको कारणले आशिसको व्यवहार चञ्चले हुनु स्वाभाविकै थियो । उसका कतिपय चकचके व्यवहार हामीलाई पनि मन परेको थिएन तर त्यस बसका चालकले समान्य रुपमा लिएका थिए । चालकको नजिकै गएर बसी आशिसको बारेमा सोध्दा उनले आशिसलाई धेरै माया गर्दा रहेछन् र भन्दै थिए – म उसलाई मान्छे बनाउछु, म राम्रो ड्राइभर बनाउँछु । ब्यवसाय गरेर खान सक्ने बनाउँछु ।

बसका चालकले गरेको माया उनले सिकाउन गरेको प्रयत्न, उनको भविष्यको बारेमा व्यक्त गरेका विचारबाट म प्रभावित भएको थिएँ ।  कक्षा कोठामा शिक्षकको पिटाइको कारण सडकमा पुगेको आशिसले असल संरक्षक तथा गुरु पाएछ भन्ने लागेको थियो ।

यी दुइ घटनासंग जोडेर मैले एक देखि तीन कक्षा सञ्चालन भएको आफुले पढेको विद्यालय र सिक्ने क्रममा भएका घटनाहरु स्मरण गर्ने प्रयास गरें । मलाई सम्झना भयो, आफुलाई सिकाउने शिक्षकहरुको बारेमा । ममा  शिक्षक देख्ना साथ मनमा डर त्रास उत्पन्न हुन्थ्यो । म मात्र होइन मेरा साथीहरु पनि सवै डराउँथे । डराउन पनि किन नडराउनु ? कतिवेला कन्सुत्लीका रौं गोडिने हुन् । कतिवेला कानका लोतीको भरमा झुण्डिनु पर्ने हो ? कतिवेला शिक्षकको हातको बाँसको सिर्केनो  पिडौलामा बर्षने हो थाहै हुदैनथ्यो ।

मलाई याद भएन मैले गरेका साना भए पनि राम्रा काममा प्रशंसा गरेको र शिक्षक खुशि भएको ।

म शिक्षा क्षेत्रमा काम गर्न थाले पछि विद्यालयमा पुग्ने क्रममा कक्षा कोठाको अवलोकन गर्दा छ सात बर्षका बालबालिकाहरु कक्षा भित्रै खुट्टा मुनीबाट हात छिराएर कान समाती मुर्गा भैरहेका दृश्य याद आयो । कहिले त टिफिन टाइममा सवै विद्यार्थी चौरमा खेली रहेका हुन्थे भने दुइ चार जना कक्षा कोठामा मुर्गा बनिरहेका हुन्थे । कति विद्यालयमा पुग्दा कक्षा कोठाको ढोकामा लठ्ठी लिएर उभिएका शिक्षकरु भेटिन्थे ।
अनि तुलना गरे ती जीवनमा औपचारिक शिक्षा पाउन नसकेका गुरुहरु र हाम्रा विद्यालयमा पढाइ रहेका गुरुहरुलाई । अनि मैले नमन गरे ती बसका चालक गुरु र वायरिङ सिकाउने गुरुहरुलाई ।

हाम्रा औपचारिक शिक्षा लिएका, गुरु बन्ने तालिम लिएका, गुरु बन्नको लागि आवश्यक सीप सहितको अनुमति पत्र लिएका धेरै गुरुहरुले किन बसको चालकले जस्तो विद्यार्थी पनि मान्छे हो, भावना हुन्छ भन्ने जान्न नसकेको ? किन होला विद्यार्थीको मन छाम्न नसकेको ? किन होला बालवालिकाले पिडामा भन्दा खुशी हुँदा धेरै सिक्छ भन्ने मान्न नसकेको ? वायरिङ्गका अनुभवी मिस्त्री र बसका चालकले सिकारुलाई सिकाए जस्तो माया गरी सिकाउन नसकेको ?   

सामाजकि सञ्जालमा केही दिन पहिला एक भिडियो देखिएको थियो । त्यसमा विद्यार्थी विद्यालयमा आउने समयमा एक शिक्षक कक्षाकोठाको ढोकामा उभिएर पङ्तिमा आउने सबै बालाबालिकालाई नयाँ नयाँ तरिका र रमाइलो तरिकाले अभिवादन गरेको । मलाई त्यो बनावटी होला भन्ने लागेको थियो । क्यानाडा बसेर आउनु भएका मेरो अंकलले एक प्रसंगमा भन्नु भयो, त्यता शिक्षकले बालबालिकालाई पिट्न त के कुरा बेखुशि बनाउन समेत पाइदैन । शिक्षकको पहिलो काम भनेको बच्चाको चाहना के छ बुझ्ने र त्यसै अुसार सिकाउने हो ।

विद्यार्थीले सिक्न नचाहेमा सिकाउन छाडेर शिक्षकले सिक्ने चाहना निर्माणमा लाग्दा रहेछन् । विद्यालयमा मात्र होइन घरमा अभिभावकले आप्mना विद्यालय जाने बालबालिकालाई दुखित बनाउने कार्य गरेको भए विद्यालयमा अभिलेख राख्दा रहेछन् र शिक्षक अभिभावक बैठकमा छलफलमा ल्याउँदा रहेछन् । शिक्षकरुलाई विद्यार्थीले सर र मेडम हैन नामले नै सम्वोधन गर्दा रहेछन्, साथी सरहको व्यवहार गर्दा रहेछन् ।

कहिले होला हाम्रोमा शिक्षकहरुले विद्यार्थीलाई  कसरी खुशी पार्ने ? कसरी सिक्नको लागि तयार गर्ने भनेर चिन्तन गर्ने ? कैले होला मेरा फलाना विद्यार्थीले यो यो सिक्यो आज यो सिकाउँछु भनेर योजना बनाउने ? शिक्षकको अवश्यकता भन्दा विद्यार्थीको आवश्यकतामा शिक्षण सिकाई सञ्चालन गर्ने ? कहिले होला  विद्यालय, कक्षाकोठा र शिक्षण सिकाइलाई वास्तविक वालमैत्री तथा बालबालिका अनुकूल बनाउने ? बालबालिका रमाएर सिक्ने अवस्था श्रृजना गर्ने ? शिक्षक साथिहरुले सोच्नु पर्ने हैन र ?

धेरैले भन्ने गर्दछन् शिक्षकले तालिममा सिकेको कुरा कक्षामा जाँदा विर्सिन्छन् । अव त तालिमका कुरा विद्यार्थीलाई सिकाउँदा प्रयोग गर्दछु भनेर अठोट गर्ने समय आएन र ?  अनि के गर्दा सजिलै बालबालिकाले सिक्न सक्दछन् भनेर खोजी गर्ने ? इण्टरनेटमा सर्च गर्ने होइन र ?

अब त अति नै भयो । अब त थालनी गरौं । विद्यार्थीलाई के सिक्न आवश्यक छ ? के सिक्न चाहन्छन् ? त्यो अनुसार सिकाऔं । औपचारिक सिकाए जस्तो गर्ने तर विद्यार्थीले नसिक्ने ढर्रा छाडौ । हाम्रा विद्यार्थीले कमसेकम बसको चालक र अनुभबी मिस्त्रीले सिकाए भन्दा राम्रो तरिकाले सिक्न पाउन ।

जति राम्रो पठ्यक्रम, पठ्यपुस्तक भए पनि प्रयोग गर्ने शैली फेरिएन भने विद्यार्थी हामीबाट भागी रहने छन् । सवै भन्दा ठुलो कुरा चिन्तन हो । पाठ्यक्रम पाठ्यपुस्तक कमसल भए पनि, हुँदै नभए पनि के भयो र विद्यार्थीलाई आवश्यकताको आधारमा, खोजी गरेर सिकाइन्छ, जीवनसंग सिकाइलाई जोडिन्छ भने । शिक्षकले सवै कुरा जान्नै पर्दछ भन्ने छैन । आफुले नजानेको कुरा पनि विद्यार्थीलाई सिकाउन सकिन्छ । आफुले नजानेका कुरा जानेको छु भन्नु पो मुर्खता हो । आफुले नजानेको कुरा विद्यार्थीले जानेको छ भने, के फरक पर्दछ र विद्यार्थीबाट सिक्न ?

आफुले नजानेको समुदायबाट सिक्ने, समुदायको व्यक्तिबाट शिक्षण सिकाइमा सहयोग लिने गर्दा कमसल खालको शिक्षक भइन्छ र ? शिक्षक म मात्र जान्ने हुँ, विद्यार्थी नजान्ने हुन भन्ने सोच शिक्षण सिकाइमा भएको सामन्ति सोच हो । राजनितिक रुपमा लोकतन्त्र आयो भनिए पनि कक्षा कोठाबाट लोकतान्त्रिक अभ्यास सुरुवात गरिएन भने लोकतन्त्र नागरिकको जीवन पद्धती बन्न सक्दैन ।  

हामी शिक्षकले किन सामन्ती सोच राखिराख्ने ? शिक्षकको सफलता त त्यतिवेला देखिन्छ जतिवेला विद्यार्थीले खुशि भएर सिक्दछ । हरेक पाठको सिकाइलाई दैनिक जीवनसंग जोडिन्छ, परिवेशसंग सान्दर्भिक बनाइन्छ, त्यो शिक्षण उत्तम शिक्षण हो । राम्रो भाषण, प्रवचन र व्यख्या गर्दैमा राम्रो र योग्य शिक्षक भईदैन । समय वित्दै छ, दिन वित्दै छन्, बर्षहरु फेरिदैछन् । अव त हाम्रो शिक्षण सिकाइमा परिमार्जन गर्नु पर्ने  होइन र शिक्षक साथीहरु ?  

अन्तमा नयाँबर्ष २०७५ मा सवै शिक्षा दिक्षा दिने गुरुहरुलाई नमन गर्दछु र सवै शिक्षकहरुमा विद्यार्थीको भावना बुझेर, सिकाइको अवस्था पत्ता लगाई थप सिक्नको लागि सहयोग र उत्प्रेरित गर्ने उत्साह मिलोस् । सिकाउन कै लागि तालिम लिएका शिक्षकले सिकाएको विद्यार्थीले राम्रो मानुन ।

हाम्रा विद्यालयका शिक्षकबाट भागेर बसको चालक र मिस्त्रीको शरणमाा जानु पर्ने अवस्थाको अन्त्य होस् ।

शिक्षा मन्त्रालयका उपसचिव शर्मा शिक्षा विभागमा कार्यरत छन् ।

प्रतिक्रिया