Edukhabar
शुक्रबार, ०७ बैशाख २०८१
खबर/फिचर

निजीमा सन्तान पढाउने शिक्षक, कर्मचारीलाई ५, जनप्रतिनिधिलाई ७ प्रतिशत कर

विहीबार, ०६ बैशाख २०७५

सिन्धुपाल्चोक - जुगल गाउँपालिकाले निजी विद्यालयमा सन्तान पढाउने जनप्रतिनिधिबाट तलब भत्ताको सात प्रतिशत असुल्ने भएको छ । यस्तै निजी विद्यालयमा सन्तान पढाउने शिक्षक, कर्मचारीले आफ्नो तलब भत्ताको पाँच प्रतिशत कर पालिकालाई बुझाउन पर्ने भएको छ ।

यसरी प्राप्त हुने कर गाउँ शिक्षा कोषमा जम्मा हुने छ । करको यकिन तथ्याङ्क संकलन गर्ने काम जारी रहेको पालिकाले जनाएको छ । मोटामोटी महिनाको १ लाख रुपैंया सम्म यस्तो कर सँकलन हुने अनुमान गरिएको छ ।

उक्त रकम पालिका भित्र निर्माण हुने नमूना विद्यालयमा खर्च गर्ने बुधबार बसेको बैठकले निर्णय गरेको अध्यक्ष होम नारायण श्रेष्ठले जानकारी  दिए ।

'हुन त निजीमै पठाउँछु भन्ने उहाँहरुको र्नैसर्गिक अधिकार हो तर सार्वजनिक शिक्षाको स्तर नउकासि संविधानले परिकल्पना गरे अनुसारको ब्यवस्था कार्यान्वयन गर्न चुनौती भएको ठहर गरेर हामीले यो निर्णय गरेका हौं' उनले भने 'शिक्षामा राज्यको यत्रो लगानी छ, तर मान्छेको ध्यान निजी तिर छ, हामी सार्वजनिक शिक्षा सुधारमा प्रतिबद्ध छौं, त्यसैले ईच्छा लाग्ने र सक्नेले निजीमा पढाउँछन् तर त्यसमा पढाए वापत कर तिर्छन् ।'

उक्त करबाट प्राप्त हुने रकमलाई नमूना विद्यालय निर्माणमा खर्च गर्ने उनले बताए । यसका लागि पालिका भित्र भएका ४५ वटै विद्यालयबाट प्रष्ट खाका सहितको प्रस्ताव आह्वान गरेको र जो नमूना बनाउन ईच्छुक छ त्यसमा खर्च गरिने उनले बताए ।

'ल फलानो विद्यालय नमूना बनाउने भनेर हामीले तोकेरै दियौं भने सोचे जस्तो नहुन सक्छ, किन भने सजिलै प्राप्त भएको श्रोत साधन प्रति उ तिसोरो गम्भिर नहुने हाम्रो मानसिकता छ' श्रेष्ठले भने 'त्यसैले हामीले प्रस्ताव माग गर्छौ, विद्यालय आफैं जागरुक हुँदा प्रभावकारी हुने हाम्रो ठम्याई हो ।'

यसले प्राप्त प्रस्ताव मध्ये राम्रोलाई छनौट गर्न सकिने अवस्था पनि रहने उनको भनाई छ ।

विद्यालय शिक्षा सञ्चालनको अधिकार स्थानीय सरकार मातहत हुने संवैधानिक ब्यवस्था पछि जुगल गाउँपालिकाले शिक्षाको नीनि निर्माण देखि शैक्षिक सम्मेलन लगायतका विभिन्न अभ्यास गर्दै आएको छ ।

यो पनि पढ्नुहोस् : पुग्ने दरबन्दी नभए, विशेषज्ञ शिक्षक

अधिकार क्षेत्र हस्तक्षेप नगर्न शिक्षा कार्यालयलाई गाउँपालिका प्रमुखको

शिक्षकको तलबमा सय रुपैंया थप, महिला शिक्षकलाई सय दिने सुत्केरी विदा

प्रतिक्रिया