Edukhabar
शुक्रबार, १६ चैत्र २०८०
खबर/फिचर

भर्ना अभियान प्रति पूर्व प्रमको कटाक्ष : सामाजिक सञ्जाल रंगाउनुको साटो आफ्नै सन्तान सामुदायिकमा भर्ना गर !

विहीबार, ०६ बैशाख २०७५

काठमाडौं - जारी भर्ना अभियानमा प्रधानमन्त्री र मन्त्रीहरुको देश दौडाहप्रति पूर्व प्रधानमन्त्री डा. बाबुराम भट्टराईले कटाक्ष गरेका छन् ।

सरकारले विद्यालय बाहिर रहेका बालबालिकालाई विद्यालय भित्र्याउन अभिभावकत्व ग्रहण गर्नका लागि सार्वजनिक आह्वान गरेको छ । सोही आह्वान अनुसार प्रधानमन्त्री, मन्त्रीहरु सहित दलका नेताहरुले विद्यालयको पहुँचमा नरहेका बालबालिकाको अभिभावक भन्दै विद्यालय भर्ना गर्ने क्रम जारी छ ।

यसलाई भट्टराईले विद्यालयमा भर्ना गरेको फोटो सामाजिक मिडियामा रंगाउने प्रपञ्चको संज्ञा दिएका छन् । यसको साटो आफ्नै सन्तान सामुदायिकमा भर्ना गर्न उनको सुझाव छ । बालबालिकालाई निशुल्क खाजा दिने हो भने भर्नादर आफै बढ्ने उनको तर्क छ ।

'प्रम, मन्त्री, नेता र उच्च अधिकारीहरूले अरूका एक एक बच्चा टिपेर सामुदायिक विद्यालयमा भर्ना गरेको फोटो सामाजिक मिडियामा रंगाउनु सट्टा आफ्नै छोराछोरी र नाति नातिनी सामुदायिक विद्यालयमा चुपचाप भर्ना गरेर पढाए समाज र देशको हित हुन्थ्यो कि ?' उनले ट्विटरमा लेखेका छन् 'नानीहरूलाई निशुल्क खाजा दिऊँ भर्नादर आफै बढ्छ !'

बालबालिका विद्यालय भित्राउनु पर्ने आवश्यकता भए पनि उनीहरुको सिकाइ र टिकाउने उपाय प्रति सरकारले कुनै चासो नदिएको भन्दै आलोचना भईरहेको छ ।

पढ्नुहोस् : भर्ना अभियानको 'स्टण्ट' : ल्याउने मात्रै कि टिकाउने र सिकाउने पनि !

प्रतिक्रिया