Edukhabar
शुक्रबार, ०७ बैशाख २०८१
खबर/फिचर

शिक्षकका सन्तानको सिकाइ अरुको तुलनामा गतिलो

विहीबार, ०६ बैशाख २०७५

काठमाडौं - आमा बाबु शिक्षण पेशामा रहेका सन्तानको सिकाइ अन्य पेशा भएका अभिभावकका सन्तानको तुलनामा गतिलो हुने एक अध्ययनले फेला पारेको छ । दोश्रोमा सरकारी जागिरेका सन्तानको सिकाइ राम्रो हुने उक्त अध्ययनको निष्कर्ष छ ।

शैक्षिक गुणस्तर परीक्षण केन्द्रले गत शैक्षिक सत्रमा नमुना छनोटमा परेका २६ जिल्लाका १ हजार ९ सय ५० विद्यालयका कक्षा ८ पढ्ने ४६ हजार २ सय ६६ विद्यार्थीमा गरेको अध्ययनले उक्त तथ्य फेला पारेको हो । कक्षा ८ को नेपाली, गणित र विज्ञान विषयका लागि परीक्षण सञ्चालन गरिएको थियो । नेपाली विषयको परीक्षण ६ सय ४९ विद्यालयका १५ हजार ३ सय ६९ विद्यार्थी, गणित विषयमा ६ सय ४९ विद्यालयका १५ हजार ४ सय ८२ विद्यार्थी र विज्ञान विषयका ६ सय ५२ विद्यालयका १५ हजार ४ सय १५ विद्यार्थीको उपलब्धि परीक्षण गरिएको थियो ।

यसरी गरिएको परीक्षणमा सबै भन्दा कम कृषि पेशा भएका अभिभावकका सन्तानको सिकाइ रहेको फेला परेको छ ।

कक्षा ८ को नतिजालाई आधारको रूपमा लिएर भविष्यमा गरिने परीक्षणलाई यस नतिजासँग तुलना गर्न सकिने गरी औसत (ःभबल) अङ्क ५ सय र स्तरीय विचलन ५० निश्चित गरी त्यसैका आधारमा नतिजा प्रस्तुत गरिएको केन्द्रका प्रमुख डा. लेखनाथ पौडेलले बताए ।  

बाबु आमाको पेसा अनुसार सिकाइ उपलब्धि मापन गर्दा शिक्षण पेशामा रहेका मध्ये आमा शिक्षक भएकाको सन्तानको नेपालीको सिकाइ उपलब्धि ५ सय २१ रहेको छ भने बाबु शिक्षक भएकाको उपलब्धि ५ सय १७ छ । यस्तै गणितमा आमा शिक्षक भएकाको ५ सय २९ र बाबु शिक्षक भएकाको ५ सय २० र विज्ञानमा आमा शिक्षक भएकाको ५ सय २५ र बाबु शिक्षक भएकाको ५ सय १७ रहेको छ । यसैगरी सरकारी जागिरे रहेकाको सिकाइ उपलब्धि हेर्दा आमा सरकारी जागिरे भएकाको सन्तानको नेपालीमा ५ सय १५ र बाबु सरकारी जागिरे भएकाको ५ सय १६ र  गणितमा क्रमशः ५ सय २० र५ सय १७ तथा विज्ञानमा ५ सय १७ र ५ सय १५ रहेको छ ।

यस्तै कृषि पेशामा रहेका आमा बाबुको सन्तानको सिकाइ क्रमशः नेपालीमा ४ सय ९७ र ४ सय ९०, गणितमा ४ सय ९१ र ४ सय ८४ र विज्ञानमा ४ सय ९४ र ४ सय ८८ रहेको छ ।

विद्यालय क्षेत्र विकास योजनाले कक्षा ५, ८ र १० का विद्यार्थी उपलब्धिको राष्ट्रिय परीक्षण दुई दुई पटक गर्ने तय गरे अनुसार केन्द्रले अध्ययन गरेको हो ।

विद्यार्थीका लागि विषयगत प्रश्न र उनीहरुको पृष्ठभूमी प्रश्नावली तथा शिक्षक र प्रअ का लागि सर्वेक्षण फारम प्रयोग गरिएको थियो । परीक्षण अन्र्तराष्ट्रिय मान्यताका आधारमा गरिएको केन्द्रले जनाएको छ ।

सिकाइका विभिन्न स्तरमा विद्यार्थीको वितरणको प्रतिशत हेर्दा गणित र विज्ञानमा एकै प्रकारको प्रवृत्ति देखिएको तर नेपालीमा केही भिन्न रहेको छ । विद्यार्थीलाई उनीहरूको सक्षमताका छ वर्गमा छुट्याईएको थियो ।
प्रदेशहरूको बीचको  सिकाइ उपलब्धिमा  उल्लेख्य भिन्नता देखिएको छ । प्रदेश ३ का विद्यार्थीको उपलब्धि सबै विषयमा उच्च रहेको छ भने नेपालीमा प्रदेश २, गणितमा प्रदेश ६ र विज्ञानमा प्रदेश १ का विद्यार्थीको उपलब्धि सबै भन्दा कमजोर रहेको छ ।

जातजाति तथा घरमा बोलिने भाषाको आधारमा हेर्दा सबै विषयमा सिकाइ उपलब्धिमा उल्लेखनीय भिन्नता रहेको देखिन्छ । तर छात्रा र छात्रको सन्दर्भमा गणित र विज्ञानमा छात्रहरूको क्षमता केही उच्च रहेको फेला परेको छ भने नेपालीमा खासै फरक देखिएको छैन ।

भौगोलिक पहिचानका आधारमा आफूलाई मधेसी भनेर उल्लेख गर्ने विद्यार्थीहरूको नेपाली र विज्ञान विषयको सिकाइ  उपलब्धि  हिमाली र पहाडी भनी उल्लेख गर्नेको तुलनामा कमजोर देखिएको र  गणितमा उल्लेख्य फरक नरहेको अध्ययनको निष्कर्ष छ ।

ठीक  उमेरमा ठीक कक्षामा अध्ययन गर्ने विद्यार्थीको सिकाइ उपलब्धि राम्रो अध्ययनले देखाएको छ ।

यसअघिको परीक्षणमा विद्यार्थीहरूले प्राप्त गरेका उपलब्धिलाई दुवै वर्षमा सोधिएका उनै प्रश्नका आधारमा तुलना गर्दा गणित र विज्ञानमा यसबर्षको उपलब्धि केही न्यून रहेको छ । तर नेपाली विषयमा यस बर्षको उपलब्धि केही उच्च देखिए पनि उल्लेखनीय भिन्नता नभएको पौडेलले बताए । त्यसैले  विद्यार्थीको सिकाइ उपलब्धिमा  विगतका वर्षहरूमा भन्दा सुधार भएको छ भन्ने कुनै स्पष्ट आधारहरू न देखिएको उनको भनाई छ ।

'हाम्रो काम भनेको समग्र शिक्षाको विकास र सिकाइको अवस्था परीक्षण गरी नीति कार्यक्रम सुधार गर्न सुझाव दिने हो' पौडेलले भने, 'उपलब्धिको बारेमा भएको अध्ययनमा केही कारण खोलिएको छ केही खोजनै बाँकी छ ।'

उपलब्धि सार्वजनिक गर्न आयोजित कार्यक्रममा शिक्षा मन्त्रालयका सचिव खगराज बरालले सार्वजनिक शिक्षामा गरिएको लगानीको  तुलनामा उपलब्धि सन्तोषजनक नदेखिनु चुनौती रहेको बताए ।

'शिक्षा सुधार गर्ने बारेमा नीतिगत रुपमा नै थप कार्य गर्नु पर्ने देखिएको छ' उनले भने 'शिक्षाका अधिकार स्थानीय सरकार मातहत भएको अवस्थामा स्थनीय सरकारले नजिकबाट विद्यालयलाई हेर्ने हुँदा सुधार हुने अपेक्षा गर्न सकिन्छ ।'

प्रतिक्रिया