Edukhabar
शनिबार, ०८ बैशाख २०८१
खबर/फिचर

शिक्षकको निगरानी : विद्यालय छाड्नु अघि पालिकाको अनुमति अनिवार्य

मंगलबार, ११ बैशाख २०७५

चितवन - विद्यालय समयमा अन्य काममा ब्यस्त हुने सामुदायिक विद्यालयका शिक्षकहरुलाई भरतपुर महानगरपालिकाले निगरानी शुरु गरेको छ । शिक्षकहरु पढाउने समयमा समेत विभिन्न राजनीतिक दल तथा एनजिओ आईएनजीओको कार्यक्रममा जाने क्रम बढेको गुनासो पछि पालिकाले यस्तो निगरानी शुरु गरेको हो ।

अब देखि शिक्षकले विद्यालय छाड्नु अघि पालिकाको पूर्व अनुमति लिन अनिवार्य गरिएको छ । विना अनुमति विद्यालय छाडेको फेला परेमा कडा कारवाही गर्ने पालिकाको शैक्षिक प्रशासन महाशाखा प्रमुख  वीरेन्द्रजंग थापाले बताए । यस बारेमा पालिका भित्रका सबै सामुदायिक विद्यालयका प्रधानाध्यापकहरु मार्फत् सर्कुलर गरेको उनले बताए ।   

माध्यमिक तह सम्मको शिक्षा सञ्चालन र रेखदेखको जिम्मा स्थानीय सरकार मातहत हुने संवैधानिक व्यवस्था कार्यान्वयन अन्र्तगत सार्वजनिक शिक्षा सुधारका लागि शिक्षकको नियमन गर्न यस्तो कदम चालेको पालिकाले जनाएको छ ।

'सामुदायिक विद्यालयमा कार्यरत प्रधानाध्यापक तथा शिक्षकहरु विद्यालय समयमा विद्यालयको काम बाहेक अन्य काममा विभिन्न संघ संस्था तथा निकायहरुको कार्यक्रममा भाग लिन गई पठनपाठन प्रभावित भएको भन्ने गुनासो यस कार्यालयमा प्राप्त हुन आएकोले यस महानगरपालिका अन्तरगतका विद्यालयका प्रधानाध्यापक तथा शिक्षकहरुले यस कार्यालयको पूर्व अनुमति नलिई विद्यालय नछाड्न हुन सूचित गरिन्छ' पालिकाले जारी गरेको उक्त सर्कुलर सहितको सूचनामा भनिएको छ।

शिक्षकहरुले पढाउन छाडेर अन्य कार्यक्रममा चासो दिदाँ पठन पाठनमा परेको प्रभाव न्यूनिकरण गर्न यस्तो कदम चालेको महानगरपालिकाले जनाएको छ । 

प्रतिक्रिया