Edukhabar
विहीबार, १३ बैशाख २०८१
खबर/फिचर

भर्ना अभियानको आलोचनाबाट बच्न सरकारको नयाँ योजना

बुधबार, १२ बैशाख २०७५

काठमाडौं - भर्ना अभियानका क्रममा विद्यालय भित्रिएका बालबालिकालाई टिकाई राख्न सरकारले खाजा अभियान शुरु गर्ने योजना बनाएको छ । बिभिन्न श्रोतहरुलाई केन्द्रमा एकत्रित गरी विद्यालयहरुमा खाजाको प्रवन्ध गर्ने बारेमा सरकारले गृहकार्य शुरु गरेको प्रधानमन्त्रीका प्रमुख राजनीतिक सल्लाहकार विष्णु रिमालले जानकारी दिए ।

अहिले विद्यालयको पहुँचमा नपुगेका बालबालिका भनेका फरक शारिरिक अवस्था तथा कुनै निश्चित समूह र वर्गका भएकाले उनीहरुको खास समस्या पहिचान गर्नु पर्ने शिक्षाकर्मीहरुको तर्क रहँदै आएको छ । कतिपय बालबालिका दुई छाककै समस्यामा भएकोले टिकाउने र सिकाउने तर्फ केन्द्रित नभई स्टण्टका रुपमा भर्ना अभियान चलेको भन्दै आलोचना हुँदै आएको छ ।

पढ्नुहोस् : भर्ना अभियानको 'स्टण्ट' : ल्याउने मात्रै कि टिकाउने र सिकाउने पनि !

यही आलोचनाबाट बचन सरकारले खाजाको प्रवन्ध गर्ने तयारी गरेको हो ।

'विद्यालय प्रति बालबालिकालाई आकर्षण गराई राख्न सरकारले नयाँ तरिकाबाट सोचिरहेको छ' मंगलबार शिक्षा मन्त्रालयमा आयोजित कार्यक्रममा रिमालले भने 'कक्षा १ मा भर्ना भएको विद्यार्थीले कम्तिमा १० कक्षा सम्म पढोस् भन्ने हो, सोही अनुसार सरकारले गृहकार्य शुरु गरेको छ ।'

विद्यालय नभित्रिएका बालबालिकालाई प्रधानमन्त्री देखि मन्त्री र विभिन्न दलका नेताहरुले आआफ्ना क्षेत्रमा पुुगेर अभिभावकत्व ग्रहण गरेका थिए । तर उनीहरुलाई विद्यालयमा टिकाई राख्ने योजना विनै ठूलो हल्ला गरिएको भन्दै जनस्तरबाट आलोचना शुरु भए पछि सरकारले त्यस्ता विद्यार्थीलाई विद्यालयमै खाजा खुवाउने योजना बनाएको हो ।

एक पटक एक जोर लुगा र पाठ्यपुस्तक दिएर मात्रै अभिभावकत्व ग्रहण गर्नुको औचित्य नहुने भन्दै आलोचना भईरहेको छ । यसरी अभिभावकत्व ग्रहण गरेका मध्ये कतिपय बालबालिकाका अभिभावकले दुई छाकको समस्या ठूलो भएकोले त्यस तर्फ सोचिदिनु पर्ने आवाज उठाउन थालेको खबर सार्वजनिक भईरहेका छन् ।

प्रतिक्रिया