Edukhabar
बुधबार, १२ बैशाख २०८१
खबर/फिचर

दाताले बनाएको विद्यालयमा उभिएर शिक्षा मन्त्रीले भने : समयमा काम नगर्नेका बारेमा सोच्छौं !

बुधबार, १२ बैशाख २०७५

गोरखा - जिम्मा लिएर पनि निकै सुस्त गतिमा विद्यालयको पुनर्निर्माण गरिरहेका ठूला दाता मध्येको एक जापानी सहयोग नियोग (जाईका) ले भुकम्पको तीन बर्ष पुगेको दिनमा बुधबार आफ्नो सहयोगमा बनेको विद्यालय भवनको शिक्षा मन्त्रीबाट उद्घाटन गराएको छ । पालुङटार नगरपालिकाका स्थित धर्माेदय माध्यमिक विद्यालयको नव निर्मित भवनको शिक्षा, विज्ञान तथा प्रविधि मन्त्री गिरिराजमणि पोखरेलले उद्घाटन गरी नगरपालिकाका प्रमुख दीपकबाबु कँडेललाई हस्तान्तरण गरेका हुन् । शिक्षा मन्त्रालय अन्र्तगतको केन्द्रीय आयोजना कार्यान्वयन इकाइ मार्फत् उक्त भवन निर्माण गरिएको हो ।

जाईकाको ऋण सहयोग अन्तर्गत ५ करोड ६१ लाखमा निर्मित उक्त भवन १३ कक्षा कोठाको छ । नयाँ भवनको उद्घाटन गर्दै मन्त्री पोखरेलले आगामी दुई वर्षभित्र सबै क्षतिग्रस्त विद्यालय पुनर्निर्माण गरि सक्ने लक्ष्य रहेको बताए । यस अघि तीन बर्ष भित्र सबै विद्यालयको पुनर्निर्माण सक्ने सरकारको योजना थियो । तर, पुनर्निर्माणको जिम्मा लिएका जाईका सहित अमेरिकि सहयोग नियोग (यूएसएआईडी) र एशियाली विकास बैंक (एडिबी) जस्ता ठूला दाताकै काम सुस्त हुँदा विद्यार्थीको भुक्तमान जारी छ ।

२०७२ बैशाख १२ को भूकम्पबाट देश भरी ९ हजार विद्यालय मध्ये बढी प्रभावित ३२ जिल्लाका ती विद्यालयहरुको २१ हजार १ सय ६९ कक्षाकोठा पूर्ण रुपमा क्षती भएका छन् । १२ हजार ५ सय २२ कक्षा कोठा अधिक रुपमा र १५ हजार ९ सय ९० कक्षाकोठामा आंशिक रुपमा क्षति पुगेको थियो ।

भूकम्पबाट बढी प्रभावित ३२ जिल्लाका ७ हजार ९ सय २३ विद्यालय पुनर्निर्माण गर्नु पर्ने छ । यी मध्ये ललितपुर, गोरखा, धादिङ् रसुवा, नुवाकोट र मकवानपुर गरी ६ जिल्लाका २ सय ३६ विद्यालय बनाउने जिम्मा लिएको जाईकाले अहिले सम्म जम्मा ४ वटा विद्यालय बनाएको छ । यस्तै सिन्धुपाल्चोक, दोलखा, रामेछाप, सिन्धुली ओखलढुङ्गा, काठमाडौं र भक्तपुरका १ सय ५४ विद्यालय बनाउने जिम्मा लिएको एडिबीले अहिले सम्म जम्मा १३ वटा विद्यालय पुनर्निर्माण गरेको छ । एडिबिको ऋणमा यूएसएआईडीको अनुदानमा उक्त कार्य गर्न सरकारसँग सम्झौता भएको थियो । यस्तै दोलखा, रामेछाप, गोरखा, धादिङ् रसुवा, नुवाकोट, ललितपुर र मकवानपुर गरी ८ जिल्लामा प्रति जिल्ला एक विद्यालय पुनर्निर्माण गर्ने गरी जाईकाले सरकारसँग सम्झौता गरे पनि प्रभावकारी काम भएको छैन ।

पढ्नुहोस् : विद्यालय बनाउने जिम्मा लिएका ठूला दाताकै काम सुस्त, सरकारसँग वहानै वहाना !

विद्यालयको उद्घाटन कार्यक्रममा मन्त्री पोखरेलले जिम्मा लिएर समयमा पुनर्निर्माण नगर्ने दाताको विकल्पका बारेमा पनि सरकारले सोच्ने दावी गरे । भूकम्प र त्यसपछिका परकम्पबाट जिल्लाका क्षतिग्रस्त ४ सय ४३ मध्ये हालसम्म २ सय ५४ विद्यालयको मात्रै पुनर्निर्माण भएको छ ।

कार्यक्रममा शिक्षा बिभागका महानिर्देशक बाबुराम पौंडेलले शिक्षा क्षेत्रको समग्र विकासको लागी सबै पक्षको सहकार्यको आवश्यकता रहेको बताए । इकाइका निर्देशक ईमनारायण श्रेष्ठले विद्यालय पुनर्निर्माणले मुलुकभर क्रमशः गति लिन थालेको बताउँदे काममा भईरहेको ढिलाईको ढाकछोप गर्ने प्रयास गरे ।

भुकम्प पछिको चौथो शैक्षिक सत्र शुरु भईसकेको छ । भुकम्प पछि विद्यालय पुनर्निर्माणका कार्य गर्ने जिम्मेवारी सहित गठन गरिएको इकाई मार्फत् गरिएका पुनर्निर्माणको सुस्त प्रगतिका कारण आगामी बर्खामा पनि लाखौं विद्यार्थीले उस्तै भुक्तमान भोग्नु पर्ने निश्चित भएको छ ।

भूकम्पको तीन बर्ष पुगेको दिनको अघिल्लै दिन सरकारी कर्मचारी, पत्रकार र आफ्ना कार्यकर्ताको दलबल सहित जिल्ला आईपुगेका मन्त्री पोखेरलले पालुङ्टार नगरपालिका वडा नम्वर ५ मा रहेको भवानी मावि, भवानी बहुमुखी क्याम्पस, गोरखा पोलिटेक्निटल इन्स्टिच्युट, वडा नम्वर ४ मा रहेको अमरज्योति जनता मावि लुईटेल, वडा नम्वर २ मा रहेको शारदा माविको पनि अवलोकन र निरीक्षण गरेका थिए ।

प्रतिक्रिया