Edukhabar
विहीबार, १३ बैशाख २०८१
खबर/फिचर

त्रिवि सभामा राजनीतिक दाउपेचको पटाक्षेप, प्रधानमन्त्री सञ्चै !

आइतबार, २३ बैशाख २०७५

काठमाडौं - राजनीतिक प्रभावका कारण थलिएको देशको जेठो विश्वविद्यालय, त्रिभुवन विश्वविद्यालय आईतबार फरक तरिकाले 'राजनीतिक दाउपेच'को मारमा परेको छ । आईतबारका लागि तय भएको विश्वविद्यालयको सभा अन्तिम समयमा आएर स्थगित गरिएको घटनाले उक्त 'दाउपेचको पटाक्षेप' गरेको हो ।

आईतबार विहान नौ बजेका लागि तय भएको सभा शुरु हुनै लाग्दा उपकुलपति तिर्थ खनियाले 'प्रधानमन्त्री एवं त्रिविका कुलपति केपी ओली विरामी भएकोले स्थगित गर्न निर्देशन प्राप्त भएको' जनाउँदै सभा स्थगित भएको घोषणा गरेका थिए । शिक्षा मन्त्री एवं सहकुलपति गिरिराजमणि पोखरेल मार्फत् ओलीले आफू उपस्थित हुन नसकेकोले सभा स्थगित गर्न निर्देशन दिएको भन्दै आफूलाई खबर गरेको खनियाको दावी छ ।

तर प्रधानमन्त्रीका प्रेस सल्लाहकार कुन्दन अर्यालले त्रिविका उपकुलपतिले 'झुटो' बोलेको भन्दै प्रधानमन्त्री सञ्चै रहेको दावी गरेका छन् ।

'विहान देखि उहाँका नियमति भेटघाट र कार्यक्रम जारी छन्' अर्यालले भने, 'आज मात्रै हैन हिजो पनि प्रधानमन्त्रीका नियमित कार्यक्रम जारी थिए, दिउँसो ४ बजे संसद जाने कार्यक्रम छ ।'  

विश्वविद्यालयले समयमा एजेण्डा नदिएको र अन्तिम समयमा आएर खनियाले आफू अनुकुल निर्णय गराउने प्रयत्न गरेको थाह पाए पछि प्रधानमन्त्रीले सभामा नगएर 'शन्देश' दिन खोजेको अर्यालले बताए ।

'अखबारहरुमा त्रिविका कर्तुतका समाचार सार्वजनिक भईरहेका छन्, कार्यसूचि फेयर छैनन् यस्तो अवस्थामा सभा गरेर के अर्थ ? भन्ने प्रधानमन्त्रीको धारणा हो' अर्यालले भने, 'कुनै अमूक व्यक्तिलाई विदा स्विकृत गरेर जागिर दिने मनशाय देखिएको छ, करारका शिक्षकलाई स्वत स्थायी भनिएको छ, एक तह बढुवा गर्ने भनिएको छ, विश्वविद्यालय सही दिशामा नगएको गुनासो आईरहेका बेला सुधारका काम छाडेर यस्ता  स्वार्थमा अलमलिनु हुँदैन भन्ने प्रधानमन्त्रीको स्प्रिट हो ।'

तर खनिया १५ दिन अघिनै सभाको एजेण्डा प्रधानमन्त्रीलाई बुझाएको दावि गर्छन् ।

'उहाँ विरामी हुनु भएकोले उपस्थित हुन नसक्ने जनाउँदै सभा स्थगित गर्नु भनेर शिक्षा मन्त्रीले फोन गर्नु भयो, कुलपतिको खबर सहकुलपति मार्फत् आएपछि उपकुलपतिले सभा स्थगित भएको घोषणा गरेँ' एडुखबरसँग खनियाले भने, 'हिजो हामीलाई भेट्न बालुवाटार बोलाउनु भएको थियो तिन घण्टा सम्म कुर्दा पनि सञ्चो नभएकोले तल ओर्लन समेत सक्नु भएन भनियो, आज पनि अवस्था सुधार नभएको रहेछ भन्ने बुझेँ ।'

कुलपति र उपकुलपतिको यो जुहारीलाई त्रिविका प्राध्यापकहरु राजनीतिक दाउपेचको रुपमा ब्याख्या गर्छन् ।

'काँग्रेसको कोटामा नियुक्त खनिया प्रति प्रधानमन्त्री खुसी छैनन्, त्यसैले उनले आफ्नो उक्त शन्देश यस रुपमा दिएका हुन्' एक जना प्राध्यापकले भने, 'यसको मार अन्तत विश्वविद्यालयका गतिविधिमै पर्ने हो, शैक्षिक कार्यमै पर्ने हो ।'

भिसि र प्रधानमन्त्रीको उक्त टकरावले त्रिविका जारी राजनीतिक दाउपेच अझै घनिभूत हुने शंका गर्दै उनले चिन्ता ब्यक्त गरे ।

सभाले शिक्षक कर्मचारी सम्बन्धि नियम, आर्थिक ब्यवस्थापन तथा खरिद सम्बन्धि नियम, संगठन तथा शैक्षिक प्रशासन सम्बन्धि नियम र स्वासत्तता सम्बन्धि नियममा संशोधन प्रस्ताव पारित गर्ने कार्यवली तय गरेको थियो ।

यस्तै बैठकमा त्रिवि सभाका सदस्यमा मनोनयन, त्रिवि विकासका लागि तयार पारिएको भिजन २०३०, अनुसन्धान र उत्कृष्टताको केन्द्र बनाई केन्द्रिय विश्वविद्यालयका रुपमा सञ्चालन गर्न आवश्यक प्रकृया तय गर्ने समेत सभाको एजेण्डा थियो । उस्तै त्रिवि प्राध्यापक सँघका सभापति योगेन्द्र नारायण बडबरियाको हाजिरी अनुमोदन गर्ने विवादित विषय पनि सभाको एजेण्डा थियो ।

उच्च शिक्षालाई महत्व नदिएको भन्दै आलोचना

सबै तयारी भएर पनि स्थगित भए पछि सभामा सहभागि हुन पुगेका प्राध्यायक सहित अन्य सदस्यहरुले प्रधानमन्त्रीले उच्च शिक्षालाई महत्व नदिएको र आफूहरुलाई अपमानित गरेको भन्दै आलोचना गरेका छन् ।

'आफू आउन नसक्ने भए सहकुलपति मार्फत् सभा सञ्चालन गर्न भन्नु पथ्र्यो' एक जना सदस्यले भने, 'देशले संघीयताको अभ्यास गर्ने तर प्रधानमन्त्रीले आफ्नो अधिकार मुठिमै कसेर राख्ने गर्नु सुहाउने कुरा भएन ।'

यस अघि पनि कुलपति उपस्थित हुन नसक्दा सहकुलपति मार्फत् सभा सञ्चालन गरेको ईतिहास छ । सुशील कोइराला प्रधानमन्त्री भएको समयमा पनि त्यस्तै अभ्यास गरिएको थियो ।  

गणतन्त्र भन्दा पहिले राजा कुलपति हुने बेलामा त्यस्ता थुर्पै अभ्यास भएको पूर्व उपकुलपति कमलकृष्ण जोशिले बताए ।

'विरामी नै भने पछि त पत्याउनै पर्यो' उनले भने 'आफू आउन नसके सहकुलपति मार्फत् पनि सञ्चालन गर्न सकिने अभ्यास थियो ।' 

कुलपति उपस्थित हुन नसके सहकुलपति, सहकुलपति पनि उपस्थित हुन नसके उपकुलपति र उपकुलपति पनि उपस्थित हुन नसके कुनै एक सदस्यबाट समेत सभा सञ्चालन गर्न सकिने त्रिवि ऐनमा ब्यवस्था छ । उक्त ब्यवस्थालाई अपनाएर पनि सभा सञ्चालन गर्न सकिने तर्क गर्दै नेपाल प्राध्यापक संघका अध्यक्ष रामेश्वर उपाध्ययाले अन्तिम समयमा आएर भएको यस्तो घटनाले त्रिविको गरिमालाई थप धराशायी बनाउने बताए ।

प्रतिक्रिया