शिक्षकलाई मात्रै सराप्ने कि इतर पक्ष पनि सुधार्ने ?


कुनै एक विद्यालयका विद्यार्थीलाई यो लेखकका अगाडि प्रश्न गरियो :

'भाइ तिमी किन फेल भयौ'

विद्यार्थीले पूर्ण विश्वासका साथ जवाफ दिए

'विद्यालयमा पढाइ नै हुँदैन अनि के पास हुनु ?'

कुनै अमुक विद्यायलमा विद्यालय व्यवस्थापन समितिको वैठक बस्यो । विद्यार्थीको न्युन सिकाइ उपलव्धिको विषयमा समितिका सदस्यहरुले निष्कर्ष निकाले कि विद्यालयको यो दुरावस्थाका लागि पूर्णरुपेण शिक्षक जिम्मेवार छन् ।

सार्वजनिक शिक्षाको खस्कँदो अवस्थाका विषयमा गोष्ठी सञ्चालन गर्न कुनै एक जिल्ला सदरमुकाममा नामुद शिक्षाविद् आए । जिल्लामा सवै स्थानीय तहका प्रमुख लगायत जिल्लामा शिक्षा क्षेत्रमा कार्यरत व्यक्तित्वका विच घनिभुत छलफल भयो र सबैका विचारमा निरपेक्षरुपमा शिक्षक नै यो दुरावस्थाको जिम्मेवार किटान गरियो ।

के प्रधानाध्यापक, के स्रोतव्यक्ति, के शिक्षा सेवाका कर्मचारी सबैको निष्कर्षले शिक्षकलाई नै सार्वजनिक शिक्षाको गुणस्तर गिराउने अपराधी मुकरर गर्ने क्रम जारी छ । धारे हात लगाएर शिक्षकलाई सराप्नेहरु बढ्ने क्रम जारी देख्दा पंक्तिकारलाई एक पटक आफ्नो पेशा प्रति ग्लानी भाव उत्पन्न नभएको हैन !

हरेश खाएर त भएन !

त्यस पछि मैले विद्यालय कसरी चलेको हुन्छ भन्ने नियाल्ने कोशिस गरेँ । लामो समयसम्म विद्यालय सञ्चालनका तौर तरिका र अवस्था नियाले पछि के निष्कर्षमा पुगेँ भने विद्यालय भनेको एउटा प्रणाली हो । यो प्रणालीमा समान्य प्रणाली झँै आगत, प्रशोधन र निर्गतका पक्षहरु रहेको र त्यो प्रणालीलाई सामुदायिक वातावरणले प्रभाव पारेको तथ्य फेला पारेँ ।

यस सन्दर्भमा प्रणालीका विभिन्न अवयवले प्रणालीकै एउटा अवयवलाई मात्र दोषी ठहर गर्ने र आफु आफ्ना दोषबाट मुक्त हुने प्रवृति विद्यालय शिक्षा प्रणालीमा हावी रहेका कारणले वर्तमान कालखण्डमा आई पुग्दा सार्वजनिक विद्यालयको शिक्षाले यो हालत वेहोरेको सहज निष्कर्ष निकालियो ।

विद्यालय शिक्षा प्रणालीको आगतमा केवल शिक्षक मात्र छन् भन्ने सोचाइबाट हाम्रो देशको शिक्षा क्षेत्र कहिल्यै हटेन । सार्वजनिक शिक्षालाई सफलिभुत बनाउन स्थानीय परिवेश र आवश्यकता अनुकुलको शिक्षा नीति निर्माणमा हाम्रा नीति निर्माताको कहिल्यै ध्यान गएन । शिक्षा नीति निर्माणका क्रममा निजी विद्यालयका सञ्चालक हावी रहे । तर शिक्षाको नीति निर्माणका क्रममा आम रुपमा सार्वजिक  विद्यालयका शिक्षकको राय संकलन समेत भएन । निजी क्षेत्रले आफ्नो लगानीबाट अधिक नाफा कमाउनका लागि नीति प्रभावित पार्यो जसका कारण आज सार्वजनिक विद्यालयलाई निकम्मा घोषण गर्ने काम समेत भयो ।

सार्वजनिक विद्यालय सञ्चालनको लागि सवै भन्दा महत्वपूर्ण आगतको अर्को पक्ष आर्थिक पक्ष हो । शिक्षा क्षेत्रमा सरकारले गरेको लगानी मध्ये ठूलो हिस्सा तलब भत्तामा खर्च हुन्छ । शिक्षकको नियुक्ति गर्दैमा शिक्षाको सुनिश्चितता हुँदैन । विद्यालयको लागि आवश्यक पर्ने विभिन्न भौतिक साधन, शैक्षिक सामग्री र आधुनिक प्रविधि उपलव्ध गराउने जिम्मा सरकारले लिएको छैन । यस प्रकारका आगतको अभावका कारण हाम्रा विद्यालय अझै पनि आधुनिक मापदण्डका छैनन् । यस प्रकारका विद्यालयले वर्तमान समयानुकुलको शिक्षा प्रदान गर्न सक्ने कुरै भएन ।

विद्यालयका आगतकै रुपमा रहेका प्रधानाध्यापक तथा स्रोतव्यक्तिहरुले आफुलाई शिक्षक भएको यथार्थता नै भुलेका छन् । सार्वजजिक विद्यालयको वास्तविक नेतृत्व लिनु पर्ने यस्ता पदाधिकारीहरु आफूलाई प्रशासक ठान्ने प्रवृति हावी रहेका कारणले विद्यालयका समस्या पन्छाउने प्रवृति (Buck Passing) मात्र कायम रहेको पाइन्छ  र जस बाट उत्पन्न हुने सवै समस्याको भागिदार चाहिँ शिक्षकलाई ठहर गरिन्छ ।

विद्यालय शिक्षाको आगतका रुपमै रहेको अभिभावक र विद्यार्थी पनि सार्वजनिक शिक्षाको गुणस्तर खस्कनुमा जिम्मेवार छन् भन्ने कुरा त उच्चारण पनि भएको छैन । समयमा आफ्ना बालबच्चा विद्यालय नपठाउने, अध्ययनका लागि आवश्यक सामग्री किन्न नसक्नेका कुरा छाडौं हातहातमा मोवाईल बोकाईदिने कति अभिभावकले समेत शैक्षिक सामग्री किन्न नचाहने क्रम छ । विद्यालयमा नियमित रुपमा गएर आफ्ना सन्तानको प्रगतिका बिषयमा जानकारी लिएर सुधारका उपाय अबलम्वन नगर्ने वा नगराउने समेत अभिभावक नै हुन् । अर्को तिर बाल बिवाह गर्ने तथा कुलतमा फस्ने विद्यार्थीका बानी समेत कुनै न कुनै हद सम्म सार्वजनिक विद्यालयको शिक्षाको गुणस्तर ह्रास ल्याउने कारक हुन् ।

सार्वजनिक विद्यालयको शिक्षाको गुणस्तर ह्रास हुनको अर्काे महत्वपूर्ण कारण भनेको प्रशोधन वा रुपान्तरण प्रकृयामा ध्यान नदिनु हो । विद्यालयको अनुअमन तथा मूल्यांकन कार्य नियमित रुपमा हुँदैन । अनुगमन र मूल्याँकन गर्ने निकायहरु सबै विद्यालयमा पुग्ने प्रचलन नै छैन । विद्यालयहरुलाई माथिल्लो तह सञ्चालनको अनुमति दिने तर शिक्षक दरवन्दी थप नगर्ने समस्याले विकराल रुप लिएको छ ।

न त पुरस्कार र दण्डको व्यवस्था नै छ । न त शिक्षकलाई समय सापेक्ष तालिमको व्यवस्था नै छ । न त उत्प्रेरणा र संभारको व्यवस्था नै छ ।  न त शिक्षकलाई समयमा तलवको नै व्यवस्था छ । शिक्षकलाई समय अनुसार सरुवा को व्यवस्था छैन जसको कारण शिक्षकले सानो घेरमा सिमित हुनु परेको छ । समान स्तरका सरकारी सेवाको तुलनामा शिक्षकलाई सौतेनी व्यवहार गरिएको छ ।  निजामति सेवाको कार्यालय सहयोगीलाई सरकारले मर्र्यादाक्रममा समावेश गरेको छ तर सहसचिव समानको पदमा रहेको शिक्षकको समेत मर्यादाक्रम छैन । अर्को प्रकारले भनौं भने शिक्षण पेसालाई अमर्यादित बनाएकोछ । यस परिबेशमा विद्यालयमा प्रभावकारी पठन पाठन हुन सक्ने संभावना पनि रहेन ।

हाम्रो शिक्षाको गुणस्तरियतालाई वुझ्ने मापदण्ड समेत अस्पष्ट रहेको छ । हामीले परीक्षामा येनकेन प्रकारले धेरै अंक ल्याउनेलाई र अंग्रेजी माध्यममा लेख्न सक्नेलाई गुणस्तरीय भनेर अथ्र्यायौँ जुन पूर्णरुपेण गलत छ । सिकेका कुरालाई जीवनमा लागु गर्ने, विद्यालयमा सिकेका आधारमा राज्यलाई सेवा र योगदान गर्ने तथा सामाजिक रुपान्तरणमा सहयोग गर्ने आधारमा गुणस्तरलाई परिभाषित गर्ने हो भने जुन मात्रामा हुन पर्ने हो त्यो नभएको होला तर  सार्वजनिक विद्यालयले प्रदान गर्ने शिक्षाको गुणस्तर निजी विद्यालयको भन्दा अव्वल नै छ ।

त्यसैले आगतका अन्य पक्षको सुधार, रुपान्तरणमा संलग्न प्रकृयाहरुको सुधार र निर्गतको सहि परिभाषा गरिनु आवश्यक छ । निर्गत भन्नाले हाम्रो उत्पादन अर्थात् शिक्षाका माध्यमबाट उत्पादित जनशक्ति !

निर्गतको गुणस्तरलाई सैद्धान्तिक तहबाट मात्र हैन विद्यार्थीको व्यवहारिक परिवर्तनको पक्षवाट समेत मुल्यांकन गरिनु पर्छ । शिक्षा आर्जन पछि गृहस्थी जीवनमा गए पछि सार्वजनिक विद्यालयका विद्यार्थी निजी विद्यालयका भन्दा शायदै कमजोर छैनन् । यसर्थ शिक्षकका कारण मात्रले सार्वजनिक शिक्षा विग्रियो भन्नु त उचित भएन कि ?  

प्रणाली कै रुपमा विद्यालय शिक्षालाई हेर्दा यस प्रणालीलाई वाह्य वातावरणले पार्ने असरलाई नजर अन्दाज गर्न सकिन्न । राजनीतिक दलहरुले स्थानीय स्तरमा आफ्नो शक्ति देखाउने स्थल विद्यालय बनेको छ । शिक्षकलाई दलको सदस्य बनेको कुरामा आलोचिल गरिन्छ (यद्यपी यो गलत प्रकृया हो ) तर शिक्षकलाई दलको सदस्य बन्न वाध्य वनाउने र शिक्षकबाट दलले लेवी लिने कुरा कदापी आलोचित हुँदैन । कतिपय सामुदायिक विद्यालयको विद्यालय व्यवस्थापन समितिको गठनका क्रममा राजनितिक दलका विचमा आक्रमण र प्रत्याक्रमण समेत हुने गरेका घटना छन् यि विषय समेत खासै आलोचित भएका छैनन् ।

कतिपय अवस्थामा समाजिक विकृति तथा विसंगतिको शिकार समेत सार्वजनिक विद्यालय हुने गरेका छन् । वर्तमान संविधानले त हाम्रा देशका स्थानीय तहको शासकीय र व्यवस्थापकीय क्षमता समेत अनुमान नगरी माध्यमिक तह सम्मको शिक्षा स्थानीयतहलाई जिम्मा लगाउँदा सार्वजनिक विद्यालय झनै अस्त व्यस्त रहेका छन् । यस प्रकारका वातावरणीय पक्षलाई व्यवस्थापन गर्न नसक्दा सार्वजनिक शिक्षा नै ध्वस्त हुने अवस्थामा पुगेको छ ।

यहाँ शिक्षकको कमजोरी नै छैन भन्न खोजिएको हैन । शिक्षकसंग सम्वन्धित समस्या पनि महत्वपूर्ण कारक हुन् । शिक्षकको कारणले सिर्जित समस्या सबैले उजागर गरि रहेको अवस्थामा यहाँ उल्लेख नगर्नु नै सान्दर्भिक हुन्छ । यसर्थ शिक्षक इतरका पक्षबाट सिर्जित समस्या समाधान नगरी शिक्षकमात्र सुधार गर्ने र सााुदायिक विद्यालयको गुणस्तर सुध्रने कुरा दिवा स्वप्न शिवाय केही हैन ।

धनकुटाका पौडेल माध्यमिक तहका स्थायी शिक्षक हुन् ।