Edukhabar
मंगलबार, ०४ बैशाख २०८१
खबर/फिचर

प्रअ र नगर प्रमुख बीच सम्झौता, अंग्रेजी माध्यम देखि करेसाबारी सम्म बनाउनु पर्ने

शुक्रबार, २८ बैशाख २०७५

भक्तपुर - सूर्यविनायक नगरपालिकाले आफ्ना क्षेत्र भित्रका सामुदायिक विद्यालयका प्रधानाध्यापकहरुसँग कार्यसम्पादन सम्झौता गरेको छ । विद्यालयको व्यवस्थापकीय सुधार तथा शैक्षिक गुणस्तर अभिवृद्धिका लागि सामुदायिक विद्यालयका प्रधानाध्यापक र नगर प्रमुख बीच २७ बुँदे कार्यसम्पादन सम्झौता गरिएको हो ।

उक्त सम्झौतामा प्रारम्भिक कक्षा देखि अंग्रेजी भाषाको माध्यमबाट पठनपाठन गर्ने देखि विद्यालय हातालाई शिक्षक तथा विद्यार्थीको सहभागितामा फूलबारी तथा करेसाबारीको व्यवस्था गरी स्वच्छ, मनोरम र हराभरा बनाउने सम्मका बुँदा समेटिएको छ ।

आफ्नो क्षेत्र भित्र रहेका सबै ४० वटा सामुदायिक विद्यालयका प्रधानाध्यापकहरुलाई शुक्रबार नगरपालिकामा एक कार्यक्रम आयोजना गरी उक्त सम्झौता गरिएको हो । नगर प्रमुख वासुदेव थापा र हरेक विद्यालयका प्रधानाध्यापक बीच उक्त सम्झौता गरिएको हो । उक्त सम्झौता पत्रमा प्रधानाध्यापकहरुले कार्यक्रम स्थलमै सहि छाप गरेर एक प्रति नगरपालिकालाई बुझए भने एक प्रति आफूले राखेका छन् ।

संविधानले विद्यालय शिक्षा सम्मको अधिकार स्थानीय सरकार मातहत गरेको सन्दर्भमा गरिएको यो सम्झौताले सार्वजनिक शिक्षा सुधारका लागि महत्वपूर्ण योगदान पुर्याउने अपेक्षा गरेको थापाले बताए । कार्यक्रममा प्रदेश समा सदस्य शशिजँग थापा, शिक्षा विकास तथा समन्वय इकाइका प्रमुख अर्जुन रायमाझि, नगरपालिकाका प्रमुख प्रशासकिय अधिकृत चिरन्जीवी तिम्सिना, सामाजिक विकास समितिका संयोजक किरण थापा, शिक्षा अधिकृत सविता दङ्गाल लगायतले सार्वजनिक शिक्षा सुधारका लागि नगरपालिकाले सम्झौता गरेको भन्दै सुधारका लागि सबै गम्भिर हुनु पर्ने बताए ।

कार्यसम्पादन सम्झौताको पूर्ण विवरण यस प्रकार छ :


विद्यालयको व्यवस्थापकीय सुधार तथा शैक्षिक गुणस्तर अभिवृद्धिका लागि सामुदायिक विद्यालयका प्रधानाध्यापक र नगर प्रमुख बीच गरिएको कार्यसम्पादन सम्झौता २०७५
 

श्री ................................................आधारभूत÷माध्यमिक विद्यालय, सूर्यविनायक नगरपालिका, वडा नं. ... को प्रधानाध्यापक म ...................................................... विद्यालयको समग्र व्यवस्थापकीय सुधार तथा शैक्षिक गुणस्तर अभिवृद्धिका लागि देहायअनुसार गर्ने गरी नगर प्रमुख श्री बासुदेव थापा समक्ष कार्य सम्पादन सम्झौता गर्दछु ।

१.शैक्षिक सत्र २०७५ बाट प्रारम्भिक कक्षादेखि अंग्रेजी भाषाको माध्यमबाट पठनपाठन गर्न विद्यार्थी भर्ना अभियान, शिक्षक तयारी, पाठ्यपुस्तक तथा शैक्षिक सामग्री व्यवस्थापनसहितको वार्षिक शैक्षणिक योजना निर्माण गर्ने ।
 
२.विद्यालय व्यवस्थापन समितिको नेतृत्वमा प्रत्येक वर्ष असार मसान्त भित्र विद्यालय सुधार योजना निर्माण वा पुनरावलोकन गरी स्रोतकेन्द्र मार्फत नगर कार्यपालिकाको कार्यालयमा पेश गर्ने ।

३.नगरपालिका शिक्षा नियमावली, २०७४ बमोजिम विद्यालय सञ्चालन गरी प्रधानाध्यापक र सबै शिक्षकहरूबाट तोकिएको शिक्षण घण्टी अनिवार्य रुपमा पठनपाठन गर्ने व्यवस्था पालना गर्ने ।

४.नगरपालिका शैक्षिक क्यालेण्डर अनुसार शिक्षण सिकाइ क्रियाकलाप सञ्चालन, विद्यार्थी मूल्याङ्कन, परीक्षा सञ्चालन र अतिरिक्त क्रियाकलाप सञ्चालन गर्ने तथा विद्यार्थीहरुको प्रतिभा पहिचान गर्न प्रत्येक शुक्रबार १ बजे पछि अतिरिक्त क्रियाकलाप र समय समयमा विद्यालय स्तरीय प्रतियोगिताहरु सञ्चालन गर्ने ।

५.विद्यालयमा पुस्तकालय, सूचना प्रविधिको सुविधा, श्रव्य दृश्य सामग्रीको प्रयोग गर्न  सरोकारवालाहरुसँग समन्वय गरी आवश्यक पूर्वाधार विकास र शिक्षक तयारी कार्य गर्ने ।

६.सबै शिक्षकहरुबाट शैक्षिक सत्रको प्रारम्भमा नै आवश्यक शैक्षिक सामग्रीको सूची तयार गरेर स्थानीय स्तरमा पाइने Low cost,  No cost  सामग्री निर्माण तथा व्यवस्थापन गरी दैनिक पाठयोजना निर्माण गरी सिकाइ सहजीकरण क्रियाकलाप गने, गराउने ।  

७. शैक्षिक सत्रको अन्त्यमा प्रत्येक शिक्षकलाई आफूले शिक्षण गरेको विषयको सिकाइ उपलब्धी एकीन गर्न लगाई आगामी सत्रका लागि शिक्षण सुधार योजना (Teaching imprvement plan,TIP) सहित विषय, कक्षा र तहगत सिकाइ उपलब्धी र लक्ष्य प्रक्षेपण गरी शिक्षण गर्ने गराउने व्यवस्था मिलाउने ।

८. शैक्षिक सत्र २०७४ को औषत सिकाइ उपलब्धीलाई प्रत्येक वर्ष न्युनतम ..... प्रतिशतका दरले वृद्धि गर्ने ।

९. विद्यालयको भौतिक, शैक्षिक, आर्थिक र व्यवस्थापकीय पक्ष समेटेर प्रत्येक वर्ष सामाजिक परीक्षण गराई भाद्र महिना भित्र नगरकार्यपालिकाको कार्यालयमा प्रतिवेदन पेश गर्ने ।

१०. सामाजिक परीक्षण र लेखा परीक्षणको प्रतिवेदन सरोकारवाला समक्ष प्रवोधिकरण गरी सोको संक्षिप्त विवरण सबैले देख्ने गरी विद्यालयको कार्यकक्षमा टास्ने व्यवस्था मिलाउने ।

११. विद्यालयको शैक्षिक तथ्यांक तोकिएको ढाँचामा भरेर प्रत्येक वर्ष जेठ १० गतेभित्र नगरपालिकामा पेश गर्ने र सो तथ्यांकको सारांश तालिका सार्वजनिक गर्ने ।

१२. नगरकार्यपालिकाको कार्यालय र अन्य निकायबाट विद्यार्थीका लागि प्राप्त विभिन्न किसिमका छात्रवृत्ति, निःशुल्क पाठ्यपुस्तक लगायतका सुविधाहरु तोकिएको समयमा विव्यसको निर्णयबाट अभिभावक समेतको उपस्थितिमा वितरण गर्ने ।

१३. नगरकार्यपालिकाको कार्यालयबाट व्यवस्था भएको विद्युतीय हाजिरीको प्रभावकारी कार्यान्वयन गरी सोको अभिलेख नगरपालिकामा पेश गर्ने ।

१४.विद्यालयका शिक्षक, कर्मचारी, विद्यार्थी र अभिभावकहरू बीच पारस्परिक सहयोग अभिवृद्धि र शैक्षिक सुधारको वातावरण सिर्जना गर्न वर्षको न्युनतम चार पटक अभिभावकहरुसँग छलफल तथा अन्तरक्रिया गर्ने ।

१५.शिक्षा नियमावलीअनुसार विद्यालय व्यवस्थापन समिति र शिक्षक अभिभावक संघ लगायतका समितिहरु समयमै गठन गर्ने, वैठकलाई नियमित गरी शैक्षिक गुणस्तर सुधार एजेण्डामा केन्द्रित गर्ने ।

१६.विद्यालय परिवारबाट शिक्षक तथा विद्यार्थीका आचारसंहिता स्वीकृत गराई सार्वजनिक गर्ने र पालना गर्नेे, गराउने ।

१७.विद्यालय हातालाई शिक्षक तथा विद्यार्थीको सहभागितामा फूलबारी तथा करेसाबारीको व्यवस्था गरी स्वच्छ, मनोरम र हराभरा बनाउने ।

१८.विद्यालयमा स्वीकृत पाठ्यक्रम अनिवार्य रुपमा लागू गर्ने र आवश्यक सन्दर्भ सामग्रीहरुको प्रबन्ध गरी प्रयोगको व्यवस्था  मिलाउने ।

१९. विद्यालयका तल्ला कक्षाहरुमा धुलो रहित भुईं, सरसजावट गरी बालमैत्री कक्षाकोठा व्यवस्थापन गर्ने तथा बालबालिकाहरुको सर्वांिंगंण विकासमा सहयोग पुग्ने खालका खेल सामग्रीहरुको व्यवस्था गर्ने ।

२०.व्यवस्थापन समितिको अध्यक्ष र स्रोतव्यक्तिको रोहबरमा शिक्षकहरुसँग कार्यसम्पादन सम्झौता गरी सोको एक प्रति नगर कार्यपालिकाको कार्यालयमा पठाउने ।

२१.प्रधानाध्यापक तथा विद्यालय व्यवस्थापन समितिका पदाधिकारीले शिक्षक तथा विद्यार्थीको नियमितताको अनुगमन गरी आवश्यक सुभाव दिने र प्रधानाध्यापकले शिक्षकको कक्षा अवलोकन गरी पृष्ठपोषण प्रदान गर्ने ।

२२.विद्यालयमा उत्कृष्ट सिकाइ उपलब्धी ल्याउने विषय शिक्षकलाई पुरस्कृत गर्न र कर्तव्य पालना नगर्ने शिक्षकलाई दण्डका लागि विद्यालय व्यवस्थापन समितिबाट गर्न नसकिने विषयमा  नगर कार्यपालिकाको कार्यालयमा सिफारिस गर्ने ।

२३.सूर्यविनायक नगर क्षेत्रलाई उत्कृष्ट शैक्षिक गन्तव्यको रुपमा विकास गर्ने नगरपालिकाको नीति अनुरुप शैक्षिक गतिविधिहरु सञ्चालन गर्ने ।

२४. नगर कार्यपालिकाको कार्यालयबाट प्राप्त परिपत्र तथा निर्देशनहरुको पालना गर्ने गराउने ।  

२५. उत्कृष्ट विद्यालय, प्रधानध्यापक, शिक्षकलाई सम्मान, प्रशंसा, पुरस्कार प्रदान गर्ने नगरपालिकाको नीति बमोजिम उत्कृष्ट कार्य गर्न व्यवस्थापन समिति, अभिभावक र विद्यार्थीहरुवीच समन्वय गरी शैक्षिक गुणस्तर र वातावरण वृद्धि गर्न प्रतिबद्ध हुने ।

२६. शिक्षकहरुको क्षमता  विकासका लागि आवश्यकता पहिचान गरी  नगरकार्यपालिकाको कार्यालयमा पेश गर्ने ।

२७. नगरपालिकाबाट आयोजित चौमासिक समिक्षा कार्यक्रममा कार्य प्रगति लिखित रुपमा पेश गर्ने ।

उल्लिखित कार्यहरुको कार्यान्वयनका लागि विद्यालय व्यवस्थापन समिति, शिक्षक अभिभावक संघ, शिक्षक, विद्यार्थी समेतको सहभागितामा हरेक वर्षको जेठ महिना भित्र कार्ययोजना बनाई स्रोत केन्द्र मार्फत नगरकार्यपालिकाको कार्यालयमा प्रधानाध्यापकबाट पेश गरिने छ र सोहि कार्ययोजना अनुसार कार्य गर्न नगर कार्यपालिकाको कार्यालयबाट आवश्यक सहजीकरण हुने छ ।


प्रधानाध्यापकको नाम थर :                                                      नगर प्रमुख : श्री वासुदेव थापा
दस्तखत .........................                                                   दस्तखत ............................
विद्यालयको नाम र ठेगाना :                                                     सूर्यविनायक नगरपालिका
     विद्यालयको छाप                                                             कार्यालयको छाप
                                            रोहवर
    
नाम : सविता दङ्गाल                                       नाम : किरण थापा
पद : शिक्षा अधिकृत                                      सामाजिक समिति संयोजक
दस्तखत.........                                           दस्तखत...................
सूर्यविनायक नगरपालिका                             सूर्यविनायक नगरपालिका    
                         

मितिः २०७५।०१।२८

यसैबिच उक्त कार्यक्रममा नगरपालिका क्षेत्र भित्रका सबै सामुदायिक विद्यालयको परीक्षामा एकरुपता ल्याउन नगरपालिकाका सामाजिक विकास समितिका संयोजक किरण थापाको संयोजकत्वमा नगरपालिका भित्रका सबै नौ वटै माध्यमिक विद्यालयका प्रधानाध्यापक सम्मिलित नगर परीक्षा समिति समेत गठन गरिएको छ ।

समिति गठन अघि प्रधानाध्यापकहरुले परीक्षा जस्तो सम्वेदनशील विषयका बारेमा हतारमा निर्णय गर्न नहुने भन्दै आपत्ति जनाएका थिए । अरु स्थानीय तह भन्दा फरक हुने नाममा हतार नगर्न उनीहरुको सुझाव थियो । प्रधानाध्यापकहरुको उक्त विचारलाई दृष्टिगत गर्दै तत्कालै विस्तृत योजना सहित बैठक बसेर कार्यक्रम तय गर्ने संयोजक थापाको प्रतिवद्धता पछि उक्त समिति गठन भएको हो ।

समितिमा नगरपालिका भित्रका सरस्वती माविका प्रअ परशुराम राई, अरनिको माविका प्रअ लेखनाथ रिमाल, ज्योती माविका कृष्णला न्हेमाफूकी, जोरपाटि माविका प्रअ हरीप्रसाद ढकाल, गणेश माविकी मिना मास्के, शान्ति निकेतनका पाण्डवराज अधिकारी, भूवनेश्वरीका कृष्णप्रसाद छुस्याकी, महेन्द्र शान्तिका गोपाल विक्रम थापा र सिरुटार माविका प्रअ नारायण प्रसाद पोखरेल सदस्य छन् ।

प्रतिक्रिया