Edukhabar
बुधबार, ०५ बैशाख २०८१
गतिविधि

मन्त्रालयमै कर्मचारी माथि हातपात, 'गुण्डागर्दी'को संज्ञा, 'अपराधी' पक्रन माग

शुक्रबार, २८ बैशाख २०७५

काठमाडौं - शिक्षा मन्त्रालयका उपसचिव विदुरराज गिरीमाथि मन्त्रालयकै कार्यकक्षमा हातपात भएको छ । विद्यालय कर्मचारीलाई सेवा सुविधा नदिएको भन्दै उनीमाथि आक्रमण गरिएको घटनाको मन्त्रालयले भत्र्सना गरेको छ ।

बिहीबार कार्यकक्षमै कानून ब्यवसायी कोषराज काफ्ले र गोविन्दबहादुर पौडेल सहितका ४५ जनाको समूहले हातपात गरेको भन्दै मन्त्रालयले उनीहरुलाई 'अपराधी'को संज्ञा सहित पक्राउ गर्न माग गरेको छ ।

'कर्मचारकिो कुनै पनि किसिमको गल्ती कमजोरी नहुँदा पनि गरिएको यस्तो अपराधजन्य आक्रमण सम्पूर्ण राष्ट्र सेवक कर्मचारी र सिङ्गो मन्त्रालय माथिको आक्रमण भएको ठहर गर्दछौं' मन्त्रालयको प्रशासन महाशाखाका सहसचिव बालकृष्ण पन्थीद्धारा जारी विज्ञप्तिमा भनिएको छ, 'अपराधिको दुस्साहसलाई नियन्त्रण गर्ने र सम्पूर्ण पीडित पक्षको मनोवल बलियो बनाउन अपराधको अनुसन्धान तथा अभियोजनकर्तासँग मन्त्रालय हार्दिक अपिल गर्दछ ।'

शैक्षिक ब्यवस्थापन महाशाखा अन्तरगत विद्यालय शिक्षा शाखामा कार्यरत गिरीलाई विना कुनै वादविवाद एक्कासी मुड्कीले टाउकोमा जथाभावी हानेको र शिशाको जगले ज्यानै जान सक्ने गरी टाउकोमा प्रहार गर्दा गिरी रगताम्य भएको विज्ञप्तिमा उल्लेख छ । आक्रमणकारीलाई कार्यलय सहयोगी सिद्धिबहादुर महर्जन र सीमा लामाले रोकेका कारण थप आक्रमण विफल भएको विज्ञप्तिमा उल्लेख छ ।   

यसैविच निजामती कर्मचारीहरुको आधिकारिक ट्रेड यूनियन विभागीय कार्य समिति शिक्षा मन्त्रालय सहित कर्मचारीका चार वटा छुट्टा छुट्टै संगठनले उक्त आक्रमणलाई 'गुण्डागर्दी'को संज्ञा दिदैं कडा कारवाही र घाईतेको उपचार गर्न सरकारसँग माग गरेको छ ।

विभागीय कार्य समितिका अध्यक्ष हरिभक्त पौडेल, नेपाल निजामती कर्मचारी संगठनका अध्यक्ष शिवराज पोखरेल, निजामती यूनियन संघका अध्यक्ष ज्ञानेन्द्र प्रसाद भट्ट र नेपाल राष्ट्रिय कर्मचारी संगठनका अध्यक्ष निमप्रकाश सिंह राठौरले संयुक्त विज्ञप्ति निकालेर उक्त माग गरेका हुन् ।

प्रतिक्रिया