Edukhabar
शुक्रबार, १६ चैत्र २०८०
खबर/फिचर

दुई भाइ किरियापुत्री परीक्षामा

आइतबार, ३० बैशाख २०७५

हेटौंडा - आईतबारबाट शुरु भएको कक्षा ११ को परीक्षामा दुई जना किरियापुत्री पनि सहभागी भएका छन् । हेटौंडा १७ स्थित बालवोध माविका विद्यार्थी दाजु - भाइ सविन दङ्गाल र सन्तोष दङ्गाल आमाको किरियामा बसेकै अवस्थामा परीक्षामा सहभागी भएका हुन् ।

वंश गोपाल मावि परीक्षा केन्द्रमा सहभागी सविन ब्यवस्थापन र सन्तोष शिक्षाका विद्यार्थी हुन् । उक्त केन्द्रमा परीक्षा दिने ३ सय ३३ परीक्षार्थी मध्ये पहिलो दिन ३ सय २८ जना मात्रै उपस्थित भएको केन्द्राध्यक्ष रमेश प्रसाद लामिछानेले बताए ।

उनीहरुकी आमा कृष्ण कुमारी दङ्गालको ४२ वर्षको उमेरमा ११ दिन अघि निधन भएको थियो । हिन्दु धार्मिक कर्म अनुसार किरियामा बसेका विद्यार्थीलाई छुट्टा छुट्टै राखेर परीक्षामा सामेल गराईएको लामिछानेले बताए । मकवानपुरमा ११ परीक्षा केन्द्र छन् ।

यसैविच भारतीय प्रधानमन्त्रीको नेपाल भ्रमणको विरोेध गर्दै उनी फर्केको भोली पल्ट नेकपा विप्लब समूहले नेपाल बन्दको आह्वान गरेका कारण विद्यार्थीले सास्ती बेहोर्न बाध्य भए । परीक्षाको पहिलो दिन विहानै परीक्षा केन्द्र सम्म पुग्न विद्यार्थीले निकै हैरानी खेप्नु पर्यो । बन्दका बिचमा पनि देशभरी कक्षा ११ को पहिलो दिनको परीक्षा शान्त अवस्थामा सम्पन्न भएको राष्ट्रिय परीक्षा बोर्डका नियन्त्रक डम्बर कुमार बतासले जानकारी दिए ।

परीक्षाका लागि देशभर १ हजार ५१ परीक्षा केन्द्र निर्धारण गरिएको छ । परीक्षाका लागि नियमित तर्फ ३ लाख ३२ हजार ८ सय ८६ र आँशिक तर्फ २ लाख १८ हजार ७१ विद्यार्थीले फारम भरेको नियन्त्रक बतासले बताए । परीक्षाका लागी ४६ हजार ७ सय ६६ जनशक्ति परिचालन गरिएको उनले बताए । 

प्रतिक्रिया