विद्यालय समय – १ : सातौँ घण्टीमा आए पनि कक्षामा बसाउँ, केही सिकाउँ


सामुदायिक विद्यालयमा विद्यार्थी नियमित भएनन् त्यसैले सिकाइ कमजोर भयो ।

झट्ट सुन्दा निकै सान्दर्भिक कारण हो यो । विद्यालय नआए पछि के जान्दछ त विद्यार्थीले ? कुरो साँच्चै पनि त हो ।

आएकालाई त पढाएकै छौँ, नआउनेलाई के गर्ने ?

शिक्षकहरुको यो कुरा पनि त नाजायज होइन ।

विद्यार्थी नियमित नहुनुको दोष कसले लिने त ?

- यो त शिक्षा मन्त्रालयले जान्नु पर्यो नि !

माध्यमिक तहका एक शिक्षककले दिनु भएको जवाफ हो यो ।

- अभिभावकले नियमित पठाउनु पर्यो नि !

अर्का शिक्षकले दिएको जवाफ हो यो ।

- विद्यार्थी पनि त जिम्मेवार हुनु पर्यो नि !

अर्का शिक्षकले भनेको कुरा हो यो ।

- मन्त्रालयदेखि अभिभावकसम्म सबै जिम्मेवार हुनुपर्छ ।

यसो भन्ने शिक्षक पनि फेला पर्छन् ।

र, विद्यार्थी नियमिततामा शिक्षक र विद्यालयको पनि भूमिका हुन्छ भन्ने पनि भेटिएला कतै !

विद्यार्थी विद्यालय नआएको जिम्मा शिक्षकले लिनुपर्छ ।

- हैट ! यस्तो पनि हुन्छ, शिक्षकले त आएका विद्यार्थी पढाउने हो । कक्षामा पढाउन छोडेर के घरघर विद्यार्थी लिन जाने त ? यस्तो त हुँदैन । विद्यार्थी विद्यालय नआएको त अभिभावकले जिम्मा लिनुपर्छ । आफ्ना छोराछोरी  नियमित विद्यालय पठाउने, उनीहरूका लागि किताब, कापी, पेन्सिल भए नभएको ख्याल गर्ने, गृहकार्य गराउने काम त अभिभावकको पो हो । छोराछोरी स्कुल पठाएर मात्र हुन्छ र ? कुरा त यो पो हो ।

तर्क वितर्क, छलफल जति पनि गर्न सकिएला । केही साँच्चै । वास्तविक र केही काल्पनिक तर्क पनि बनाउन सकिएला । आफ्ना विचारलाई माथि पार्ने गरी कुतर्क पनि गर्न सकिएला । एकले अर्कालाई दोष लगाउन पनि सकिएला । सिद्धान्तका कुरा गरेर पाँच सात पेजको लेखै पनि त बनाउन सकिएला । सुझावका फेहरिस्त पनि त तयार गर्न सकिएला । विद्यार्थीको नियमित उपस्थित गराउने उपायहरु बारे लेखिएका कति कार्यमूलक अनुसन्धान पनि भए होलान् विद्यालयमा । कति परियोजना कार्य, मामला अध्ययनका दस्तावेज तयार भए होलान् । तर ती सबै कागजमा सीमित भए । अझै पनि विद्यार्थी नियमित नहुनु सामुदायिक विद्यालयका विद्यार्थीको कमजोर सिकाइको कारण बनिरहेको छ, बनाइरहेका छौँ र थाहा छैन कहिले सम्म बनिरहनेछ ।

२०७४ असारको कुरा, खोटाङ् सदरमुकामबाटै नजिकैको विद्यालय जादैँ थिए ।

बाटोमै पर्ने घरमा करिब १०/११ वर्षकी बालिका बाहिर उभिएकी थिइन ।

मलाई केही कुरा गर्न मन लाग्यो ।

बहाना त चाहियो !

- विद्यालय कति टाढा पर्छ ?

दश मिनेट लाग्छ ।

(गोजी बाट मोबाइल निकालेर घडी हेरे । १०ः३५ भएको थियो ।)

-  तपाईँ किन स्कुल जानु भएन त ?

आमा मेला जानु भएको थियो आउन ढिला भयो ।  

- अब जान मिल्दैन ?

मिल्दैन ।

- किन ?

थाहा छैन ।

- एक पिरीयड त छुट्छ नि गए हुदैँन र ?

उनी बोलिनन् र मलाई उनी कुरा गर्न अनिच्छुक भएको जस्तो लाग्यो । म अगाडी बढेँ ।

के विद्यार्थी पनि जागिरे जस्तै १० बजे विद्यालय पुग्नै पर्ने हुन्छ ?

के कुनै विद्यार्थी १०/१५ मिनेट ढिला विद्यालय आउँदा उसका लागि विद्यालय प्रवेश बन्द गर्नै पर्छ ?

के विद्यार्थी जस्तै शिक्षक पनि १० मिनेट ढिला भयो भनेर विद्यालय नआउने अवस्था हुन्छ ?

हुन्छ भने यस्तो हुने विद्यालय देशभरी कति होलान् ?

धेरै भूमिका नबनाई भन्ने हो भने विद्यार्थीका लागि विद्यालय दिनभरी खुला हुनुपर्छ कि साढे दश बजे नै बन्द हुनु पर्छ ? समयमा आउने अनुशासन सिकाउने उद्देश्य होला, के हाम्रो यो उद्देश्य पूरा गर्न दश मिनेट ढिला भए स्कुल आउन मिल्दैन भनेर सिकाउने हो हामीले । दश मिनेट ढिलै भए पनि विद्यालय आउ भनेर भन्ने कि दश मिनेट ढिला भए विद्यालय आउन पाइदँैन भन्ने हो । सबै तहमा मस्तिष्क मन्थन चाहिने हो कि ।

अधिकांश ग्रामीण क्षेत्रका अभिभावकहरु र विद्यार्थी समेत विहान मेलापात, घाँस दाउराको काममा सहभागी हुन्छन् । बा आमा मेला गएका कारण घरमा समयमा खाना नपाकेर, अथवा बा आमा मेलाबाट समयमै नफर्कँदा पनि ढिला हुन्छ र यसरी ढिला हुनु स्वभाविक पनि हो । यसका साथै अभिभावकले एक दिन त हो नि विद्यालय छुटेर खास केही फरक पर्दैन भन्ने बुझेका हुन्छन् ।

यो अवस्थामा हाम्रो भूमिका उसका लागि स्कुलको प्रवेश बन्द गर्ने कि संभव भएसम्म समयमै पठाइदिनुस् नभए के कारणले ढिला भएको हो कारणको जानकारी दिएर विद्यालय पठाइदिनुस ् भन्ने हो ? हाम्रो उद्देश्य सिकाइ हो भने सातौँ घण्टीमै किन नहोस कोही विद्यालय आउँछ भने उसलाई सहज रुपमा विद्यालय प्रवेश दिउँ, कक्षामा बसाउँ र केही पढाउँ वा केही सिकाउ । होइन हाम्रो उद्देश्य त समयको पालना गराउने, अनुशासन सिकाउने हो भने पाँचै मिनेट ढिला हुँदा विद्यालयको प्रवेश बन्द गरिदिउँ । अनि भन्दै गरौँ विद्यार्थी नियमित आउँदैनन् त्यसैले उनीहरुको कमजोर सिकाइको जिम्मेवार उनीहरू नै छन् ।

मलाई थाहा छ, हामी धेरैले यो विचार स्वीकार गर्ने छैनाँै, यसलाई वहियात मान्ने छौँ र बकम्फुसे गफ भन्ने छौँ । मेरो प्रश्न के मात्र हो भने के सामुदायिक विद्यालयको विद्यार्थी नियमितताका लागि यस्ता तत्वहरू जिम्मेवार छैनन र ?हामी सिद्धान्तका रटान लगाउँदै र विद्यार्थीलाई नियमित आउँदैनन् भनेर कहिलेसम्म भनिरहने हो ? अभिभावकलाई सकेसम्म समयमा पठाउन आग्रह गर्ने हो तर खास कारणले ढिला भयो भने ढिला भएको कारण अभिभावकले जानकारी गराउने र विद्यार्थी विद्यालय आउने वातावरण तयार हुन सक्छ कि भन्ने पनि हो । अभिभावकको चेतनास्तरलाई कमजोर देख्ने हामी विद्धानहरूले उनीहरूलाई नै विद्यार्थी विद्यालय नपठाएको दोष लगाउदैँ छौँ । के हाम्रो भूमिका दोष लगाउने मात्र हो र ?

म निसंकोच के भन्न सक्छु भने, साच्चिकै चेतना भएको अभिभावकले सामुदायिक विद्यालयलाई विश्वास गर्न छोडिसकेको छ । उसले त एक छाक कम खाएर हुन्छ कि, एकसरो कम लाएर हुन्छ कि, खाडीमा पसिना बगाएर हुन्छ आफ्ना छोराछोरी निजीमा पठाएको छ । त्यही चेतना स्तर कमजोर भएको र गरिबीले थिचिएका, पछाडि परेका र पारिएका अभिभावकका छोराछोरी पढाउने बहानामा हामी सबै सरकारी जागिरे  हुन पाएका छौँ ।

कुनै विद्यार्थी एक दिन खास कारणले अनुपस्थित भयो । शिक्षकले उसको हाजिरी लिने बेलामा सोध्छौँ ? हिजो कहाँ गएको ? स्कुल आउनु पर्दैन ? हाजिरी अगाडी बढ्यो । पढाउँदै गर्छौ अनि कसैले पढाउँदा पढाउँदै प्रश्न गर्छौ ? प्रश्न त्यही हिजो नआउनेका लागि पनि पर्छ ? उसले नबुझेर जवाफ दिन सक्दैन अनि लण्ठु, स्कुल आएपो हुन्छ भन्छौँ । फेरी पाठ अगाडि बढ्छ । परीक्षा आउँछ ? नतिजा आउँछ । अनि फेरी नतिजा कमजोर ल्याउनेका लागि प्रश्न आउँछ ? स्कुल आउनु छैन, पढाएको ध्यान दिनु छैन । अनि कसरी हुन्छ ?
कोही विद्यार्थी १ दिन अनुपस्थित भयो, अर्को दिन उ उपस्थित हुँदा गरिने व्यवहार, अनुपस्थिति सँग जोडेर गरिने थरि थरीका कुराले उसलाई स्कुल आउन प्रेरीत गर्ला कि हतोत्साहीत ? विद्यार्थी उपस्थिति र निरन्तरताका कुरा गरिरहँदा शिक्षकको उपस्थिति र निरन्तरताका कुरा पनि उठ्न सक्लान् । हामी विद्यालयमा केही सिकाउने लक्ष्य लिएका छौँ भने विद्यार्थी उपस्थितिलाई समय सीमामा नबाँध्ने पो हो कि । त्यसका लागि अभिभावकले विद्यालयमा फोन गरिदिने अथवा कुनै फारम विकास गरेर भरेर पठाउने बनाउने पो हो कि ?

गत माघमा तनहुँका दुई प्रधानाध्यापकसँग यही विषयमा कुरा गर्ने सन्दर्भ मिल्यो । दुवै जना शुरुमा असहमत भए पनि कुरा गर्दै जाँदा कुरा ठिकै हो भन्ने सम्म त पुग्नुभयो तर कार्यान्वयन गर्न सकिदैँन भन्ने निश्कर्ष निस्कियो । हामी परिवर्तन र सुधार चाहन्छौँ भने हाम्रो सोच्ने दृष्टिकोणमा, हाम्रा व्यवहारमा, हाम्रा क्रियाकलापमा र हाम्रा काम गर्ने पद्धतिमा परिवर्तन र सुधार जरुरी छ । हो त्यस्तो परिवर्तन र सुधार पक्कै सजिलो र सहज भने छैन । चुनौति लिन तयार नहुँदासम्म सुधार त पक्कै हुने छैन । छलफल, बहस र अन्र्तक्रिया गर्न सकिन्छ ।

क्रमशः

बाँकी अर्को साताको आईतबार .....

deviramac@outlook.com