Edukhabar
शुक्रबार, ०७ बैशाख २०८१
खबर/फिचर

पढाउन छाडेर अड्डा–अदालत, शिक्षक, कर्मचारीका वकिललाई नै कारवाही !

विहीबार, ०३ जेठ २०७५

काठमाडौं - शिक्षक तथा विद्यालय कर्मचारीको विषयमा अदालतमा विभिन्न मुद्धा दायर गर्दै आएका अधिवक्ता कोषराज काफ्लेलाई त्रिभुवन विश्वविद्यालयले विभागीय कारवाहीको प्रकृया शुरु गरेको छ । वीरेन्द्र बहुमुखी क्याम्पस भरतपुर चितवनमा भौतिक शास्त्रका उपप्राध्यापक समेत रहेका काफ्ले विना स्विकृती ५ महिना सम्म क्याम्पसमा अनुपस्थित भएको भन्दै विभागीय कारवाहीको प्रकृया शुरु भएको हो ।

विभिन्न मितिमा गरी ५ सय ६८ दिन वेतलवी विदा लिएका काफ्ले गत पुस १ गते देखि क्याम्पसमा हाजिर हुनु पर्ने थियो । तर यतिका समय सम्म पनि उनी हाजिर नभए पछि क्याम्पसले विश्वविद्यालयमा जानकारी गराएको थियो ।

चलानी नम्बर १०२५।०७५।०७६ रहेको गत बैशाख १४ गतेको पत्रमा क्याम्पसले उक्त विवरण उल्लेख गरी जानकारी गराए पछि कारवाहीको प्रकृया शुरु भएको विश्वविद्यालयले जनाएको छ ।  

२०५५ कात्तिक २२ गते देखि शिक्षण सहायकको करार पदमा नियुक्त काफ्ले  २०६० फागुन ३ गते देखि स्थायी पदमा कार्यरत रहेको विश्वविद्यालयले जनाएको छ ।

गत बैशाख २८ गते शिक्षा मन्त्रालयका उपसचिव विदुरराज गिरीमाथि कार्यकक्षमै भएको कुटपीटमा काफ्ले संलग्न भए पछि मन्त्रालयले उनको बारेमा सोधखोज गरेको थियो ।

कार्यकक्षमै छिरेर आफ्ना कर्मचारी कुटेको भन्दै मन्त्रालयले घटनाको भत्र्सना गर्दै कुटपिटमा संलग्न माथि कारवाहीको माग गरिसकेको छ ।

पढ्नुहोस् उक्त खबर : मन्त्रालयमै कर्मचारी माथि हातपात, 'गुण्डागर्दी'को संज्ञा, 'अपराधी' पक्रन माग

आक्रमणकारी मध्ये  एक गोविन्द बहादुर पौडेललाई प्रहरीले पक्रेको छ । काफ्लेलाई पनि मन्त्रालयले उक्त घटनाको मतियार भनेर अनामनगर प्रहरीमा जाहेरी दर्ता गराएको छ ।

सोधखोज गर्दा काफ्ले विश्वविद्यालयमा कार्यरत रहेको थाह पाए पछि मन्त्रालयले आवश्यक जानकारी माग गरि विश्वविद्यालयमा उक्त पत्राचार गरेको शिक्षा मन्त्रालय श्रोतले जनाएको छ । उक्त पत्रको जवाफ दिदैं विश्वविद्यालयका रजिष्ट्रार डिल्लीराम उप्रेतीले शिक्षा मन्त्रालयमा पठाएको पत्रमा काफ्लेको बारेमा उल्लेख गरिएको छ ।

'निजले विभिन्न मितिहरु गरी हाल सम्म ५६८ दिन वेतलवी विदा क्याम्पसबाटै स्विकृति गराई बसेकोमा निज मिति २०७४ पौष १ गते देखि हाजिरी हुनु पर्नेमा हाल सम्म विना सूचना क्याम्पसमा अनुपस्थित रहेको भनी पत्राचार गरेकोले निजलाई विभागीय कारवाहीको प्रकृया अगाडी बढेको छ' उक्त पत्रमा भनिएको छ, 'निज काफ्लेले विश्वविद्यालय बाहिरको कुनै पनि निकायमा कार्य गर्न स्विकृति नलिएको ब्यहोरा अनुरोध छ ।'

तर काफ्लेले विद्यालय शिक्षक र कर्मचारीको अधिकारका विषयमा मुद्धा गर्न क्याम्पसमा विदा लिएको दावी गर्छन् ।

पछिल्लो समय उनी पुनर्उत्थान नेपाल पार्टीमा संगठित भएका छन् । सोही पार्टीको  नेतृत्वमा विद्यालय कर्मचारीको एक समुहले आफूहरुको उचित ब्यवस्थापन नभए सेना र राजा गुहार्ने भन्दै धम्कि दिदैं आएको छ ।

पढ्नुहोस् : विद्यालय कर्मचारी ब्यवस्थापनका लागि सेना र राजा गुहार्ने धम्कि !

'शिक्षक कर्मचारी, बाढी पिडितहरुको विषयमा मुद्धा गर्दै आएको छु, मैले मुद्धा गर्नलाई नै क्याम्पसमा विदा लिएको हुँ' काफ्लेले एडुखबरसँग भने 'अहिले पनि क्याम्पस चिफलाई विदा स्विकृत गर्न भनिसकेको छु शायद भयो होला मैले बुझ्न भ्याएको छैन ।'

क्याम्पसमा अनुपस्थित शिक्षकहरुको विवरण माग गरी विश्वविद्यालयले गत चैत २५ मा वीरेन्द्र क्याम्पसलाई पत्राचार गरेको थियो ।

सोही पत्रको उत्तर लेख्दै क्याम्पसले काफ्ले सहित सोही क्याम्पसका अँग्रेजीका उपप्राध्यापक भरत चौधरीले विद्यावारिधिका लागि पूर्व स्विकृती माग गरे अनुसार विदा स्विकृत भए पनि अध्ययन विदाका लागि आवश्यक कार्य नगरी २०७२ साउन ३१ गते देखि क्याम्पसमा अनुपस्थित भएको जानकारी विश्विद्यालयलाई दिएको छ ।

फाईल फोटो

प्रतिक्रिया