Edukhabar
विहीबार, ०६ बैशाख २०८१
अन्तैवाट

खुट्टाले लेखेर परीक्षा दिँदै सम्झना

शुक्रबार, ०४ जेठ २०७५

काठमाडौं ४ जेठ / जन्मजात दुबै हात नभएकी खोटेहाङ गाउँपालिका–६, इन्द्रेणीपोखरी, खोटाङकी सम्झना राईले कक्षा ११ को परीक्षा दिइरहेकी छन्। जन्तेढुंगा गाउँपालिका–५ स्थित चिसापानी मावि परीक्षा केन्द्रबाट राईले खुट्टाको सहाराले कक्षा ११ को परीक्षा दिइरहेकी हुन्। खोटाङ बजारस्थित भगवती दिनानाथ माविबाट १७ वर्षीया सम्झनाले २.३५ जिपिएस ल्याएर ‘सी प्लस’ ग्रेडमा एसइई उत्तीर्ण गरेकी थिइन्। वैशाख ३० गते सुरु कक्षा ११ को परीक्षा दिनेमध्ये जिल्लामै उनी असाधारण क्षमता भएकी परीक्षार्थी हुन्।

गाउँघरमा दोस्री ‘झमककुमारी’ का नामले चिनिएकी सम्झना अर्थशास्त्र विषय लिएर कक्षा ११ मा भर्ना भएकी हुन्। जन्मजात हात नभए पनि खुट्टाको सहारामा लेखपढ र घरायसी काम गर्न सक्ने क्षमता भएकी सम्झनाले बाल्यकालमा खुट्टाले सिन्को च्यापेर आँगनको धुलोमा कोरेर लेखपढप्रति लगाव देखाएपछि परिवारले विद्यालय भर्ना गरिदिएका थिए। सम्झनाको पढाइ अब्बल रहेको शिक्षकहरूको भनाइ छ।

खुट्टा नै सबथोक

बुवा मालबहादुर राई र आमा सुमिताको दोस्रो सन्तान सम्झनाका दुवै हात छैनन्। तर, हरेक घरायसी काम गर्न सक्ने क्षमताको आधारमा उनी सपांगभन्दा फरक देखिन्नन्। जन्मजात हात नभएकी सम्झना खुट्टाको सहारामा लेखपढ र घरायसी काम गर्न सक्छिन्। दुई खुट्टाले पुस्तक पल्टाउँछिन्, देब्रे खुट्टाले लेख्छिन्। अक्षर पनि हातले लेखिएसरह सफा र आकर्षक छन्। लेढपढबाहेक खुट्टाकै साहराले तरकारी काट्न, खाना पकाउन, खान, पिउन, मोबाइल चलाउन, लुगा धुने काम गर्छिन् उनी। अझ अनौठो त सम्झना दुई खुट्टाले नै घाँस दाउरा गर्न सक्छिन्। सम्झनाले घाँसदाउरा काटेको देखेर स्थानीय अचम्मित हुन्छन्। पुरस्कार या सम्मान लिन परे च्यापु र कुमले च्यापेर थाप्छिन्।

परिवारको आशाको दियो

दुवै हात नभएकी छोरी जन्मिँदा राई परिवारमा हर्ष र विस्मात दुवै थियो। भविष्यमा ‘के गर्न सक्लिन् र’ भन्ठानेर सम्झनालाई विद्यालय पठाउन लामो समयसम्म बुबा मालबहादुर र आमा सुमिताको ध्यान गएन। तर सम्झनाले आँगन र भुइँको धुलो सम्याएर सिन्कोले लेख्न थालिन्। धुलो माटोमा लेखपढ गर्न सिक्न थालेको देखेर राई दम्पतीले सम्झनालाई ८ वर्षमा विद्यालय भर्ना गरिदिए। परिणामतः उनी अपांगता भएकामध्ये फरक क्षमता भएको प्रतिभाका रूपमा उदाइन्। यही कारण सम्झनाले अपांगता हुनुको पीडाको महसुस गर्न छाडिसकेकी छन्। उनमा हात नहुँदाको हिनताबोध देखिन्न। अहिले खुट्टाले लेखपढ गर्ने तिनै सम्झना परिवारका लागि आडभरोसा बन्दैछिन्। ‘पहिला त केही गर्न सक्दैन भनेर स्कुल पनि पठाइएन,’ सुमिताले भनिन्, ‘अहिले उसैसँग भरोसा लाग्न थालेको छ, पछि केही गर्लान् भन्ने आशा छ।’ सम्झनाका एक दाजु, एक भाइ र तीन बहिनी छन्।

‘झमककुमारी जस्ती’ भनेर सम्बोधन गर्दा आफूलाई निकै गर्व लाग्ने उनी बताउँछिन्। ‘जति दुःख र अभाव भए पनि उच्च शिक्षा अध्ययन गर्ने धोको छ,’ झमकको पुस्तक जीवन काँडाकी फूल पढिसकेकी सम्झनाले भनिन्, ‘झमकजस्ती बन्न नसकिएला तर, भविष्यमा केही न केही राम्रो काम गर्न सक्छु भन्ने आत्मविश्वास छ।’ छोरीको आँट र मेहनतअनुसार बनिबुतो गरेर भए पनि उच्च शिक्षा पढाउने आमा सुमिताको अठोट छ।

नागरिकमा  दमन राईले लेखेका छन् ।

प्रतिक्रिया