Edukhabar
विहीबार, १५ चैत्र २०८०
खबर/फिचर

पार्किङ्को अत्तोले अल्झ्यो, दरबार हाईस्कुलको पुनर्निर्माण !

शुक्रबार, ०४ जेठ २०७५

काठमाडौं - देशकै पहिलो विद्यालय दरबार हाईस्कुलको पुनर्निर्माणको काम अल्झेको छ । भवनमा अण्डरग्राउण्ड पार्किङ् समेत बनाउनु पर्ने भन्दै काठमाडौं महानगरपालिका प्रमुख विद्यासुन्दर शाक्यले हस्ताक्षर गर्न नमान्दा उक्त काम अल्झेको हो ।

भूकम्पले भत्काए पछि चीन सरकारले बनाईदिने भनेको उक्त विद्यालय भवनको स्विकृत नक्सामा पार्किङ् छैन । राष्ट्रिय पुनर्निर्माण प्राधिकरण, पुरातत्व विभाग र महानगरपालिका सहितको स्विकृतीमा बनेको भवनको नक्साको आवश्यक सबै प्रकृया सकेर प्लिन्थ लेभल सम्मको ईजाजत पत्र लिने बेलामा शाक्यले पार्किङ् पनि चाहिने अडान लिए पछि काम अल्झेको हो ।

पुनर्निमाणको जिम्मा लिएको चीनिया टोलीले कहिलेबाट काम शुरु गर्ने भनेर ताकेता गरेको गर्यै गरेको ब्यवस्थापन समितिका अध्यक्ष मिन बहादुर बस्नेत बताउँछन् ।  

'डेढ महिना देखि उनीहरु बसेका छन्, तर आवश्यक प्रशासनिक काम नसकिएकोले नयाँ भवन बनाउने काम ढिलो भएको छ' उनले भने 'कहिले पुरातत्व विभाग त कहिले महानगर धाउँदा धाउँदै हैरान परिसकियो, अहिले अन्तिममा आए फेरी पार्किङ्को कुराले अलमल्याएको छ ।' 

विद्यालयले गएको बैशाख २४ गते ईजाजत पत्र प्राप्त गर्नका लागि आवश्यक कागजात महानगरमा पेश गरेको थियो । सोही अनुसार प्लिन्थ लेभल सम्मको निर्माणका लागि ईजाजत दिन पत्र तयार भईसके पछि शाक्यले हस्ताक्षर गर्न नमानेका महानगर श्रोतको दावी छ ।

'यतिका बर्ष सम्म नबनेर के भयो र ? अब २-४ महिना ढिलो भएर के हुन्छ ?' शाक्यले गरेको प्रश्नलाई उदृत गर्दै महानगर श्रोत भन्छ, 'पार्किङ् समेत बनाउने गरी भवन बनाउने कुरामा पुन छलफल गर्नु पर्ने भए गर्छु तर, यत्तिकै त स्विकृती दिन्न ।'

८७ दशमलब  ५६ मीटर लम्बाई र १३ दशमलब ९० मीटर चौडाईको उक्त भवनमा अण्डरग्राउण्ड पार्किङ् बनाउँदा शहरको अस्तब्यस्त पार्किङ् ब्यवस्थापन गर्न सकिने शाक्यको तर्क रहेको महानगर श्रोत बताउँछ ।
तर यो समयमा आएर निकालिएको उक्त तर्क अब्यवहारिक भएको शिक्षकहरुको तर्क छ ।

'पार्किङ् चाहिने नै थियो भने बेलामा भनेको भए भै हाल्थ्यो अन्तिममा आएर अड्चन थाप्नु भनेको विद्यालयको गरिमा र राष्ट्रको धरोहर नबुझ्न हो' विद्यालयका एक शिक्षक गुनासो गर्छन्, 'सबै प्रकृया सकेर अनुमति लिन फाईल पेश गर्दा पार्किङ् खोज्ने हो त ?'

कित्ता नम्बर २९२ को ९ रोपनी ३ आना १ पैसा १ दामको ४ हजार ६ सय ८३ दशमलब ९८५ वर्ग मीटर क्षेत्र मध्ये १ हजार ३ सय ९४ दशमलब ६४ वर्ग मीटरमा ५ तले भवन निर्माण गर्ने गरी चीन सरकारले नै नक्सा तयार गरिसकेको छ ।

तर, नक्सा निर्माणका सन्दर्भमा यतिका दिन सम्म भएका छलफलमा कुनै कुरा नगरी ईजाजत पत्र लिने प्रकृया शुरु हुनासाथ अत्तो थाप्दा विद्यालय नै मास्ने नियत त हैन ? भन्ने शंका लागेको विद्यालयका अर्का शिक्षकले गुनासो गरे ।

'भूकम्पले विद्यालय भवन भत्केको छ, बनाउने कुरा चलेको चार बर्ष भै सक्यो यतिका बर्ष टहरामा राखेर विद्यार्थी पढाईएको छ, तर अझै पनि भवन बनाउन अनेक अड्चन आउँदा त मनै मरि सक्यो' ती शिक्षकले गुनासो गरे, 'के कसरी बनाउने हो भन्ने कुरा माथिका मान्छेले जान्ने कुरा हो, देशकै धरोहरका रुपमा रहेको विद्यालय निर्माणमा अलमल हुनु राम्रो हैन ।'

आफैंले बनाउन पर्ने भवन विदेशीले बनाईदिन्छु भन्दा पनि अनेक अड्चन थापिरहँदा विदेशमा राम्रो छवि नजाने अर्का शिक्षक चिन्ता गर्छन् । हामीलाई त विद्यार्थी पठाउन नै गाह्रो भै सक्यो उनले भने, विद्यालय बन्ने भएपछि यही टहरा पनि हटाउनु पर्छ कता जाने हो कुनै टुङ्गो छैन ।

विक्रम सम्बत १९१० सालमा देशकै पहिलो विद्यालयका रुपमा दरवार हाईस्कुल खुलेको हो । कुनै बेला यहाँ पढ्न राणा अथवा राणाले ईच्छाएका ब्यक्ति नै हुनुपथ्र्यो, २००७ सालमा प्रजातन्त्र आए पछि दरवार हाई स्कुलमा जनताका छोरा छोरी पनि पढ्न पाएका हुन् ।

डेढ शताव्दि भन्दा धेरै ईतिहास बोकेकोे ऐतिहासिक विद्यालय भएर पनि दरवार हाईस्कुलको अवस्था दिनदिनै खस्कदैं गएको छ । अहिले विद्यालयमा जम्मा १३९ विद्यार्थी छन् ।

यी खबर पनि पढ्नुहोस् : अभियानले नछोएको देशकै पहिलो विद्यालय, विद्यार्थी संख्या १३९ !

बेहाल दरवार !

प्रतिक्रिया