Edukhabar
शुक्रबार, १४ बैशाख २०८१
खबर/फिचर

शिक्षक संगठनमा चुनावी रन्को, दलका गर्ने कि शिक्षकका कुरा !

सोमबार, ०७ जेठ २०७५

काठमाडौं - देशकोे पहिलो शिक्षक संगठन नेपाल राष्ट्रिय शिक्षक संगठनको नयाँ नेतृत्वका लागि शिक्षक नेताहरुले आन्तरिक 'लविङ्' तिव्र पारेका छन् ।  

आगामी १६ गते हुने संगठनको १२ औं राष्ट्रिय महाधिवेशनले अध्यक्ष सहित ३१ जनालाई निर्वाचित गर्ने छ । महाधिवेशनको दिन नजिकिदैं गर्दा अन्य पदहरुको तुलनामा अध्यक्षका प्रत्यासीहरुको दौड धुप शुरु भएको छ ।

अहिले सम्म संगठनका वरिष्ठ उपाध्यक्ष ज्ञावनशेर राई, उपाध्यक्ष तिलक कुँवर, महासचिव लक्ष्मण शर्मा र शिक्षक महासंघका निवर्तमान उपाध्यक्ष समेत रहेका मधु तिमिल्सिनाले अध्यक्षको दावि पेश गरेका छन् ।

यस अघि नेतृत्व हस्तान्तरण गर्ने बताउँदै आएका अध्यक्ष बाबुराम थापा पनि संगठनमा चुनावै हुने अवस्था आयो र आफ्ना नाममा सर्वसहमती बन्यो भने पछि नहट्ने 'मुड'मा देखिएको श्रोत बताउँछ ।

देशको संरचना परिवर्तन भएको अवस्थामा बदलिएको शिक्षकका मुद्धाहरु हल गर्ने नेतृत्व आवश्यक रहेको बताउँदै थापाले 'कुटनीतिक' जवाफ दिए ।

'संगठनमा कसको नेतृत्व हुने भन्ने कुरा आवश्यकताले निर्धारण गर्ने हो' उनले भने 'म त अहिले महाधिवेशनको आन्तरिक तयारीमा ब्यस्त छु, त्यही नेतृत्व तय गर्न त महाधिवेशन आयोजना हुँदै छ ।'

प्रत्यासीका रुपमा सार्वजनिक भएका ४ जना मध्ये राईले आफू वर्तमान कार्य समितिको वरिष्ठ उपाध्यक्ष भएकाले अध्यक्ष हुने आफ्नो पालो भएको तर्क गर्दै आएका छन् । यस अघि संगठनको उपाध्यक्ष र शिक्षक महासंघको निवर्तमान उपाध्यक्ष हुनुलाई आफ्नो अध्यक्षको योग्यता भन्दै तिमिल्सिनाले दावी गरेको श्रोतले बतायो । तर, संगठनका एक जना प्रभावशाली नेताका अनुसार अन्त्यमा कुवँर र शर्माको प्रतिस्पर्धा हुने छ ।

यी दुईको प्रतिस्पर्धामा दलका नेताहरुको प्रभाव हावी भयो भने कुवँरको पल्ला भारी हुने अनुमान गरिएको छ । किन भने उनी नेता भीम रावलका निकट मानिन्छन् । पार्टि एकिकरण हुँदा आफूलाई हेपिएको भन्दै रुष्ट बनेका रावललाई फकाउन उनका कार्यकर्तालाई सामसुम पार्नु पर्ने तर्क उठ्यो भने उनी अध्यक्ष बन्न सक्ने सम्भावना रहेको श्रोतको दावी छ ।

तर, अध्यक्ष थापाले समेत शर्माको पक्षमा नेकपाका नेताहरुसँग 'लविङ्' गरिरहेकोले शर्मा थप बलिया प्रतिस्पर्धि रहेको संगठनका एक जना नेताले दावी गरे ।  

दुवै प्रतिस्पर्धिले भने आफ्नो दावी स्वभाविक रहेको एडुखबरसँगको कुराकानीमा बताएका छन् ।

यस अघि शिक्षक महासंघको महासचिव भएर सरकारसँगका वार्ताहरुमा संलग्न हुँदै नीतिगत कार्यहरुमा समेत संलग्न भएको कुरालाई कुवँरले आफ्नो योग्यता बताएका छन् । त्यो भन्दा पनि उनको पार्टिगत संलग्नता  नै मुख्य प्रभाव भएको एक जना नेता बताउँछन् ।

'यस पटक विशेष परिस्थिती छ, दुई पार्टि एकिकरण भए पछि पार्टिले नै अध्यक्ष तोक्ने सम्भावना छ' कुवँरले भने, 'कृयाशिलताको आधारमा मात्रै हैन दुई पार्टिको एकतालाई शिक्षकहरुका कोणबाट संस्थागत गर्न मेरो नेतृत्व खाँचो छ ।'

कुवँर पार्टिको हार्डलाईनर मान्निछन् । शिक्षाका मुद्धा भन्दा ज्यादा दलगत राजनीतिमा रमाउने उनी निकटहरुको विश्लेषण छ ।

शर्माको चरित्र कुवँरको तुलनामा विल्कुल फरक छ । उनी पार्टिगत भन्दा ज्यादा पेशागत मुद्धामा आफूलाई सकृय राख्न रुचाउँछन् । प्रविधि र संगठन विस्तारमा उनको योग्यता रहेको उनी निकटहरु बताउँछन् ।

पार्टि एक हुनुसँग शिक्षकका पेशागत कुरा जोडिरहनु आवश्यक नहुने उनको तर्क छ ।  शिक्षक संगठनको स्थापना नै पेशागत मुद्धाबाट भएको बताउँदै उनी दुई पार्टिको एकताले शिक्षकका मुद्धा र संगठनका कृयाकिलापमा कुनै प्रभाव नपर्ने बताउँछन् ।

आफू संगठनको कुशल महासचिव भएको दावी गर्दै उनले अवको अध्यक्षमा आफ्नो कोही प्रतिष्पर्धि नभएको समेत दावी गरे ।

'जहाँ सम्म दुई पार्टि विचको एकता पछिको दुई संगठन मिलाउने भन्ने कुरा छ, यो कुनै नौलो कुरै हैन, २०६४ साल सम्म एउटै संगठनमा भएका साथीहरु अर्को संगठनका नाममा रहेका मात्रै हुन् उहाँहरु र हामी लामै समय देखि सहकार्य गर्दै आईरहेका हौं, केही समय छुटिएको जस्तो मात्रै हो' उनले भने 'एकता प्रकृया शुरु भएसँगै उहाँहरुको अधिवेशनले एकता नीति पास गरेको छ, हामी पनि हाम्रो महाधिवेशनबाट एउटा नीति तय गर्छौ । यो प्रकृया अघि बढ्दै जान्छ ।'

सारमा पञ्चायती शासनको दमन विरुद्ध भए पनि रुपमा पेशागत अधिकारका नाममा शिक्षकहरुले २०३५ सालमा नेपाल राष्ट्रिय शिक्षक संगठनको अवधारणा ल्याएका हुन् । २०३६ साल जेठ ४ गते हेटौंडाको भुटनदेवी माविमा भेला भएका २३ जिल्लाका ९९ जना शिक्षकले बद्री प्रसाद खतिवडाको नेतृत्वमा विधिवत रुपमा संगठनको सुरुवात गरेका थिए ।

उक्त दिनलाई नेपालको शिक्षामा राजनीतिको औपचारिक प्रवेश भएको रुपमा समेत विश्लेषण हुँदै आएको छ ।  

उक्त समयमा राजनीतिक दलहरु भूमिगत थिए । स्थापनाका बेला शिक्षकहरुमा कम्युनिष्ट–कांग्रेस भन्ने थिएन । राजनीतिक आस्था फरक भए पनि सबै शिक्षक संगठनमै आबद्ध थिए ।

२०४६ को राजनीतिक परिवर्तन सँगै गिरिजाप्रसाद कोइरालाको पहलमा कांग्रेस समर्थित शिक्षकरुको शिक्षक संघ खुल्यो । त्यस पछि त दलै पिच्छे शिक्षकका संगठन खुल्न थाले ।

पछिल्लो समय त्यस्ता शिक्षक संगठनका १६ घटक मिलेर नेपाल शिक्षक महासंघ बनाईएको छ । तै पनि शिक्षकहरुको राजनीतिक दल र तीनका कार्यक्रमहरुमा हुने संलग्नता घट्न सकेको छैन ।

त्यसैले शिक्षक संगठनले १२ औं महाधिवेशनका लागि तय गरेको नारा – गौरवपूर्ण विगत चुनौतीपूर्ण वर्तमान, गुणस्तरका लागि शैक्षिक शुसासनलाई पुरा गर्न नयाँ नेतृत्व अघिल्तिर चुनौतीको चाङ् छ ।

यसका लागि सबै भन्दा पहिला शिक्षकहरु भनेका राजनीतिक दलका 'भाट' हुन् भन्ने स्थापित मान्यतालाई चिर्दै शिक्षा सुधारमा सकृय हुनु पर्ने छ ।

प्रतिक्रिया