Edukhabar
शुक्रबार, ०७ बैशाख २०८१
खबर/फिचर

चर्केको भित्ताको आडमा उभिएर शिक्षा मन्त्रीले भने - आजबाट शुरु भयो !

सोमबार, ०७ जेठ २०७५

काठमाडौं - भुकम्पले भत्केको दरबार हाईस्कुलको पुनर्निर्माणको काम आजैबाट शुरु भएको शिक्षा मन्त्री गिरिराजमणि पोखरेलले घोषणा गरेका छन् । भुकम्पको तीन बर्ष सम्म पनि देशकै पहिलो विद्यालयको पुनर्निर्माणको काम शुरु हुन नसक्दा चौतर्फि आलोचना हुँदै आएको थियो ।

पछिल्लो पटक विद्यालयको नक्सा स्विकृत भएर अनुमति लिने प्रकृया शुरु भए पनि काठमाडौं महानगरपालिकाले अण्डरग्राउण्ड पार्किङ्को अत्तो थापेर अनुमति दिएको थिएन । विद्यालयले गएको बैशाख २४ गते ईजाजत पत्र प्राप्त गर्नका लागि आवश्यक कागजात महानगरमा पेश गरेको थियो । सोही अनुसार प्लिन्थ लेभल सम्मको निर्माणका लागि ईजाजत दिन पत्र तयार भईसके पछि मेयर विद्यासुन्दर शाक्यले हस्ताक्षर गर्न नमानेका कारण अलमल भएको थियो ।

पढ्नुहोस् : पार्किङ्को अत्तोले अल्झ्यो, दरबार हाईस्कुलको पुनर्निर्माण !

तीन दिन अघि उक्त खबर सार्वजनिक भए पछि परेको दवावका कारण महानगरपालिका आफ्नो अडानबाट पछि हटेको हो ।

ब्यस्त शहरका विचमा रहेको संरचनामा पार्किङ् बनाउँदा शहर ब्यवस्थित हुने मेयरको सकारात्मक सोचका कारण देखिएको अलमल हटेको मन्त्री पोखरेलले बताए । अन्तिम समयमा आएर नक्सा संशोधन गर्दा उपयुक्त हुँदैन भन्ने कुरा भए पछि महानगरपालिका यही नक्सा पास गर्ने निर्णयमा पुगेको उनको भनाई छ ।

'मेयरको ठाउँमा बसेर सोचौं त ! ब्यवस्थित शहर बनाउन के के आवश्यक पर्छ भन्ने कोणबाट उहाँले सकिन्छ भने पार्किङ् बनाउँ न त भन्ने धारणा राख्नु भएको रहेछ' विद्यालयका आयोजित कार्यक्रममा मन्त्री पोखरेलले भने, 'चीन सरकारको सहयोगमा बन्न लागेको भवनका लागि निर्माणमा संलग्न हुने जनशक्ति समेत आईसकेको अवस्थामा नयाँ सर्त राख्न नमिल्ने बारेमा छलफल भए पछि हामी यो निर्णयमा पुगेका हौं ।'

मेयर शाक्य कामका शिलशिलामा हेटौंडा गएकाले कार्यक्रममा उपस्थित हुन नसकेको मन्त्री पोखरेलले बताए ।  

कार्यक्रममा महानगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत यादव प्रसाद कोइरालाले एक हप्ता भित्रै निर्माण अनुमतिको काम सक्ने प्रतिवद्धता जनाए ।

'हामी चाँडै नै अनुमतिको प्रकृया सक्छौं' उनले भने 'यसका लागि आवश्यक प्रकृयागत काम १ दिनमै पनि सकिन सक्छ, नभए दुई दिन लाग्ला तर एक हप्ता धेरै लाग्दैन ।'

विद्यालय रहेको वडा नम्बर २७ का वडाध्यक्ष चिनियामान बज्राचार्यले ऐतिहासिक विद्यालयको पुनर्निर्माणमा आवश्यक सहयोग गर्न आफू तयार रहेको बताए ।

विद्यालयका प्रधानाध्यापक हेमचन्द्र महतोले विद्यालयलाई नमूना बनाउन आफूहरु कृयाशिल रहने प्रतिवद्धता जनाए ।

विक्रम सम्बत १९१० सालमा देशकै पहिलो विद्यालयका रुपमा दरवार हाईस्कुल खुलेको हो । कुनै बेला यहाँ पढ्न राणा अथवा राणाले ईच्छाएका ब्यक्ति नै हुनुपथ्र्यो, २००७ सालमा प्रजातन्त्र आए पछि दरवार हाई स्कुलमा जनताका छोरा छोरी पनि पढ्न पाएका हुन् ।

डेढ शताव्दि भन्दा धेरै ईतिहास बोकेको ऐतिहासिक विद्यालय भएर पनि दरवार हाईस्कुलको अवस्था दिनदिनै खस्कदैं गएको छ । अहिले विद्यालयमा जम्मा १३९ विद्यार्थी छन् ।

यो पनि पढ्नुहोस् : अभियानले नछोएको देशकै पहिलो विद्यालय, विद्यार्थी संख्या १३९ !

बेहाल दरवार !

प्रतिक्रिया