Edukhabar
विहीबार, १३ बैशाख २०८१
खबर/फिचर

शिक्षक कर्मचारीको सेवा अवधि लुकाउन खोजेको आरोप, कारवाही भोग्न तयार छु अरुलाई पनि होस् !

बुधबार, ०९ जेठ २०७५

काठमाडौं - शिक्षा मन्त्रालयका उपसचिव माथि भएको कुटपिटमा संलग्नताको आरोप लागेका अधिवक्ता कोषराज काफ्लेले देशभरका शिक्षक कर्मचारीको सेवा अवधि लुकाउने प्रपञ्च शुरु भएको आरोप लगाएका छन् ।

यसका लागि त्रिभुवन विश्वविद्यालयले आफूलाई प्रयोग गरेको उनको दावी छ । त्रिविले आफ्नो नियुक्तिको मितिमा ५ बर्ष लुकाएको भन्दै उनले उक्त सेवा अवधि गणना नहुने हो भने देशभरका आँशिक र करार पार गरेर आएका हजारौं शिक्षक कर्मचारीको अधिकार कुण्ठित हुने भन्दै आपत्ति समेत जनाएका छन् ।

त्रिभुवन विश्वविद्यालय अन्र्तगत वीरेन्द्र बहुमुखी क्याम्पस भरतपुर चितवनमा भौतिक शास्त्रका उपप्राध्यापक काफ्ले वेतलवी विदामा बसे पनि गत पुस १ गते देखि हाजिर हुनु पर्ने थियो । तर विना स्विकृती ५ महिना सम्म क्याम्पसमा अनुपस्थित भए पछि विश्वविद्यालयले विभागीय कारवाहीको प्रकृया शुरु गरेको खबर एडुखबरले सार्वजनिक गरेको थियो ।  

पढ्नुहोस् : पढाउन छाडेर अड्डा–अदालत, शिक्षक, कर्मचारीका वकिललाई नै कारवाही !

विद्यालय कर्मचारीको विषयमा छलफल हुँदै गर्दा गत बैशाख २८ गते मन्त्रालयका उपसचिव विदुरराज गिरीमाथि कार्यकक्षमै भएको कुटपीटमा काफ्ले संलग्न भएको आरोप छ । शिक्षा मन्त्रालयमै पुगेर कर्मचारी माथि हातपात गर्ने आक्रमणकारी मध्ये एक गोविन्द बहादुर पौडेललाई प्रहरीले पक्रेको छ । काफ्लेलाई पनि मन्त्रालयले उक्त घटनाको मतियार भनेर अनामनगर प्रहरीमा जाहेरी दर्ता गराएको छ ।

आफ्ना कर्मचारी माथिको कुटपिटमा संलग्न ब्यक्तिका बारेमा शिक्षा मन्त्रालयले सोधखोज गरे पछि त्रिविले विवरण उपलब्ध गराएको थियो । तर उक्त विवरण झुठा भएको काफ्लेको दावी छ । विश्वविद्यालयले आफ्नो २०५१ मंसिर २७ गतेको शुरु नियुक्ति (हेर्नुहोस् फोटो) लाई लुकाएर २०५५ कात्तिक २२ गते देखि शिक्षण सहायकको करार पदमा नियुक्त भएको विवरण उपलब्ध गराउनुको पछाडी आँशिक, करार र अस्थायी शिक्षक समान हुन् भन्ने मान्यता विपरितको नजिर बनाउन खोजिएको उनको तर्क छ ।

'यही मान्यता स्थापित गर्न नेपाल भरीका आँशिक शिक्षकको रोजगारी र श्रमको हकमा मुद्धा लडेँ यसबारेमा सम्मानित अदालतबाट पटक पटक आदेश भएको छ' उनले भने 'अहिले आएर त्रिविले नियुक्ति मितिमा गोलमाल गरेको छ ।'

विश्वविद्यालयमा पढाउने शिक्षकहरुको श्रमको मूल्याँकन गर्न र  विश्वविद्यालयका शिक्षकहरु निजी कलेजमा पढाउन गएर विश्वविद्यालय ध्वस्त बनाएकोले रोकी पाउँ भन्दै आफूले हालेको दोहोरो मुद्धाको प्रतिशोध लिन अहिले विश्वविद्यालयले यो प्रपञ्च गरेको उनको आरोप छ ।

त्रिविका उपकुलपति तिर्थ खनिया नेपाली काँग्रेसको महासमिति सदस्य भए पछि आफूले हालेको मुद्धाले पनि अहिले आफूलाई कारवाहीको प्रपञ्च रचिएको हुन सक्ने उनले अनुमान गरेका छन् ।

विश्वविद्यालाई जे गर्दा पनि सुधार गर्न नसके पछि आफूले यसपटक 'जानी जानी' विदाको निवेदन नदिएको उनले बताए ।  

'मैले अन्त काम गर्न स्विकृती लिएको छैन वा विदा स्विकृत गरेको छैन त्यसो हो भने मलाई सँगै तिर्थ खनियालाई पनि कारवाही हुनु पर्छ' उनले भने 'विश्वविद्यालयका कुनै पनि शिक्षकले अरु ठाउँमा गएर पढाउन पाउँदैन भन्ने कुरा यस अघिनै फैसला भएको छ, खनिया त काँग्रेसको महासमिति सदस्य समेत भए उनलाई कारवाही नहुने मलाई मात्रै हुने पनि हुन्छ ?  म कारवाही भोग्न तयार छु तर उनलाई पनि कारवाही होस् ।'

यो घटना आफ्नो ब्यक्तिगत मात्रै नभएर नेपाल भरका आँशिक शिक्षकको अधिकारका लागि लडेको कुराको प्रतिशोधका रुपमा हेरेको उनले बताए ।  

'उक्त करार अवधि नजोडिदिए पछि त नेपाल भरका आँशिक शिक्षकको कटौती गर्न पाईयो' उनले भने 'मैले पाउने सेवा सुविधा त पुरा अवधिको हुन्छ । तर अहिले मेरो त्यो ५ बर्ष लुकाउन पाईयो भने र हजारौं शिक्षक कर्मचारीको लुकाउन सकिन्छ उनीहरुको ध्यान त्यता गएको हो ।'

प्रतिक्रिया