Edukhabar
शुक्रबार, १४ बैशाख २०८१
अन्तैवाट

विद्यालयका शिक्षक प्रति प्रधानमन्त्रीको कडा अभिब्यक्ति, कक्षामा अनिवार्य पुग्नैपर्ने

विहीबार, १० जेठ २०७५

काठमाडौं १० जेठ / प्रधानमन्त्री केपी ओलीले विद्यालयको पढाइको गुणस्तरका आधारमा बजेट व्यवस्था गर्ने बताएका छन् । उनले शिक्षा क्षेत्रमा हुने सबै राजनीतीकरण अन्त्य गर्ने भन्दै सामुदायिक विद्यालयका शिक्षकले विद्यालय समयमा राजनीति छाडेर अनिवार्य कक्षामा पुग्नैपर्ने व्यवस्था गरिने पनि बताए ।

‘गुणस्तरीय शिक्षा दिएकै हुनुपर्छ । मेरो त संगठनको मिटिङ छ भनेर कक्षा छाड्न पाइँदैन,’ उनले कान्तिपुरसँगको विशेष कुराकानीमा बुधबार भने, ‘विद्यालयको समय अघिपछि शिक्षकले घरमा टमाटर फलाउँछ भने केही फरक पर्दैन ।’

अब विद्यालयदेखि विश्वविद्यालयसम्मै राजनीतीकरण समाप्त हुने पनि उनले बताए । ‘अब जनकरण, विकासकरण र अग्रमुखीकरण मात्रै हुन्छ,’ उनले भने । प्रधानमन्त्री ओलीले शिक्षामा सुधार गर्न आधारभूत कुरा बजेट भएकाले आवश्यक पर्ने रकम छुट्याइने जानकारी दिए ।

‘एकैचोटि बजेटको सिलिङ र रकम बढाएर गुणस्तर बढ्ने होइन । गुणस्तर बढ्ने गरी मात्रै रकम बढाउँछौं,’ उनले भने, ‘सिकाइ शून्य हुने विद्यालयका शिक्षकको तलब दोब्बर गर्दा के पढाइको गुणस्तर राम्रो हुन्छ ?’ बजेटको आकार बढाउनेभन्दा पनि समस्या के छ र समाधान के हुन सक्छ, त्यो पहिल्याएर समाधान गर्न आवश्यक पर्ने खर्चको प्रबन्ध सरकारले गर्ने प्रधानमन्त्री ओलीले बताए ।

सरकारले बेरोजगार उत्पादन गर्नेभन्दा पनि सीपमूलक शिक्षामा लगानी गर्ने उनले बताए । प्रमाणपत्र पीडाको विषय नबनोस् भन्नेमा सरकार सजक रहेको ओलीले बताए । ‘पढेको छ मास्टर्स, जागिर पाइँदैन । जागिर खोज्न हिँड्दाहिँड्दा कति जोर जुत्ता फाट्छ,’ उनले भने ।

निजी विद्यालयले शिक्षामा गुणस्तर दिए पनि जथाभावी शुल्क लिने गरी छाडा नछाड्ने प्रधानमन्त्री बताए । ‘निजी क्षेत्रलाई छाडा छाड्नु हुँदैन । गुणस्तरीय शिक्षा दिन्छु भन्ने नाउँमा टाई झुन्ड्याइदिएपछि जति पनि शुल्क लिन पाइन्छ भन्ने हँुदैन,’ उनले भने, ‘त्यसलाई नियन्त्रण गर्नुपर्दछ ।’ सामुदायिक विद्यालयको गुणस्तर सुधार नभएसम्म सामुदायिक र निजीको खाडल यथावत् रहने पनि उनले बताए ।

कान्तिपुरका पत्रकार मकर श्रेष्ठ र दुर्गा खनालले लिएको प्रधानमन्त्रीको उक्त अन्र्तवार्ता नेपाललाई गुणस्तरीय शिक्षाको हब बनाउँछौं शिर्षकमा छापिएको छ ।

प्रतिक्रिया