Edukhabar
विहीबार, १५ चैत्र २०८०
खबर/फिचर

विश्वविद्यालयका काठमाडौं स्थित सम्पर्क कार्यालय खारेज

विहीबार, १० जेठ २०७५

काठमाडौं - उपत्यका बाहिर केन्द्रीय कार्यालय रहेका विश्वविद्यालयहरुकोे काठमाडौं स्थित सम्पर्क कार्यालय खारेज गरिएको छ । त्यस्ता कार्यालयहरुको उपादेयता नभएको ठहर सहित शिक्षा मन्त्री गिरिराजमणि पोखरेलले बिहीबार सम्बन्धित विश्वविद्यालयका सम्पर्क कार्यालय खारेज गर्ने निर्णय गरेका हुन् ।

सम्पर्क कार्यालय भएकै बहानामा सम्बन्धित विश्वविद्यालयका पदाधिकारीहरु काठमाडौंमै बस्ने गर्दा विश्वविद्यालयका शैक्षिक गतिविधिमा नकारात्मक प्रभाव परेको भन्दै आलोचना हुँदै आएको थियो । यसले गर्दा सरकारलाई अनावश्यक आर्थिक भार बढेको र त्यस्ता कार्यालयहरुले शैक्षिक गतिविधिमा कुनै सकारात्मक प्रभाव नपारेको निष्कर्ष पछि उक्त निर्णय भएको शिक्षा मन्त्रालयका निमित्त सचिव सूर्य प्रसाद गौतमले जानकारी दिए ।

'विश्वविद्यालयहरुका त्यस्ता कार्यालयको खास अर्थ देखिएन, उल्टै सरकारलाई आर्थिक दायित्व बढाउने काम मात्रै भएकोले यो निर्णय गरिएको हो' मन्त्रालय अन्र्तगत उच्च तथा प्राविधिक शिक्षा महाशाखाका प्रमुख समेत रहेका गौतमले भने, 'ऐनले पनि विश्वविद्यालयका सम्पर्क कार्यालयको परिकल्पना गरेको छैन, विश्वविद्यालयको सम्बन्धित स्थान तोकिएकोले तिनीहरुका कार्यालय पनि तोकिएको ठाउँमै रहने ब्यवस्था छ ।'

आर्थिक मितव्ययिता र कर्मचारी व्यवस्थापनमा सहज गर्नका लागी सम्पर्क कार्यालय खारेजी गरिएको मन्त्रीलाई उदृत गर्दै मन्त्रीका निजि सचिव पुष्प ढकालले जानकारी दिए ।

प्रतिक्रिया