Edukhabar
शुक्रबार, १६ चैत्र २०८०
अन्तैवाट

मेडिकल स्नातक प्रवेश परीक्षा आयोगले लिने

शनिबार, १२ जेठ २०७५

काठमाडौं १२ जेठ / चिकित्साशास्त्रतर्फ स्नातक तहका लागि एकीकृत प्रवेश परीक्षा पद्धति लागू हुने भएको छ। चिकित्साशास्त्र अध्ययन हुने विभिन्न शैक्षिक निकायमा फरकफरक मापदण्ड र क्यालेन्डरका आधारमा प्रवेश परीक्षा सञ्चालन हुँदै आएकाले मेडिकल शिक्षा व्यवस्थापनमै चुनौती थपिएको औंल्याउँदै शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालयले एकीकृत प्रवेश परीक्षा सञ्चालन गर्ने तयारी गरेको हो।

अहिले त्रिभुवन विश्वविद्यालय, काठमाडौं विश्वविद्यालय, बिपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान र पाटन स्वास्थ्य विज्ञान प्रतिष्ठानले छुट्टाछुट्टै प्रवेश परीक्षा लिने गरेका छन्। शैक्षिक संस्थाहरूले एउटै शैक्षिक सत्रमा फरक समयमा परीक्षा लिँदा विद्यार्थीले मेडिकल स्नातक तह अध्धयनका लागि चारपटकसम्म अवसर पाउने गरेका छन्।

अगामी शैक्षिक सत्रदेखि नै कार्यान्वयन हुने गरी मन्त्रालयले एकीकृत प्रवेश परीक्षाको व्यवस्था गर्ने तयारी गरेको शिक्षा, विज्ञान तथा प्रविधि मन्त्री गिरिराजमणि पोखरेलका निजी सचिव पुष्प ढकालले जनाए। उनका अनुसार मन्त्री पोखरलेले चारवटै शैक्षिक निकायका उपुकलपति र डिनसँग छलफल गरी एकीकृत प्रवेश परीक्षा व्यवस्था लागू गर्ने टुंगोमा पुगेका हुन्।

‘चिकित्सा शिक्षा अध्यादेशमार्फत सरकारले प्रधानमन्त्रीज्यूको अध्यक्षतामा राष्ट्रिय चिकित्सा शिक्षा अयोग गठन गरिसकेको छ,’ ढकालले भने, ‘आयोगले मेडिकल प्रवेश परीक्षा एकद्वार पद्धतिबाट सञ्चालन र नतिजा प्रकाशन गर्ने गृहकार्य सुरु गरिसकेको छ।’ उनका अनुसार अबउपरान्त आयोगको नेतृत्वमा एकै समयमा मेडिकल प्रवेश परीक्षा सञ्चालन हुनेछ ।’ आयोगले लिने परीक्षा उतीर्ण गर्ने विद्यार्थी मेरिट सूचीका आधारमा विभिन्न शैक्षिक संस्थामा पठनपाठन गर्नेछन्।

चिकित्साशास्त्र अध्ययनअध्यापन हुने देशभरिका चारवटै शैक्षिक निकाय र तिनका सम्बन्धनप्राप्त कलेजमा बर्र्सेनी दुई हजार विद्यार्थी स्नातक तहमा प्रवेश पाउँछन्। कक्षा १२ को नतिजाअगावै र जथाभावी मापदण्ड तोकी परीक्षा लिने मेडिकल शिक्षा सञ्चालन गर्ने संस्थाको प्रवृत्तिका कारण विद्यार्थीले हैरानी खेप्नु परेकाले एकीकृत परिक्षा प्रणालीको व्यवस्था गर्न सरकारी तयारी अघि बढेको ढकालले दाबी गरे। ‘फरक समयमा एउटै तहका लागि विद्यार्थीले चारपटकसम्म परीक्षा दिनाले मेडिकल शिक्षाको गुणस्तर कायम हुँदैन,’ उनले भने, ‘एकैपटक परीक्षा सञ्चालन गर्दा सक्षम छात्रले अध्ययनको अवसर पाउनेछन ।’

काठमाडौं विश्वविद्यालयको स्कुल अफ मेडिसिनका डिन राजेन्द्रप्रसाद कोजुले मेडिकल प्रवेश परीक्षामा एकीकृत प्रणाली कार्यान्वयनका कारण शिक्षा व्यवस्थापन सहज भए पनि विद्यार्थीलाई अप्ठ्यारो हुने दाबी गरे। उनले एकीकृत प्रवेश परीक्षा लागू गर्नुअघि सरकारले चारवटै मेडिकल शैक्षिक निकायका शैक्षिक क्यालेन्डरमा एकरूपता ल्याउनुपर्ने सुझाए। चारवटै शैक्षिक निकाय आफ्ना शैक्षिक क्यालेन्डरबाट सञ्चालित छन्। कोजुले आयोगबाट लिइने परीक्षाको नतिजा प्रकाशनपछि मेरिट लिस्टका आधारमा कुन शैक्षिक निकायले कत्ति निःशुल्क र कत्ति सशुल्क पढाउने स्पस्ट नीति बनाइए राम्रो हुने बताए।

नागरिकमा रूबी रौनियारले लेखेकी छन् ।

प्रतिक्रिया