Edukhabar
शनिबार, ०८ बैशाख २०८१
विदेशमा शिक्षा

संसारको पुरानो विश्वविद्यालय : जुन महिलाले स्थापना गरेकी थिईन्

शनिबार, १२ जेठ २०७५

काठमाडौं - संसारको सबैभन्दा पुरानो विश्वविद्यालय युरोप, चीन या यस्तै कुनै विकसित देशमा हुनुपर्छ र त्यो कुनै पुरुषले स्थापना गरेको होला भन्ने सोच्दै हुनुहुन्छ भने तपाईँ पूर्णतः गलत हुनुहुन्छ ।  

हालसम्म अस्तित्वमा रहेको सबैभन्दा पुरानो विश्वविद्यालय ‘अल–क्वरेविइन’ हो जुन अहिलेको मरक्कोमा अवस्थित छ । यो विश्वविद्यालय ट्युनिसियाकी फतिमा अल फिहिरीले सन् ८५९ मा स्थापना गरेकी थिइन् ।    
यूनेस्को र गिनिज् वर्ल्ड रेकर्ड्सले ‘अलक्वरेविइन’लाई निरन्तर सञ्चालमा रहेको सबैभन्दा  पुरानो तथा शैक्षिक उपाधि प्रदान गर्ने विश्वको पहिलो विश्वविद्यालयको रुपमा सुचिकृत गरेको छ ।  

यो विश्वविद्यालय मरक्कोको फेइज शहरमा छ । फेइज त्यही शहर हो जुन कुनै समय अध्यात्मिक र शैक्षिक केन्द्रको रुपमा चिनिन्थ्यो ।

लगभग १२ सय वर्ष अघि अल फिहिरी आफ्नो परिवारका साथ तत्कालिन कराव्येन (हालको ट्युनिसिया) बाट मरक्कोको फेइजमा बसाई सरेकी थिइन् । फतिमालाई इस्लामिक धर्म–संस्कृति, शिक्षा तथा वास्तुकलामा अत्यधिक लगाव थियो । तत्कालीन समयका सफल व्यापारी आफ्ना पिता महम्मद अल फिहिरीको अल्पायुमा मृत्यु भए पछि आफ्नो सम्पत्ति मदरशा सहितको मस्जित बनाउन खर्चने निर्णय गरिन् ताकी त्यहाँका मानिसहरूले आफ्नो धर्म–संस्कृतिप्रतिको विश्वासलाई कायम राख्दै अध्यात्मिक ज्ञान हासिल गरून् ।

उक्त मस्जिदमा २२ हजार उपासकहरूले एकै साथ उपासना गर्न सक्छन् जुन क्षेत्रका हिसाबले अफ्रिकाको सबैभन्दा ठूलो हो । सुरुमा धार्मिक शिक्षा दिन तथा कुरान स्मरण गराउन खुलाइएको यस मदरशा पछि गएर अरबी व्याकरण, धर्मशास्त्र, औषधि, संगीत, कानुन, खगोलशास्त्र तथा गैर मुस्लिम विषयहरू फ्रेन्च, इङलिस् आदि पढाउन विस्तार भयो ।

सन १९४७ मा यस मदरशाले आफूलाई राज्य शिक्षा प्रणालीमा दर्ता गरायो भने त्यसको दश वर्ष नबित्दै आफूले अध्यापन गराउने विषयहरूमा रसायन विज्ञान, भौतिकी र विदेशी भाषाहरू पनि थप्यो ।
समय बित्दै जाँदा यस मदरशाले विश्वको प्रमुख धार्मिक तथा शैक्षिक केन्द्रको रुपमा आफूलाई स्थापित गराइसकेको थियो । सन १९६३ मा मरक्कोले यस मदरशालाई स्टेट युनुभर्सि्टिको रुपमा सम्बन्धन प्रदान गरेर अनुदान दिन सुरु गरेपछि यसले आफ्नो नाम पायो ‘अल–क्वरेविइन’ ।

जब मदरशा ‘अल–क्वरेविइन’नामबाट चिनिन थाल्यो तब यस प्रति उच्च सक्षमता भएका शिक्षकहरू आकर्षित भए । मरक्को र पश्चिमी अफ्रिका वरिपरिका मात्रै नभइ मुस्लिम समुदायको केन्द्र मानिएको एसियाका विध्यार्थीहरूले पनि अध्ययनका लागि आवेदन दिन थालेपछि ‘अल–क्वरेविइन’ले विध्यार्थी छनौट प्रकृयामा केही शर्तहरूलाई अनिवार्य बनायो । जस्तो कि आवेदन दिने विध्यार्थीमा पूरै कुरान कण्ठस्त हुनुपर्छ ।     

‘अल–क्वरेविइन’ले अध्यापनको शैली परम्परागत नै अङ्गाली राखेको छ । यसमा अध्ययन गर्ने विध्यार्थी प्रायजसो १३ देखि ३० वर्षका हुन्छन् । अध्ययन अध्यापन कार्यका लागि विध्यार्थी शेइख अर्थात गुरुको अघिल्तिर अर्धगोलाकार आकृतिमा मिलेर बस्छन् । अनि सुरुहुन्छ – सम्बन्धित विषयवस्तु माथि प्रश्न उत्तर, बहस, विमर्श आदि ।

‘अल–क्वरेविइन’ विश्वविध्यालयको पुस्तकालय पनि विश्वको सबैभन्दा पुरानो मानिन्छ । यस पुस्तकालयमा ४ हजार भन्दा बढी पाण्डुलिपीहरू छन् । अधिकांश पाण्डुलिपी ९ औँ शताब्दी भन्दा अघिका मानिन्छन् ।   
‘अल–क्वरेविइन’ विश्वविध्यालयले इस्लामिक समुदाय र युरोपिएन समुदाय बिच शैक्षणिक सम्बन्ध स्थापित गर्न तथा धार्मिक तथा सांस्कृतिक आदनप्रदानमा अहम् भूमिका खेलेको विश्वास गरिन्छ ।

मुस्लिम महिलाले स्थापना गरेको विश्वविध्यालयमा महिलालाई नै अध्ययन अनुमति छैन जस्ता हल्लाहरू चल्ने पनि नगरेका होइनन् । ‘अल–क्वरेविइन’को साइटले पुरुष र महिला दुवै विध्यार्थी हुन सक्ने जनाएको छ ।   
त्यसो त मदरशालाई पहिलो विश्वविध्यालय मान्ने या नमान्ने भन्ने बहस कायम नै छ । युरोपियनहरूले पहिलो विश्वविद्यालय भनेर सन १०८८ मा खुलेको बलोनिया विश्वविध्यालयलाई दावि गर्छन् । स्थापनाताका ‘अल–क्वरेविइन’ र ‘बलोनिया’ दुबैको प्रकृति धार्मिक देखिन्छ । यी भन्दा पहिले नै ग्रिक तथा अन्य सभ्यतामा अध्ययन अध्यापन हुने हरेको इतिहासमा प्रस्टै छ । तथापि, हालसम्म अस्तित्वमा रहेको सबैभन्दा पुरानो विश्वविध्यालय ‘अल–क्वरेविइन’ हो भन्न सकिने आधार प्रसस्तै छन् ।   

अनुवाद : राम अविकास

श्रोत : https://face2faceafrica.com/article/the-oldest-university-is-in-africa-and-was-founded-by-a-woman

प्रतिक्रिया