Edukhabar
शुक्रबार, ०७ बैशाख २०८१
अन्तैवाट

कक्षा ११ र १२ बाट सके नेपाली विषय नै हटाउने नभए पूर्णाङ्क घटाउने खेल !

आइतबार, १३ जेठ २०७५

काठमाडौं १३ जेठ / नेपाली भाषा र साहित्यप्रेमीहरूले नेपाली भाषामाथि अतिक्रमणको क्रम बढेकोमा चिन्ता व्यक्त गर्नुभएको छ । केही वर्ष पहिला नेपाली वर्ण विन्यासलाई बिगार्ने काम भयो र अहिले कक्षा ११ र १२ बाट सके नेपाली विषय नै हटाउने नभए पूर्णाङ्क घटाउने खेल भइरहेको आरोप पनि उहाँहरूको छ ।

त्रिभुवन विश्वविद्यालय मानविकी तथा शिक्षाशास्त्र सङ्कायमा कार्यरत प्राध्यापकहरू, विद्यार्थीदेखि नेपाली भाषालाई माया गर्ने उच्च ओहोदाका व्यक्तित्वहरूले समेत यस विषयलाई चासोपूर्ण रूपमा लिएको पाइएको छ ।

हालै मात्र एक साहित्यिक कार्यक्रममा उपराष्ट्रपति नन्नबहादुर पुनले ‘पाठ्यक्रमबाट नेपाली भाषालाई हटाउने चर्चा सुन्दैछु, त्यो कार्य ठीक होइन’ भन्दै नेपाली भाषामै स्नातक तहदेखि विद्यावारिधिसम्म गर्नु पाउनुपर्छ, त्यस आधारमा भाषाको विकास गरिनुपर्छ’ भन्नुभयो ।

मानक नेपाली भाषा अभियान अन्तर्राष्ट्रिय सञ्जालका अध्यक्ष प्रा.डा. खगेन्द्रप्रसाद लुइटेलले पहिला हामी ‘भाषा बचाउ अभियान’ मा लागेका थियौँ अहिले ‘नेपाली विषय बचाउ’मा लागेको बताउनुभयो । उहाँले अङ्ग्रेजी विषय पढाउनेप्रति हाम्रो आपत्ति छैन तर नेपाली विषय नै नराख्ने र राखे पनि पाठ्यभार कम गर्ने खेल भइरहेकोमा आपत्ति छ भन्नुभयो ।

देशभरका नेपाली विषयका प्राध्यापक र नेपाली भाषामा उच्च शिक्षा अध्ययन गर्दै गरेका विद्यार्थीहरूले कक्षा १ देखि १० सम्म नेपाली विषय अनिवार्य रहेको र कक्षा ११ र १२ पनि विद्यालय तहमै रहेकाले नेपाली भाषालाई दुवै कक्षामा सय–सय पूर्णाङ्क राखिनुपर्ने माग गर्दै आउनुभएको छ ।

उहाँहरूले कक्षा ११ र १२ मा नेपाली विषयको पाठ्यभार (क्रेडिट आवर) घटाउन नहुने भन्दै क्याम्पस–क्याम्पसमा ‘नेपाली भाषा र विषय बचाऔँँ’ अभियान सुरु गर्नुभएको छ । भैरहवा बहुमुखी क्याम्पस नेपाली विभागका प्रा. डा. कपिलदेव लामिछानेको संयोजकत्वमा अभियान सञ्चालन गरिएको छ भने काठमाडौंमा ताहचल, पशुपति क्याक्पस, एन.आर. कलेजलगायतका कलेजले नेपाली विषय बचाउ अभियान सञ्चालन गरेका छन् ।

नेपाली विषय प्राध्यापन गर्दै आउनु भएका डा. वासुदेव काफ्लेले नेपाली राष्ट्रियता, मौलिकता र स्वाभिमानको आधारशीला दह्रो बनाइनुपर्छ र त्यसका लागि नेपाली विषयलाई हटाएर वा पाठ्यभार घटाएर समाधान खोजिनु हुन्न भन्नुभयो ।

पाठ्यक्रम विकास केन्द्र सानो ठिमीका कार्यकारी निर्देशक कृष्णप्रसाद काप्रीले तल्लो कक्षामा नेपाली विषय बढी छ, माथिल्लो कक्षामा अंग्रेजी विषय बढी होस् भन्ने धारणा आएको बताउनुभयो ।

उहाँले कक्षा ११ र १२ मा विगतको भन्दा नेपाली विषयलाई बढी प्रयोजनमूलक र व्यावहारिक बनाउने प्रयास भइरहेको जानकारी दिनुभयो । कक्षा ११ र १२ मा अङ्ग्रेजी २०० पूर्णाङ्क छ भने नेपाली भाषाको पूर्णाङ्क १०० कायम छ ।

हाल नेपाली विषयको पाठ्यक्रम परिवर्तन गर्ने प्रयोजनका लागि सुझावहरू माग गरिएको र नेपाली विषयका गुरुहरू र पढ्ने विद्यार्थीहरूले कक्षा ११ र १२ मा पनि नेपाली विषयलाई राम्रो स्थान दिनुपर्ने सुझाव आएको जानकारी कार्यकारी निर्देशक काप्रीले दिनुभयो ।

आएका सुझावहरूका बारेमा छलफल गरी ठोस निर्णयमा पुग्नै बाँकी रहेको र केही दिनभित्रै शिक्षा मन्त्री गिरिराजमणि पोखरेलको अध्यक्षतामा बैठक बसेर आवश्यक निर्णय हुने जानकारी पनि कार्यकारी निर्देशक काप्रीले दिनुभयो ।

नेपाली भाषामाथि अतिक्रमण शिर्षकमा गोरखापत्रमा प्रकाशित

प्रतिक्रिया