Edukhabar
शुक्रबार, ०७ बैशाख २०८१
अन्तैवाट

नपढाएरै तलब ! कोर्स नसकेरै परीक्षामा !

आइतबार, १३ जेठ २०७५

काठमाडौं १३ जेठ / मुगुको मुगमकार्मारोङ गाउँपालिकाका २६ सामुदायिक विद्यालय अहिले सुनसान छन् । बालबालिका यार्चा टिप्न पाटनतिर लागे । पढाउन नपर्ने भएपछि शिक्षकलाई पनि हाइसन्चो छ ।
उनीहरू यार्चा सिजनको दुई महिना नपढाएरै तलब थाप्छन् । यसको असरले विद्यार्थीहरू ‘कोर्स’ नसकीकनै परीक्षामा बस्न बाध्य हुन्छन् ।

आधारभूत विद्यालय रोवाका प्रधानाध्यापक चन्द्रप्रकाश बडुवालका अनुसार यस क्षेत्रका करिब पाँच सय विद्यार्थी पाटनतिर गएका छन् । ‘हामीले यसअघि पटक–पटक बालबालिकालाई पाटन नलैजान अभिभावकलाई आग्रह गर्‍यौं तर कसैले मानेनन्,’ उनले भने, ‘यसले गर्दा बर्सेनि बालबालिकाको शिक्षामा असर पर्ने गरेको छ ।’

यार्चा यात्राका कारण विद्यालय सुनसान भएपछि डोल्पाका शिक्षक पनि घाम तापेर घर फर्किन्छन् । यार्चा सिजन सुरु हुनु केहीअघि गरिएको विद्यालय अनुगमनमा करिब ९५ प्रतिशत अनुपस्थित भेटिएका थिए । शिक्षा विकास तथा समन्वय इकाईका प्रमुख डोलराज काफ्लेका अनुसार विद्यार्थी पाटन गएपछि धेरैजसो शिक्षक विद्यालय खोलेर एक/डेढ घण्टा घाम ताप्ने र फर्कने गरेका छन् । शुक्रबार दुनैस्थित सरस्वती माध्यमिक विद्यालयमा ६ शिक्षक कार्यालयअगाडि घाम तापेर बसेका भेटिए । प्रधानाध्यापक सत्यनारायण सिंहले ‘यार्चा संकलनको समयमा पढाउँछौं, कोही पनि विद्यार्थी पाटन नजानू’ भनिए पनि विद्यार्थीले अटेर गरेको बताए । उपल्लो दुनैको ध्रुवतारा आधारभूत विद्यालयमा शुक्रबार पाँचजना मात्र विद्यार्थी आएको शिक्षक लक्ष्मण कार्कीले बताए । विद्यालयमा ५७ विद्यार्थी अध्ययनरत छन् ।

नपढाएरै तलब

मुगमकार्मारोङ गाउँपालिकाका सामुदायिक विद्यालयमा कार्यरत शिक्षकले अधिकांश समय नपढाएरै तलब लिने गरेका छन् । जेठमा यार्चा सिजन, जाडोमा तीन महिना बिदा र दसैं/तिहारमा डेढ महिना बिदा हुने गरेकाले शिक्षकले करिब ६ महिना नपढाएरै तलब बुझ्छन् । स्थानीयले यार्चाका कारण खेर जाने समयलाई अन्य बिदा छोट्याएर सदुपयोग गर्न माग गरेका छन् । गाउँपालिका अध्यक्ष छिरिङक्याप्ने लामाले यार्चाको कारण विद्यालय बन्द हुने विडम्बना अन्त्य गर्न पहल भइरहेको बताए । उक्त गाउँपालिकामा १५ विद्यालय छन् ।

कोर्स नसकेरै परीक्षामा

यार्चाका कारण विद्यालय बन्द हुँदा शिक्षकले नपढाए पनि तलब खान्छन्, अर्कोतिर विद्यार्थी नपढेरै परीक्षामा बस्न बाध्य हुन्छन् । हिउँदे बिदा, पर्व बिदा र यार्चाको कारण विद्यालय बन्द हुँदा झन्डै ६ महिना पढाइ हुँदैन । यसको असर कोर्समा पर्छ । विद्यार्थी आधा कोर्स पढेर परीक्षामा सहभागी हुन्छन् ।मुगुगाउँका छिरिङतोर्चे लामा यस्तै अवस्थाले विद्यार्थीको शैक्षिक अवस्था दयनीय रहेको बताउँछन् ।

‘अधुरो पढाइकै कारण ५ कक्षामा अध्ययनरत विद्यार्थीले राम्ररी शब्द उच्चारण गर्न सक्दैन,’ उनले भने, ‘विभिन्न बहानाले पढाइ नभएपछि कसरी राम्रो होस् शिक्षा ?’एसईई नतिजा केलाउँदासमेत कहालीलाग्दो चित्र देखिन्छ । डोल्फु, चितै र मुगुगाउँमा स्थानीय विद्यालयबाट कसैले पनि एसईई उत्तीर्ण गर्न सकेका छैनन् । बुद्ध मावि माग्रीका प्रधानाध्यापक गंगाराम जीसीले जाडो र यार्चा सिजनले पठनपाठनमा अवरोध आएको बताए ।

उनका अनुसार यार्चा टिप्ने समयमा वर्षे बिदा दिनुपर्छ । यसो गर्दा बर्खामा कक्षा सञ्चालन गर्न सकिन्छ । ‘यसो गर्दा केही राहत हुन सक्छ,’ उनले भने, ‘अब यतातिर सोच्ने कि ?’ विद्यालयको पठनपाठनलाई प्रभावकारी बनाउन बिदामा एकरूपता हुनुपर्ने उनले बताए ।जिल्ला शिक्षा कार्यालय यार्चाका कारण जिल्लाभरको पठनपाठन प्रभावित हुने गरेको तथ्यबाट बेखबर छैन । तर, उक्त कार्यालयले पठनपाठन नहुने यो समयबारे उचित विकल्प निकाल्न सकेको छैन । ‘पैसाको आसमा सबै पाटनतिर जान्छन्, अनि शिक्षकले कसलाई पढाउन् ?’ मुगुका जिल्ला शिक्षा अधिकारी धनसुधन चौलागाईं भन्छन्, ‘यसले गर्दा विद्यालय शिक्षामा निकै असर पारेको छ ।’

६१ लाख राजस्व

यस वर्ष मुगुका पाटनतिर यार्चा संकलकबाट प्रवेश शुल्कबापत ६१ लाख ९२ हजार रुपैयाँ राजस्व संकलन भएको छ । गत वर्ष ५४ लाख रुपैयाँ राजस्व उठेको थियो । मुगमकार्मारोङ गाउँपालिकाको वडा नं. २ ले यार्चा संकलनको राजस्व संकलन गर्दै आएको छ । वडाध्यक्ष कार्मा लामाले लुकेर संकलक पाटनमा जान थालेपछि राजस्व संकलनमा समस्या भएको बताए ।

यार्चाले पढाइ अधुरो शिर्षकमा कान्तिपुरमा राजबहादुर शाही र विष्णुलाल बुढाले लेखेका छन् ।

प्रतिक्रिया