Edukhabar
शुक्रबार, ०७ बैशाख २०८१
विचार / विमर्श

समाजवाद उन्मुख शिक्षा : अलमलमा कुद्ने कि प्रष्ट हुने ?

शुक्रबार, १८ जेठ २०७५

शिक्षा क्षेत्रमा नीतिगत अस्पष्टता छ, जुन स्वभाविक हो । किन भने कुनै पनि नीतिको मुल कुरा भनेको उद्धेश्य हो । त्यसो भए हाम्रो शिक्षाको उद्धेश्य के त ? यो कुरामा हामी प्रष्ट छौं की छैनौं ? मुख्य प्रश्न यो हो ।
राजनीतिक ब्यवस्था त परिवर्तन भयो, ब्यवस्था सँगै धेरै कुराहरु पनि परिवर्तन भयो । देश पहिलेको 'माईण्ड सेट'मा हैन अर्को 'माईण्ड सेट'मा गएको छ । अर्थात् हामी समाजवाद उन्मुख भनेर नेपालले परिवर्तन स्विकार गरेका छौं ।

समाजवाद उन्मुख भनेको के त ? कुनै माटो, खेत समाजवाद उन्मुख भनेको त हैन ! मान्छेको 'माईण्ड सेट' त्यस तर्फ उन्मुख गराउँदै त्यही अनुसार अघि बढ्ने भनेको हो ।  यो कुरा शिक्षामा स्पष्टसंग मुखरित हुनु पर्छ, आउनु पर्छ । यो उद्धेश्य प्रष्ट भईसके पछि बल्ल त्यसका लागि अनुकुल हुने, आवश्यक हुने नीति बन्ने हुन् । त्यस पछि प्रकृया अघि बढ्ने हो ।

अहिले त कस्तो भने हामी बाटो बनाउने भनिराखेका छौं, फुटपाथको कुरा गरिराखेका छौं, बाटोमा ठेलागाडा पनि छ भनिराखेका छौं, त्यहाँ कसैले गुच्चा खेलिराखेको छ भनेका छौं, हात्ती हिँडेको छ भनिराखेका छौं, तर त्यो बाटो कहाँ पुग्ने र त्यसलाई कसरी ब्यवस्थित बनाउने भन्ने बारेमा कसैले कुरा गरिराखेका छैनौं ।

पहिलेको 'माईण्ड सेट' ठिक भएन, त्यसले देशलाई जता लैजान खोजेको हो त्यो ठिक भएन भनेर यत्रो क्रान्ति यत्रो आन्दोलन भएर समाजवाद उन्मुख देश निर्माण गर्ने हो है भनेर अघि बढेको अवस्था हो  । अर्थात् पहिलेको उद्धेश्यहरु हामीलाई काफि भएनन् पुगेन, ठिक भएन भन्ने निष्कर्ष सहित अर्को बाटो तय भएको हो ।

यसैका लागि यत्रो द्धन्द्ध भयो, यत्रो घम्साघम्सि भयो, यत्रो मान्छे मरेर बल्ल बल्ल हामी ठिक ठाउँमा आईपग्यौं भनिरहेका छौं । शिक्षाका सवालमा त्यो ठिक ठाउँ के हो त ?

त्यो समाजवाद उन्मुख शिक्षा कस्तो हुन्छ ? त्यसले कस्तो मान्छे बनाउँछ ? भन्ने कुरामा प्रष्टता छ ? अथवा त्यसका बारेमा कुनै नीति बनेको छ ? कतै छलफल भएको छ ? विचारै भएको छ ? अवथा त्यता तिर हामीले सोचेका छौं, सोच है भनेर प्रेरित नै गरेका छौं ? मेरो जानकारीमा अहिले सम्म छैन ।

अहिलेको समाजवाद उन्मुख भनेको एउटा अन्तरिम कालखण्ड हो । त्यो समाजवाद उन्मुख मात्रै । त्यसले अन्त्यमा समाजवादमा पुर्याउने हो । त्यसो भए समाजवाद भनेको कस्तो ? समाजवादका पनि आआफ्ना मोडालिटि होलान्, काँग्रेसले एक खालको समाजवाद भन्ला कम्युनिष्ट पार्टिले अर्को खालको भन्ला । तर कस्तोमा जाने हो भन्ने कुरा उहाँहरुमा प्रष्टता हुनु पर्यो र हामीलाई बताउनु पर्यो ।

अहिले नै समाजवाद हैन तर समाजवादमा भए पछि हामीले यसरी शिक्षा दिन्छौं र यस्तो खालको जनशक्ति तयार पार्छौं, अहिले चाँही यस्तो सोचाई भएको यस्तो दृष्टिकोण भएको जनशक्ति उत्पादन गर्छौ भन्ने गरी शिक्षाको उद्धेश्य स्पष्ट पारिसके पछि मात्रै नीति बन्ने हो ।

सडक कहाँ पुग्ने भन्ने प्रष्ट नभईकन त्यहाँ ठेलागाडा चलाउने की हात्ती चलाउने की साईकल चलाउने भन्ने छलफल भए जस्तो हुन्छ । त्यो स्पष्टता नभईञ्जेल सम्म हामी अलमलमा कुदेको कुदै हुन्छौं ।  
त्यसैले त्यो कुरा स्पष्ट पार्न सञ्चारकर्मीले घच्घच्याउनु पर्छ, कि हामी कहाँ जाने हो, हिजोको ब्यवस्थाले भएन भनेर त हामी यहाँ आएको हो भने अब हुनु पर्ने चाँही कस्तो ? त्यस अनुसारको पाठ्यक्रम हुन्छ, पढाईको तौर तरिका हुन्छ, चलिआएका निजी, सामुदायिक विद्यालयहरुको ब्यवस्थापन कसरी गर्ने भन्ने कुरा त्यही समाजवादी धारणा अनुरुप हुन्छ । साविकमा चलि आएको पारामा गर्ने हो भने देशमा ब्यवस्था नै परिवर्तन हुनु पर्दैन थ्यो ।

त्यसका लागि यो कुरो कत्तिको महत्वपूर्ण हो भन्ने कुरा पहिले पत्रकार आफूले बुझ्न ुपर्यो, किन परिवर्तन आवश्यक छ ? के उद्धेश्यका लागि शिक्षा हो भन्ने कुरा आफूले बुझ्नु पर्यो र निकाल्नु पर्यो । त्यस पछि बल्ल शिक्षाका अरु कुराहरु आउँछन्, स्पष्ट हुन्छन् त्यस अनुकलु बन्छन् ।  

नत्र भने अहिले शिक्षा मन्त्री 'एक्टिभ' भए जस्तो मात्रै हुन्छ, समाजवाद उन्मुख शिक्षा भन्ने कुरा उहाँलाई प्रष्ट होला / नहोला मलाई थाह छैन ! तर त्यो कुरा स्पष्ट नभईकन गरिएका कुदाकुद म 'एक्टिभ' छु भनेर देखाउने कुरा मात्रै हो ।

हालै काठमाडौंमा भएको विभिन्न सञ्चार संस्थाका प्रतिनिधि सहभागी कार्यक्रममा पत्रकार तथा भाषाविद् वस्तीले व्यक्त गरेको धारणाको मुख्य अँश 

प्रतिक्रिया