Edukhabar
विहीबार, १३ बैशाख २०८१
गतिविधि

प्रारम्भिक बाल शिक्षा सम्मेलनको तयारी पुरा, साढे ४ करोड खर्च हुने

आइतबार, २० जेठ २०७५

काठमाण्डौ - प्रारम्भिक बालविकासका बारेमा नीतिगत छलफल र आगामी रणनीति तय गर्न आयोजना हुन लागेको एसिया प्रसान्त क्षेत्रीय सम्मेलनको तयारी पुरा भएको शिक्षा मन्त्रालयले जनाएको छ ।
शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालयको आयोजनामा हुने एसिया प्रसान्त क्षेत्रीय उक्त २ दिने सम्मेलन आगामी मंगलबार र बुधबार (०७५ जेठ २२ देखि २४ गते सम्म) काठमाडौंमा हुँदै छ ।

सम्मेलनमा एसिया तथा प्रशान्त क्षेत्रका ४० भन्दा बढि मुलुकका प्रतिनिधि र विज्ञहरु सहभागी हुने मन्त्रालयले जनाएको छ । सम्मेलनमा किरिवाटी, ताजकिस्तान, उज्वेकिस्तान र माल्दिप्सका शिक्षा मन्त्रीहरु सहभागी हुने पक्का भईसकेको मन्त्रालयका सहसचिव वैकुण्ठ अर्यालले जानकारी दिए ।

'३० भन्दा बढि मुलुकका उच्च स्तरका सरकारी अधिकारीहरु तथा विभिन्न संघ संस्थाका प्रतिनिधिहरु गरी ३ सय २५ भन्दा बढि सहभागी हुने पक्का भईसकेको छ' उनले भने,  'नेपालबाट पनि प्रारम्भिक बाल विकाससँग सम्बन्धित नीति निर्माता,सरकारी तथा गैरसरकारी संघ संस्थाका गरी २ सय १५ जना सहभागी हुने गरी व्यवस्थापन गरिएको छ ।'

सम्मेलनसँगै प्रारम्भिक बाल स्याहार तथा शिक्षाका लागि एशिया प्रशान्त क्षेत्रीय नीतिको बैठक समेत हुने भएको छ ।

प्रारम्भिक बाल विकासका क्षेत्रमा अन्तराष्ट्रिय स्तरमा भएका नयाँ अनुसन्धान तथा प्रयोग बारेमा सम्मेलनमा  ज्ञान आदान प्रदान गरिने शिक्षा सचिव खगराज बरालले बताए ।

'प्रारम्भिक बाल विकास र शिक्षा प्रतिको राज्यको प्रतिवद्धता पुरा गर्नका लागि आवश्यक नीतिगत पक्षपोषण गर्न सम्मेलन उपयोगी हुने विश्वास लिईएको छ' उनले भने, 'संविधानले नै शिक्षालाई मौलिक हक अन्र्तगत राखेर प्रारम्भिक वाल शिक्षादेखि अनिवार्य र निशुल्क शिक्षाको ब्यवस्था गरेको सन्दर्भमा आवश्यक नीतिगत ब्यवस्थाका लागि योजना आयोग लगायत सम्बन्धित मन्त्रालयलाई उक्त विषय प्राथमिकतामा राख्न प्रेरित गर्ने छ ।'

सम्मेलनमा प्रारम्भिक बाल शिक्षा तथा विकास सम्बन्धी विद्यमान नीतिहरू बारे छलफल गर्ने, प्रारम्भिक बाल विकासका सरोकारवालाहरू बिच यस सम्बन्धी अभ्यासहरूको समीक्षा गर्ने, प्रारम्भिक बाल विकासको राष्ट्रिय तथा अन्तराट्रिय सञ्जाल तथा सम्बन्धलाई सबल बनाउने र यस क्षेत्रमा भएका प्रगति र अभ्यासलाई प्रस्तुत गर्ने उद्देश्यहरू रहेका सम्मेलनबारे जानकारी दिन प्रकाशित विज्ञप्तिमा उल्लेख छ ।

सम्मेलनको व्यवस्थापनका लागि शिक्षा मन्त्रीको अध्यक्षतामा विषयगत मन्त्रालयका सचिवहरू सहित सम्बन्धित क्षेत्रका विभिन्न निकायहरुको समेत प्रतिनिधित्वमा मूल आयोजक समिति तथा शिक्षा विज्ञान तथा प्रविधि मन्त्रालयका सहसचिवको संयोजकत्वमा सम्बन्धित मन्त्रालयका सहसचिवहरू सम्मिलित व्यवस्थापन समिति गठन गरिएको छ ।

सम्मेलनको सह आयोजकका रुपमा एसिया प्रसान्त क्षेत्रीय प्रारम्भिक बाल विकास सञ्जाल ARNEC, UNICEF र UNESCO रहेका छन् । सम्मेलनमा ४ करोड ५० लाख खर्च हुने अनुमान गरिएको छ । उक्त रकम मध्ये ५० लाख नेपाल सरकारको  र बाँकी ४ करोड सह आयोजकहरुले खर्च गर्ने छन् ।

काठमाण्डौ स्थित होटल याक एण्ड यतीमा सम्पन्न हुने उक्त सम्मेलनको प्रधानमन्त्री के पी ओलीले  उद्घाटन गर्ने कार्यक्रम छ ।

सन् २०१७ मा कम्बोडियामा आयोजित प्रारम्भिक बालविकासका लागि एसिया प्रसान्त क्षेत्रीय सञ्जाल को अन्तराष्ट्रिय सम्मेलनमा तत्कालीन शिक्षा मन्त्री धनिराम पौडेलको नेतृत्वमा सहभागी भएको प्रतिनिधि मण्डलले आगामी सम्मेलन नेपालमा गर्ने प्रतिबद्धता जनाए अनुसार सम्मेलन हुन लागेको हो ।

प्रतिक्रिया