अनौपचारिक शिक्षा र प्रविधि साक्षरता


साराँश

प्रविधिको विकास जुन गतिमा भइरहेको छ, त्यही अनुसार यसका प्रयोगकर्ताहरु पनि बढीरहेका छन् । प्रविधिको प्रयोगले मानिसको दैनिक जनजीवन सहज बनाउनुका साथै जटिल कामहरू सरल भएका छन् । तर प्रविधिको प्रयोगकर्ता (युवा, व्यस्क, प्रौढ) हरूमा यसका ज्यादै स साना पक्ष र साधारण ज्ञानको अभावमा प्रविधिले कतिपय मानिसको समग्र जीवनमाथि नै प्रश्न उठेको पाइन्छ । प्रविधिका साधन, सामग्री र औजारको प्रयोगमा हुने असावधानी र सामान्य स्तरको ज्ञानको अभावमा प्रविधि प्रयोगकर्ता समस्यामा परेको देखिन्छ । प्रविधि प्रयोगकर्तालाई अति महत्वपूर्ण र ज्यादै सरल कुराहरू सिकाउनका लागि अनौपचारिक शिक्षाका पद्दति उपयोगी हुन सक्छन् । ती साधारण प्रविधगत कुराहरु के हुन सक्छन् भन्ने विषयमा केन्द्रित भएर यो आलेख तयार गरिएको छ ।

पृष्ठभूमी

प्रविधिलाई र साक्षरतालाई अलग अलग गरेर परिभाषित गर्दा यी दुइबीचको कुनै सम्बन्ध नदेखिन सक्छ । तर परिवर्तित समयमा जुन तवरबाट प्रविधिको तिव्र विकास भइरहेको छ र यसको प्रयोग बढीरहेको छ, यस सन्दर्भमा विकसित भएका प्रविधिको प्रयोगको वारेमा भएको ज्ञानलाई प्रविधि साक्षरताका रुपमा यहाँ प्रस्तुत गरिएको छ ।

सिकाइ कसरी हुन्छ ? यो प्रश्नको सोझो उत्तर पढेर, देखेर, सुनेर भन्ने नै होला । सिकाइ कसरी हुन्छ ? र प्रौढ तथा बालबालिकाले कसरी सिक्छन् भन्ने सन्दर्भमा विद्धानहरूले थुप्रै सिद्धान्त विकास गरेका पनि छन् । तथापि मानिसको सिकाइ सबैभन्दा बढी चाहना र आवश्यकताले हुने रहेछ भन्ने तथ्य प्रविधिको सिकाइबाट प्राप्त गर्न सकिन्छ । हाल विश्वव्यापी रुपमा प्रविधिका साधनको जे जति प्रयोग भएको छ, त्यसको औपचारिक शिक्षा नलिएर पनि संभव भएको छ । नेपालमै पनि मोबाइलको प्रयोगको सन्दर्भमा यसलाई हेर्न सकिन्छ । मोबाइल प्रयोगको शुरुका दिनमा हाम्रा ५० काटेका बा, आमा, हजुरबा, हजुरआमाहरुले मोबाइल चलाउनु हुन्छ भनेर सोध्दा, एकदमै झर्किएर जवाफ दिने गर्नुहुन्थ्यो ।
मलाई किन चाहियो ?

त्यो मैले चलाउन जान्दिन ?

तर जब मोबाइलको प्रयोगमा व्यापकता बढ्दै गयो, अरुले चलाएको देखेपछि वहाँहरूमा जिज्ञासा बढ्दै गयो, आफ्ना समकक्षीहरुले चलाएको देख्नु भयो । अनि त चाहिँदैन भन्ने वहाँहरुमा चलाउन जानिने रहेछ कि भन्ने भावना बढ्दै गयो ।

अरुको देखेपछि आफूमा पनि आवश्यकताको महशुष हुँदै गयो ? कसैसँग बोल्न मन लाग्दा बोल्न पाइने । हालखवर सोध्न पाइने । शुरु शुरुका दिनमा मैले चलाउन जान्दिन, किन चाहियो भनेर झर्कनु भएका बा आमाहरुले चलाए त जानिन्छ होला कि । यस्तो आसय व्यक्त गर्नुभयो । अनि विस्तारै वहाँहरुसँग मोबाइल भए, कसै न कसैलाई सोधेर केही न केही उपाय लगाएर भएपनि मोबाइल चलाउन सिक्नुभयो अथवा चलाउन सक्नुभयो । अहिले पनि करिब ९० प्रतिशत प्रौढसँग मोबाइल छ ।  

ग्रामीण क्षेत्रका बा, आमाहरूका लागि मोबाइलामा आएको फोन उठाउँदा मात्र पनि चलेको छ, तर सहरका बा आमाहरूलाई स्काइप अथवा भाइवर पनि चलाउनु पर्ने भएको छ । फेसबुक वा यस्तै अन्य सामाजिक सञ्जालमा जोडिन मन लागेको छ । विगतमा त्यो प्रविधिको प्रयोग न्यून हुँदा प्रौढहरुले त्यो हामीलाई चाहिदैन भन्ने समय थियो तर त्यसको प्रयोग बढ्दै जाँदा प्रौढहरूका लागि पनि त्यो प्रविधि प्रयोग गर्न सिक्नु जरुरी भएको छ । र अबको प्रौढ साक्षरता प्रविधि साक्षरतातर्फ मोडिनु पर्ने आवश्यकता देखिएको छ ।

विषय प्रवेश :

हालको एक्काइसौँ शताब्दिको यो समयलाई सूचना र प्रविधिको युग भन्ने गरिएको छ । यसका लागि अवको प्रौढ र व्यस्कमा भएको साक्षरता सिपमा प्रविधिको प्रयोगबाट सूचना लिन र सूचना दिन सक्ने हुनु पर्ने छ । प्रविधिको प्रयोगले समयलाई यसरी परिवर्तन गर्दैछ कि कुनै पनि मानिस लेख पढ गर्न नजानेर भन्दा प्रविधिका साधनको प्रयोग गर्न नसकेर पछि पर्ने भएको छ । अवको प्रौढहरूका लागि प्रविधिका साधनको प्रयोगले मात्र पुग्ला तर युवा र व्यस्कका लागि (जसले औपचारिक शिक्षामा प्रविधिका कुरा पढेका छैनन्) प्रविधिको प्रयोगले मात्र पनि नहुने अवस्था छ । उनीहरूमा प्रविधिको उच्चतम प्रयोग गर्न सक्ने सिपको खाँचो छ ।

हाल सम्मको रोजगारीका न्यूनतम आवश्यकतामा प्रविधिको प्रयोग थिएन तर अबको रोजगारी प्रविधिको ज्ञान विना संभव नहुने भएको छ । प्रविधि शिक्षाको सैद्धान्तिक ज्ञानभन्दा व्यवहारिक ज्ञान बढी आवश्यक छ तर हाम्रो औपचारिक शिक्षाले प्रविधिको सैद्धान्तिक ज्ञानमा बढी जोड दिएको अवस्था छ । हाम्रो पद्दतिमा कम्प्युटर चलाउन जान्नुलाई मात्र प्रविधि जानेको अर्थमा बुझ्छौ । तर हाम्रो दैनिक जीवनका अभिन्न भाग बनेका मोबाइल फोन, सामाजिक सञ्जाल र इन्टरनेट प्रयोगमा प्रविधि साक्षरताको सामान्य स्तरमा पनि अभाव रहेको देखिन्छ ।  प्रविधि साक्षरताले प्रविधिका ठूला कम्प्युटर र इन्टरनेटका मात्र होइन ज्यादै साना र साधारण साधन र एप्लिेकशनका कुराहरुलाई समेटदछ ।

मोबाइल/टेलिभिजन साक्षरता

प्रविधि साक्षरताको कुरा गर्दा ज्यादै सरल विषय पनि यसमा समावेश हुन्छन् । अहिले स्मार्ट फोन चलाउने हामीमध्ये थुप्रैले मिटिङ्मा बस्दा फोनलाई साइलेन्ट बनाउन नजानेको अवस्था छ । कसैको फोन आइहाल्यो भने फोन नउठाइ म मिटिङ्मा छु भन्ने मोबाइलमै सेट भएको सन्देश पठाउन सक्दैनौँ । अति जरुरी वैठकहरुमा बस्दा उच्च पदस्थ पदाधिकारीहरु नै मोवाइल फोनलाई व्यस्त बनाउने सिपको अभावमा हुन्छौँ । यी मोवाइल फोनका साधारण कुराहरु पनि प्रविधि साक्षरताका विषय हुन । प्रौढहरूले यस्ता सामान्य कुरा ती प्रविधिका साधनमा छन् छैनन भन्ने पनि थाहा नहुने र हुन्छ भन्ने थाहा भएपनि कसैलाई सोध्न नचाहने प्रवृति हुन्छ र यो स्वभाविक पनि हो । केटाकेटीले मोबाइल धेरै चलाए भन्ने गुनासो छ, अभिभावकहरुको तर मोवाइलमा सित्तैमा पाइने किड्स एप डाउनलोड गरेर समय निर्धारण गरी मोबाइल चलाउन दिने अभ्यास हामी धेरैले गरेका छैनौँ ।

घरमा भएका टेलिभिजनहरूमा शुरुमा नेपाली च्यानल व्रmमशः आउने र अन्य च्यानल आउने अथवा आँफूले बढी हेर्ने च्यानल एक नम्बरमै आउने बनाउन अहिलेको बा, आमा, हँजुरआमा हँजुरबालाई मात्र नभई कतिपय तीस चालिस वर्षको युवा तथा व्यस्कलाई पनि समस्या छ । प्रविधि साक्षरताका विषयमा यस्ता विषय न त औपचारिक कोर्षमा समावेश हुन्छन् न त अनौपचारिक कतै सिक्न पाइन्छ । अनि कसैलाई सोधिहाल्दा पनि नजानेको भइने डरले रहर पूरा भइरहेको हुँदैन् । बच्चाहरूले धेरै टेलिभिजन हेरे भन्ने समस्या छ । उनीहरुसँग छलफल गरेर आधा घण्टा वा एक घण्टामा टीभि आँफै बन्द हुने गरी चाइल्ड लकको विकल्प ज्यादै कमले मात्र प्रयोग गर्छौ । यस्ता ज्यादै स–साना विषयदेखि इमेल, इन्टरनेटका प्रविधिजन्य कुराहरूलाई प्रविधि साक्षरताको क्षेत्रमा समावेश गर्न सकिन्छ ।

सामाजिक सञ्जाल

अनौपचारिक अनुमानहरूका आधारमा नेपालमा फेसबुक प्रयोगकर्ताको सङ्ख्या पन्ध्र लाख पुगिसकेको भन्ने छ । फेसबुक प्रयोग गर्नका लागि मोवाइले चलाउने सिपमात्र हुँदा पनि पुग्ने अवस्था छ । तर सामाजिक सञ्जालका रुपमा निकै प्रचलित फेसबुक हेर्दा पच्चिस तीस वर्षका युवाहरू, व्यस्क तथा सरकारी, अर्धसरकारी संस्थाका पदाधिकारीहरूमा फेसबुक साक्षरताको समेत अभाव देखिन्छ । प्रौढहरुमा यो सिपको अभाव हुनु स्वभाविक छ । फेसबुक कहिलेकाँही एकजना व्यक्तिका लागि म्यासेन्जरमा लेख्ने कुुरा टाइमलाइनमा लेखेको पाइन्छ । कतिपयले आँफूले के पोष्ट गरे भन्ने थाहा नहुने भएको छ । कसलाई साथी बनाउने भन्ने ज्ञानको अभाव छ । कसैलाई block गर्नुपर्दा कसरी गर्ने,block हुन्छ कि हुँदैन भन्ने पनि समस्या छ ।

मानिस स्वभावैले जिज्ञासु हुन्छ । जिज्ञासा लागेर त होला इन्टरनेटमा आउने विभिन्न खालका सामग्री हेर्छ, तर त्यो सामग्री हेरेपछि त्यसलाई लाइक गर्ने चलन हुन्छ तर त्यो लाइक गर्नासाथ फेसबुकमा सबै साथीहरुलाई सेयर भएको कुरा विर्सिन्छ अनि फेरी स्पष्टीकरण लेख्नुपर्छ, उसले । स्पष्टीकरण लेखेर मात्र हुँदैन, उसमा एक्कासी तनाव बढ्छ । यो प्रविधिका साधन प्रयोग गर्ने सामान्य साक्षरताको विषय हो । गतवर्ष मसँग फेसबुकमा साथी बनेका एक सरकारी अधिकृतले बबरमहलमा बम विष्फोट, प्रचण्डको मृत्यु भन्ने हेडलाइन भएको समाचार सेयर गर्नुभयो । मैले तुरुन्त वहाँको म्यासेन्जरबाट यो कुरा जानकारी दिए । वहाँले अर्कै सामग्री पढेर एउटा अनलाइनमा लाइक गर्नुभयो तर त्यो एप्रिल फुलमा त्यही अनलार्इृनले प्रकाशन गरेको समाचार रहेछ । हरेक मानिसले त्यो अनलाइनमा लाइक गर्नासाथ त्यही हेडलाइन सेयर हुने बनाएको रहेछ । धेरै अनलाइनले लाइक बढाउनका लागि यसो गर्छन । हामीले अर्के समाचार पढेर लाइक गर्छौ तर फेसबुकमा अर्के (अश्लीलता भएको समेत) सेयर हुन्छ । यस्तो अवस्थामा के गर्ने ? धेरैमा यस्तो सिपको समस्या छ ।

हरेक मानिसका स्वभाव र व्रिmयाकलापको वारेमा अनुमान लगाउन वा भविष्यवाणी गर्न वास्तवमै जटिल छ । हामीले आफ्नो कम्प्युटरमा के हेरेका छौ, त्यो कुरा कहि न कहि चुहिन्छ भन्ने ज्ञान निकै कमसँग छ । गुगल ट्रेन्डबाट (trends.google.com) कुन देश वा क्षेत्रमा कुन कुन विषयमा गुगल सर्च भयो भनेर हेर्न सकिन्छ । यसैलाई आधार मान्दा अश्लिल साइटहरूको सर्च उल्लेख्य मात्रामा हुने गरेको देखिन्छ । मानव स्वभाव कुनै साइट हेर्ला तर उसले प्रयोग गरेको कम्प्युटर तथा इन्टरनेट ब्राउजरबाट अर्को मानिसले उसले के कस्ता साइट हे¥यो भन्ने तुरुन्त पत्ता लगाउँछ । कुनै पनि व्यक्तिले युटुबमा कस्ता भिडियो हेर्छ भन्ने सजिलै थाहा पाउन सक्छ । इन्टरनेट तथा सामाजिक सञ्जालमा गोपनियता राख्न त सकिदैन तर कम गर्न सकिन्छ । सिधै नदेखिने बनाउन सकिन्छ । तर प्रविधिको प्रयोग गर्ने यस्ता सामान्य सिपको अभावमा मानिसहरूले कतिपय आफ्ना नितान्त नीजि कुरा अरुलाई थाहा नदिन चाहे पनि सकेको छैन । गोप्य राख्न चाहेको सूचना पनि गोप्य बनाउन सकेको छैन् । घरमा पचाँस पुगेका बाबुले इन्टरनेटमा के हेरे भन्ने कुरा बीस नपुगेको छोराले थाहा पाँउछ, तर बाबुले उसले थाहा पाउँछ भन्ने पनि थाहा नहुने भएको छ । यदि हामीमा इन्टरनेट ब्राउजरको हिष्ट्रिबाट आफूले हेरेकोे साइट डिलिट गर्ने सामान्य स्तरको ज्ञान हुने हो भने त्यो निकै उपयोगी हुन सक्छ । तर यस्ता विषय कहाँ र कसरी सिक्ने मानिसलाई समस्या पनि छ । के अवको अनौपचारिक शिक्षाको विषय क्षेत्र यस्ता प्रविधि प्रयोगका साधारण विषय हुन सक्लान ?

इमेल र पासवर्ड

अधिकांश पेसाकर्मी र व्यवासायिक व्यक्तिहरूका साथै साधारण मानिसहरूमा पनि इमेलको प्रयोग गर्ने प्रचलन बढेको छ । तर प्रविधिमा अद्यावधिक हुन नसक्दा र ज्यादै स साना विषयमा ध्यान दिन नसक्दा प्रविधिमा निरक्षर हुनु परेको छ कतिपय मानिसहरूका लागि । एकजना माध्यमिक तहका शिक्षकले मलाई पठाउनु भएको इमेलको एक अनुच्छेद सबै सब्जेक्ट लाइनमा लेखेर पठाउनु भयो । यसबाट इमेलमा सब्जेक्ट र मेसेज बक्सको भिन्नता सम्मको ज्ञानको अभाव भएको अनुमान लगाउन सकिन्छ ।

सिसि र बीसिसीको ज्ञानको अभावमा सिसि भएर आएका इमेलको रिप्लाइ टु अल भएर थुप्रै इमेल मेरै इन्बक्समा आएका छन् । यो एउटा इमेल प्रयोगकर्तामा हुनुपर्ने ज्यादै साधारण ज्ञान हो । सिसि भनेको बोधार्थ हो र यसको प्रतिउत्तर लेखिदैन भन्ने ज्ञान नभएको वा ध्यान नदिएको अवस्था छ । यसले वास्तवमा अनावश्यक रुपमा समय खर्चेको छ ।

एकजना चालिस वर्ष वरीपरिका मावि विद्यालयका प्रधानाध्यापकले इमेलमा फाइल एट्याच गर्न नसकेको कुरा बताउनु भयो मसँग । वहाँले फेसबुकमा फोटो अपलोड गर्नु सक्नुहुन्छ तर इमेलमा फाइल एट्याच गर्न सक्नु भएन । फोटा अपलोड गर्नु र फाइल एट्याच गर्नु करिब करिब उस्तै कुरा हो । तर वहाँले धेरै प्रयास गर्दा पनि सकिन भन्नुहुन्छ । कतिपय व्यावसायिक व्यक्तिहरूले अहिले नेट छैन, साँझ घर पुगेपछि वा लाइन आएपछि इमेल हेर्छु वा गर्छु भनेको सुनिन्छ । एप्लिकेशन बेसीसमा इमेल चलाउने साधारण ज्ञानको अभावमा मानिस इन्टरनेट नभई इमेल लेख्न र फाइल एट्याच गरेर आउटबब्समा राख्ने काम गर्न सकेको छैन । अनि साँझ घरमा विर्सेर फेरी इमेल चेक गर्न फोन गर्नुपर्ने अवस्था छ । इमेलका सबै कामका लागि नेट चाहिने भएको छ । इन्टरनेट नभएको बेलामा पनि इमेल लेख्न र फाइल एट्याच गरेर राख्न अनि लोड भइसकेका नयाँ÷पुराना इमेल हेर्न सकिने प्रविधिको साधारण ज्ञानको अभावमा हामी धेरैले समस्या भोगेका छौँ र देखेका पनि छौँ ।

हामी आँफूले चलाउने व्यक्तिगत कम्प्युटरको स्टार्टमै पासवर्ड छ । तर हामीले हरेक पटक जिमेल वा याहु, फेसबुक वा ट्वीटर खोल्दा पासवर्ड हानिरहने झण्झटबाट मुक्त हुने remember my password बटनमा टिक लगाउने सिपको अभावमा छौं । अनि कतिपय युटुबका भिडियो डाउनलोड कसरी गर्ने भन्ने सिपको अभावमा रहेको पनि पाइन्छ । जुन लिङ्कको अगाडि SS दुइवटा अक्षर मात्र टाइप गर्दा वा एउटा ब्राउजरकै एप्लिेकशन इन्सटल गरेर एक क्लिकमै गर्न सकिन्छ ।

प्रविधिको विकास मानिसको दैनिकी र कामलाई सहज बनाउन भएको हो । यसलाई प्रयोग गर्न आवश्यक पर्ने साधारण सिपले धेरै कुरा सहज भैदिन्छ तर सामान्य ज्ञानको अभावमा यसले सहयोग गर्न सकेको छैन । हामी थुप्रैले कतै मिटिङ भएको कुरा विर्सिएका हुन्छौँ, मोबाइलमा वा कम्प्युटरको क्यालेण्डरमा सेट गर्ने हो भने घण्टी बजाएर मोबाइल वा कम्प्युटरले जानकारी दिन्छ । नियमित औषधि सेवन गर्नेहरुले औषधि खान विर्सन्छौ तर मोबाइलबाट औषधि खाने समयमा घण्टी बजाउने कुरा सामान्य कुरा हो ।

प्रविधिको प्रयोग सधै सुरक्षित हुँदैन र यसबाट सुरक्षित हुन अपनाउने पर्ने केही सावधानिका विषयहरूमा प्रविधिको प्रयोग गर्ने हरेक व्यक्ति साक्षर हुनु आवश्यक छ । अहिले विश्वव्यापी रुपमै प्रविधिको प्रयोगबाट हुने यसका खतरा तथा जोखिम र त्यसबाट सुरक्षित हुने तरिका सिक्नु अत्यन्त जरुरी देखिएको छ, (Dakers, 2006) । प्रविधिको प्रयोगमा सामान्य होसियारी अपनाउन नसक्दा कति मानिस हिंसाको सिकार भएका छन् । कतिले धन सम्पति गुमाएका छन् त कतिले ज्यानै पनि गुमाएका छन् ।

अनौपचारिक शिक्षाको संभावना

कतिपय प्रौढ मानिसहरू आफ्नो कमजोरी अरुले थाहा पाउँछन भनेर नजानेका साना कुरा पनि नसोध्ने हुन्छन भने कतिपयले कहाँ कसलाई सोधेर थाहा पाउने भन्ने अलमलमा हुन्छन् । यस्ता स साना विषयहरू औपचारिक शिक्षामा पनि सिकाइदैन, त्यसैले मानिसको दैनिक प्रयोगमा आउने प्रविधि र त्यसबाट दैनिकी सहज बनाउनका लागि आवश्यक पर्ने ज्यादै साना तर महत्वपूर्ण विषयहरूलाई अनौपचारिक शिक्षाका माध्यमबाट सिकाउँदा प्रभावकारी हुने देखिन्छ । जीवनपर्यन्त शिक्षा (Lifelong education ) तथा सिकाइ समाज (Learning society) र सिकाइ संगठन (Learning Organization) जस्ता प्रौढ सिकाइका विश्वव्यापी अभ्यासको विस्तार गर्न प्रविधि साक्षरता सहयोगी हुन सक्छ, (Tight, 2002) ।

यसका संभावना र क्षेत्र निम्न हुन सक्छन् :

(क) निरन्तर सिकाइ र जीवनोपयोगी शिक्षाका विषयहरूमा यस्ता विषय समावेश गर्न सकिन्छ ।

(ख) खुला तथा दुर शिक्षाका मोड्युल कोर्षहरू विकास गर्न सकिन्छ ।

(ग) अनौपचारिक शिक्षाका अन्य माध्यमहरू उपयोगी हुन सक्छन् ।

(घ) कम्प्युटर र इन्टरनेट उपलब्ध नभएको सामुदायिक अध्ययन केन्द्रले आजको प्रौढका लागि उपयोगी नहुने अवस्था आएको छ । सामुदायिक अध्ययन केन्द्र प्रविधि साक्षरता सिकाउने केन्द्र हुन सक्छन् ।

(ङ) सामुदायिक अध्ययन केन्द्रमा आउने प्रौढलाई उसको आवश्यकता अनुसारको प्रविधिगत सिप सिकाउन सक्षम सहजकर्ता आवश्यक हुन्छन् । तिनै सहजकर्ताका लागि विभिन्न मागमा आधारित अनलाईन कोर्ष विकास हुन सक्छन् ।

निश्कर्ष

प्रविधिगत साक्षरता तथा अन्य शैक्षिक सवालमा शहरी र ग्रामीण क्षेत्रका असमानताहरू पर्याप्त देख्न सकिन्छ । प्रविधि साक्षरताकै कुरा गर्दा शहरका प्रौढहरूको प्रविधि साक्षरता र गाउँका प्रौढ र सुगम क्षेत्रका प्रौढ र दुर्गम क्षेत्रका प्रौढका बीचमा निकै ठूलो भिन्नता भेटन सकिन्छ । यस्तो अवस्थामा राज्यले भौगोलिक कारण तथा अन्य कारणले भएको असमानता न्यूनीकरणका लागि काम गर्नुपर्छ । प्रौढहरूमा पनि प्रविधि प्रयोगको खाडल (डिजिटल डिभाइड) बढ्दो छ, यसलाई न्यूनिकरण गर्नु आवश्यक छ । निरन्तर शिक्षा र सिकाइ तथा सामुदायिक अध्ययन केन्द्र मार्फत प्रविधि साक्षरताका विषयहरूलाई सबै युवा, व्यस्क तथा प्रौढसम्म पु¥याउन र प्रौढहरु तथा सहरी क्षेत्र र ग्रामीण क्षेत्रको डिजिटल डिभाइड कर्म गर्न सकिन्छ । जसले दैनिकी सहज बनाउने मात्र नभई यसको प्रयोग सुरक्षित गर्न सकिने र मुलुकको समृद्धिमा समेत टेवा पुग्न सक्छ ।  

सन्दर्भ ग्रन्थ

Dakers, J.R. (2006). Defining Technological Literacy. New York: Palgrave MacmillanTM.

Tight, M. (2002). Key Concepts in Adult Education and Training. London: Taylor & Francis Group.

www.trends.google.com

www.wikipedia.com

अनौपचारिक शिक्षा वार्षिक पत्रिकामा प्रकाशित