Edukhabar
शुक्रबार, १६ चैत्र २०८०
खबर/फिचर

गणित हटाउँदा उच्च शिक्षामा असर, विज्ञानको जगनै खल्वलिने

शुक्रबार, २५ जेठ २०७५

काठमाडौं - कक्षा ११ र १२ मा गणित विषय हटाउने निर्णय प्रति, त्रिभुवन विश्वविद्यालय गणित केन्द्रीय विभाग र नेपाल गणित समाजले विरोध जनाएका छन् । पाठ्यक्रम विकास तथा मूल्याङकन परिषद्बाट स्विकृत गरिएको पाठ्यक्रम प्रारुपमा कक्षा ११ र १२ मा प्रायोगिक गणित हटाउने उल्लेख छ ।

उक्त निर्णय प्रति ध्यानाकर्षण भएको जनाउँदै आयोजित छलफलले यसबाट विद्यार्थीलाई ठूलो अन्याय र विज्ञान तथा प्रविधिको विकासमा आघात पुग्ने ठहर गरेको छ । उक्त छलफलमा पाठ्यक्रम विकास केन्द्रका कार्यकारी निर्देशक कृष्णप्रसाद काप्रीको समेत उपस्थिती थियो ।  विज्ञान र प्रविधिको आधार स्तम्भ तथा मेरुदण्डको रुपमा रहेको गणित विश्वका धेरै मुलुकहरुमा विद्यालय तहको पाठ्यक्रममा अनिवार्य समावेश हुने विषय भएकाले अहिलेको निर्णय दुर्भाग्यपूर्ण भएको छलफलमा उपस्थित प्राध्यापक तथा विद्यार्थीले उल्लेख गरेका छन् ।  

समाजका अध्यक्ष प्रा.डा. टंकनाथ धमलाले  कक्षा ११ र १२ मा सवै समूहका विद्यार्थीले अध्ययन गर्न पाउने गरि प्रस्ताव गरिएको प्रायोगिक गणित हटाइएको र जीव विज्ञानसमुहका विद्यार्थीले पुरानो संरचना अनुसार पढ्दै आएको गणित विषय पनि अबको संरचना अनुसार पढ्न नपाउने गरि समुहीकरण भएको बताए ।   

पाठ्यक्रम विज्ञान र प्रविधि मैत्री भएमा मात्र देश विकासको सहि मार्गमा अघि बढ्न सक्ने बताउँदै केन्द्रीय गणित विभागका प्रमुख प्रा.डा. केदारनाथ उप्रेतीले उक्त निर्णयले विकास र समृद्धि मृगतृष्णा  मात्रै बनाउने दावि गरे ।  

त्रिविका कृषि तथा वन विज्ञान, कम्प्युटर विज्ञान जस्ता विषयहरुमा प्रवेश पाउन कम्तिमा क्रमश: ५० र १०० पूर्णाङ्कको गणित अनिवार्य रुपमा पास गरेको हुनु पर्दछ । कृषि तथा वन विज्ञान कार्यक्रममा  भर्ना हुन आउने विद्यार्थी नै जीव विज्ञान समुहका हुन्छन् । पोखरा, काठमाडौं, पुर्वाञ्चल, मध्यपश्चिमाञ्चल र सुदूरपश्चिमाञ्चल विश्वविद्यालयहरुमा इञ्जिनियरिङ तथा सूचना प्रविधि कार्यक्रमहरुमा प्रवेश पाउन कम्तिमा १०० पूर्णाङ्कको गणित उत्तिर्ण गरेको हुन पर्ने व्यवस्था छ । यो व्यवस्थाले जीव विज्ञान समुहका विद्यार्थीले उक्त विश्वविद्यालयहरुमा उल्लिखित कार्यक्रमहरु अध्ययन गर्न नपाउने भएका छन् ।

व्यवस्थापन विषय समुहका विद्यार्थीले अर्थशास्त्र र वाणिज्य गणित मध्ये एकमात्र रोज्नु पर्ने बाध्यता छ । यी दुवै विषय उक्त समुहका विद्यार्थीका लागि नभई नहुने समाजका केन्द्रीय सदस्य जिवन काफ्ले बताउँछन् ।

त्रिविको वीएस्सी सीएसआईटीमा प्रवेश पाउने ५० प्र्रतिशत भन्दा बढी विद्यार्थी जीव विज्ञान अन्र्तगत १०० पूर्णाङ्कको गणित पढेका हुने गरेकोमा यो व्यवस्थाले उक्त समुहका विद्यार्थी  भविष्यमा यो कार्यक्रमको लागि अयोग्य हुने भएकाले पाठ्यक्रमको यो व्यवस्था दुर्भाग्यपूर्ण रहेको त्रि.वि. कम्प्युटर विज्ञान केन्द्रीय विभागका प्रमुख नवराज पौडेल बताउँछन् ।

जीव विज्ञानका विद्यार्थीले भौतिक विज्ञान विषय पढ्ने तर सो विषय पढ्न आधारभूत रुपमा ज्ञान हुनु पर्ने, गणित भने पढ्न नपाउने व्यवस्थाले गणित विनाको भौतिकशास्त्र कसरी पढाउने ? प्रश्न उब्जिएको

नेपाल भौतिक समाजका सह– सचिव इन्द्र भण्डारीले भने । विगतमा सबै विज्ञानका विद्यार्थीले १०० पूर्णाङ्कको गणित अनिवार्य पढ्ने व्यवस्था रहेकोमा गणित नै हटाउँदा आधारभूत विज्ञानको जगनै खल्वलिने भएकाले विगतको प्रावधानलाई यथावत गर्नु पर्ने उजकने भनाई छ ।

विश्वका थुप्रै देशमा माध्यामिक तहमा गणित विषयलाई उच्च प्राथमिकता दिएर पढाउने गर्छन्, विदेश पढ्न जानु अघि गर्नु पर्ने जीआरई तथा जीम्याट, स्याट, लोकसेवामा गणित चाहिनुले गणितको महत्व उच्च रहेको छलफलमा सहभागीहरुको तर्क थियो । डाक्टर, इञ्जिनियर, पाईलट, कृषि विज्ञ लगायतका विशिष्ट प्राविधिक विषयमा आफ्नो भविष्य खोज्ने विद्यार्थीलाई सोही क्षेत्रका विषयहरु नै जीवनउपयोगी हुन्छन् । तर यो पाठ्यक्रमले यी समुहका विद्यार्थीका लागि जीवनउपयोगी विषयको रुपमा कस्तो विषय ल्याउन खोजेको हो ? भन्दै छलफलमा सहभागीहरुले प्रशन गरेका छन् ।

गत जेठ १८ गते शिक्षा, विज्ञान तथा प्रविधि मन्त्री गिरिराजमणि पोखरेलको अध्यक्षतामा बसेको पाठ्यक्रम विकास तथा मूल्याङकन परिषद्को  बैठकले प्रस्तावित विद्यालय तहको शिक्षाको पाठ्क्रमको प्रारुप पारित गरेको सार्वजनिक गरिएको थियो । उक्त निर्णय गर्नु अघि पाठ्यक्रम विकास केन्द्रको वेभसाईट मार्फत् मस्यौदा सार्वजनिक गरिए पनि उक्त प्रारुपको अन्तिम दस्तावेज भने अहिले सम्म सार्वजनिक गरिएको छैन ।

प्रतिक्रिया