Edukhabar
विहीबार, १३ बैशाख २०८१
गतिविधि

५ वर्षे रणनीतिमा शिक्षा सहित ४ प्राथमिकता

शुक्रबार, २५ जेठ २०७५

काठमाडौं - आगामी ५ वर्ष भित्र गर्ने प्राथमिकताका कार्यहरु सार्वजनिक गर्दै एक्सनएड नेपालले आफ्नो रणनीतिमा शिक्षा अधिकारको मुद्धालाई दोश्रो प्राथमिकतामा राखेको छ ।

विगत ३६ बर्ष देखि शिक्षा अधिकार सहित महलिा अधिकार, सामाजिक न्याय, गरिबी निवारण लगायतका क्षेत्रमा कार्य गर्दै आएको एक्सनएडले हरेक बालबालिकाको आधारभूत अधिकारका रुपमा गुणस्तरीय सार्वजनिक शिक्षाका पक्षमा काम गर्ने गरी प्राथमिकता निर्धारण गरेको हो । उक्त प्राथमिकता पुरा गर्न विद्यालयमा शुसासन अभिवृद्धि र सार्वजनिक शिक्षा सुदृढिकरणका लागि करमा आधारित सार्वजनिक लगानीका क्षेत्रमा कार्य गर्ने उक्त रणनीतिमा उल्लेख छ ।

उक्त ५ बर्षे रणनीति पत्रको पहिलो प्राथमिकतामा महिला हिंसा विरुद्ध तथा लैंगिक समानता समेटिएको छ भने तेश्रो प्राथमिकतामा जिविकोपार्जनका दिगो विकल्प र चौथो प्राथमिकतामा विपद् विरुद्धका कार्य गर्ने उल्लेख छ ।

उक्त रणनीति पत्र सार्वजनिक गर्दै एक्सनएडकी कार्यकारी निर्देशक सुजिता माथेमाले विगतमा जस्तै समाजिक न्यायका लागि आगामी दिनमा अझै प्रतिवद्ध भएर अघि बढ्ने बताईन् ।

गैरसरकारी संस्थाले गर्ने काम र आर्थिक खर्चको पारदर्शिताको समेत वकालत गर्दै आएको एक्सनएडले आफ्नो सामाजिक लेखाजोखा सार्वजनिक गर्न शुक्रबार आयोजित कार्यक्रममा संस्थाका अध्यक्ष प्रा. सुवास केसी, राष्ट्रिय सभाकी सदस्य डा. विमला राई पौड्याल, महिला अधिकार मञ्च लाहानकी सचिव सरिता राम र माथेमाले संयुक्त रुपमा उक्त रणनीति पत्र सार्वजनिक गरेका हुन् ।

सामाजिक लेखाजोखा सार्वजनिक

यसैबिच कार्यक्रममा संस्थाले सन् २०१७ मा सम्पन्न गरेका कार्यक्रमहरुको लागत, प्रभावकारिता र उपलब्धिबारे छलफल तथा प्रस्तुती गरिएको थियो ।

गैरसरकारी संस्थाले आफ्नो काम र आर्थिक खर्चको पारदर्शिता गर्दैनन् भन्ने गुनासो सार्वजनिक भईरहेका बेला एक्सनएडले आफ्नो पन्ध्रौ राष्ट्रिय सामाजिक लेखाजोखा सार्वजनिक गरेको हो ।

संस्थाले कार्यक्रम सञ्चालन गर्दै आएका क्षेत्रका लक्षित समुदायका प्रतिनिधि, साझेदार संस्था, सरोकारवाला, सञ्चार माध्यमका प्रतिनिधि, अधिकारवादी संजाल, स्थानीय निकाय, सरकारी निकायका व्यक्तिहरुको सहभागिताका उक्त सामाजिक लेखाजोखा सार्वजनिक गरिएको हो ।  

कार्यक्रममा संस्थााक लेखा प्रमुख अरुण नेपालले संस्थाले सन् २०१७ मा सञ्चालन गरेका कार्यक्रममा भएको खर्चको बिवरण प्रस्तुत गरेका थिए । जस अनुसार संस्थाले रु. ६६ करोड १ लाख ७ हजार १ सय २६ रुपैंया खर्च गरिएको उल्लेख छ । उक्त रकम सार्वजनिक शिक्षाम पहुँच सहित गरिब, विपन्न, पछाडी पारिएका परिवारका साथै भुकम्पबाट पीडित परिवारका लागि आफ्ना साझेदार संस्था मार्फत खर्च गरिएको उल्ल्ेख छ ।

सन् २०१७ को खर्च रकम मध्ये ९२% कार्यक्रम तर्फ, ५% प्रशासनिक तर्फ, २% कोष अभिबृद्धि तथा १% संस्थागत विकास तर्फ खर्च गरिएको कार्यक्रममा सार्वजनिक गरिएको थियो ।

सन् १९८२ देखि कार्यक्रम सञ्चालन गर्दै आएको यो संस्थाले मानव अधिकारमुखी पद्दतीद्धारा लक्षित वर्गहरुको क्षमता अभिवृद्धी गरी उनीहरुलाई आफ्नो हक–अधिकार दावी गर्न सक्षम बनाई सम्माजनक जीवनयापन गर्न सहयोग गर्दछ । देशका विभिन्न ठाउँमा आफ्नो कार्यसंचालन गर्न यस संस्थाले सरकार, सामाजिक संजाल÷संगठन लगायत विभिन्न नागरिक समाजहरुसँग साझेदारी गर्दछ ।

कार्यक्रममा अन्तराष्ट्रिय गैरसरकारी संस्था नेपालका अध्यक्ष डा.शिवेशचन्द्र रेग्मीले सामाजिक लेखाजोखा मार्फत् संस्थाले अवलम्बन गर्दै आएको पारदर्शिताको प्रसंशा गर्दै सामाजिक संस्थाहरु प्रति राज्यको दृष्टिकोण स्पष्ट नआउँदा जनमानसमा शंका उब्जेको गुनासो गरे । संस्थाका अध्यक्ष प्रा. केसीले सामाजिक संस्थाहरु सजिलो पृष्ठभूमिबाट यहाँ सम्म नआएको स्मरण गर्दै संस्थाहरु प्रतिवद्ध र पारदर्शि हुनु पर्ने खाँचो औंल्याए ।

कार्यक्रममा राष्ट्रिय सभा सदस्य विमला राई पौडेल र राष्ट्रिय योजना आयोगका सदस्य मिनबहादुर शाहीले सरकार सामाजिक संस्थाहरुसँग सहकार्य गरेरै जाने अवधारणामा रहेको बताउँदै पारदर्शि संस्थाहरु निश्चिन्त भएर काम गर्न हिचकिचाउनु नपर्ने भन्दै आश्वस्त तुल्याउने कोशिस गरे ।

एक्सनएड नेपालले सन् २००२ देखि स्थानीय स्तरमा तथा सन् २००४ देखि राष्ट्रिय स्तरमा जवाफदेहीता तथा पारदर्शिता सुनिश्चित गर्न सामाजिक लेखाजोखा कार्यक्रम आयोजना  गर्दै आएको छ । संस्थाले हरेक वर्ष यस प्रकारको कार्यक्रम गर्दै आएको छ । लेखाजोखा कार्यक्रममा गतवर्ष गरेका कामबाट प्राप्त परिणामहरुको सहभागितामूलक प्रक्रियाद्धारा पुनरावलोकन तथा मूल्यांकन गरी भावी कार्यक्रमलाई थप गुणस्तरीय र प्रभावकारी बनाउन सरोकारवालाहरुको रचनात्मक तथा आलोचनात्मक सुझावहरु संकलन गर्ने प्रक्रिया समेत अवलम्बन गरेको संस्थाकी कार्यकारी निर्देशक माथेमाले जानकारी दिईन् ।

प्रतिक्रिया