Edukhabar
शुक्रबार, ०७ बैशाख २०८१
खबर/फिचर

विद्यार्थीको सिकाइ परीक्षण गर्न शिक्षकको क्षमता वृद्धिको विधि तय गरिने

सोमबार, २८ जेठ २०७५

काठमाडौं - विद्यार्थीको समग्र सिकाइको परीक्षणका लागि शिक्षकको क्षमता वृद्धिको  विधि तय गरिने भएको छ । शैक्षिक गुणस्तर परीक्षण केन्द्र मार्फत शुरु उक्त कार्य अन्र्तगत पहिलो चरणमा नेपाल सहित विभिन्न ३ देशका प्रतिनिधि विच हालै काठमाडौंमा छलफल भएको छ ।

उक्त छलफलबाट निस्केका निचोडलाई विद्यार्थीको सिकाइ परीक्षणको विधिसँग जोड्ने गरी निष्कर्श निकालिने केन्द्रका प्रमुख डा. लेखनाथ पौडेलले बताए । प्रारम्भिक चरणका कार्य अन्र्तगत अहिले सामान्य छलफल भएको र यसलाई निरन्तरता दिदैं आवश्यकता पहिचान गरी निष्कर्शमा पुग्ने पौडेलले बताए । पाठ्यवस्तुमा मात्रै केन्द्रित गर्ने परिपाठिबाट विद्यार्थीको समग्र परीक्षण सम्भव नहुने अवधारणा अनुसार हामीले कार्य थालनी गरेका हौं, पौडेलले भने, अहिले नित्तान्तै प्रारम्भिक चरणमा छौं, तर यसको लक्ष्य भनेको पढाईसँगै विद्यार्थीको निर्णय क्षमता, सामाजिक ब्यवहार जस्ता अहिले सम्म गणना नभएका सिकाइका मानकहरुमा  पनि ध्यान दिनु पर्छ भन्ने हो ।

नेपालको पाठ्यक्रमको तहगत उद्देश्यमा समस्या समाधान, समालोचनात्मक चिन्तन तथा सहकार्य जस्ता सीपहरुको उल्लेख भए पनि परीक्षाहरुमा यस्ता सीपको मापन हुने गरी प्रश्न बनाउने अभ्यास भएको छैन ।

सन् २०१७ मा अमेरिकाको ब्रोकिङ् ईष्टिच्युसनले एसिया प्यासिफिक क्षेत्रमा गरेको अनुसन्धानका क्रममा नेपालमा पाठयक्रममा सबैभन्दा बढी एक्काइसौँ शताब्दिका सीपहरू उल्लेख भएको तर परीक्षणमा एकदमै न्यून मात्र भएको निष्कर्श निकालेको थियो ।

Optimizing Assessment for All को मुख्य उद्देश्य विद्यार्थीमा एक्काईशौं शताब्दीको सीपहरु जस्तै समस्या समाधान, सहकार्य र समालोचनात्मक चिन्तन सिकाउनुका साथै शिक्षण सिकाइ क्रियाकलाप र निमार्णात्मक मूल्याङ्कनलाई प्रभावकारी बनाउनका लागी शिक्षकहरुको क्षमता वृद्घि गर्नु रहेको पौडेलले बताए ।

शिक्षाको अध्ययन अनुसन्धानमा सकृय ब्रोकिङ् ईष्टिच्युसनको सहयोगमा केन्द्रले गरेको ५ दिने उक्त कार्यशालामा काठमाडौं उपत्यकाका ४ वटा विद्यालयका गणित, विज्ञान र सामाजिक पढाउने १२ जना शिक्षक सहित शैक्षिक अनुसन्धान र परीक्षणमा कार्यरत केन्द्रका कर्मचारी तथा कम्बोडिया र मंगोलियाका प्रतिनिधिहरुको सहभागिता थियो ।

उक्त कार्यक्रममा मनोहरा मा.वि., काठमाडौं; चाँगुनारायण मा.वि., भक्तपुर, महेन्द्रग्राम मा.वि.,ललितपुर र सिस्नेरी मा.वि, ललितपुरका शिक्षक सहभागि थिए । उक्त अध्ययनमा संलग्न राष्ट्रहरुले गर्ने कार्याशाला मध्ये नेपालमा पहिलो कार्याशालाको आयोजना गरिएको केन्द्रले जनाएको छ ।

प्रतिक्रिया