Edukhabar
शुक्रबार, ०७ बैशाख २०८१
खबर/फिचर

शिक्षा मन्त्रालयमा व्यापारीको दवाव, कक्षा ११ को पाठ्यक्रम बनाउन समिति गठन

बुधबार, ३० जेठ २०७५

काठमाडौं - आउँदो शैक्षिक सत्रबाट कक्षा ११ मा नयाँ पाठ्यक्रम अनुसार पठन पाठन गर्ने शिक्षा मन्त्रालयको योजनाको विरुद्ध व्यापारीहरुले तिव्र दवाव दिएका छन् ।  पाठ्यक्रम परिवर्तन भए पाठ्यपुस्तकको अभाव हुने तर्क साथ नीजि पाठ्य पुस्तक प्रकाशकहरुले यो बर्ष पुरानै पाठ्यक्रमका आधारमा पठन पाठन गर्नु पर्ने भन्दै शिक्षा मन्त्रालयमा दवाव दिएका श्रोतको दावी छ ।

उनीहरुले यस अघि आफूहरुले किताब छाप्दा धेरै खर्च भएकोले ती किताबहरु बेचिसके पछि मात्रै नयाँ पाठ्यक्रम अनुसार पठन पाठन गर्नु पर्ने भन्दै दवाव दिएका हुन् । शिक्षा मन्त्री गिरिराजमणि पोखरेलले २० बर्ष देखि एउटै पाठ्यक्रममा भईरहेको पठन पाठनमा परिवर्तन ल्याउन यस पटकनै नयाँ प्रारुपमा आधारमा अघि बढ्ने अडान लिए पछि निजी प्रकाशकहरुले उच्च राजनीतिक तहबाटै दवाव दिएको मन्त्रालय श्रोतको भनाई छ ।

उक्त दवावकै कारण मन्त्रीको अध्यक्षतामा रहेको पाठ्यक्रम विकास तथा मूल्याँकन परिषद्बाट स्विकृत गर्ने प्रावधान विपरित उक्त प्रारुपलाई मन्त्रीपरिषद्बाट स्विकृत गराउनु पर्ने भन्दै अहिले सम्म सार्वजनिक गरिएको छैन ।

गत जेठ १८ गते मन्त्री पोखरेलको अध्यक्षतामा बसेको परिषद्को  बैठकले विद्यालय तहको शिक्षाको पाठ्क्रमको प्रारुप पारित गरेको सार्वजनिक गरिएको थियो । उक्त निर्णय गर्नु अघि पाठ्यक्रम विकास केन्द्रको वेभसाईट मार्फत् मस्यौदा सार्वजनिक गरिए पनि उक्त प्रारुपको अन्तिम दस्तावेज भने अहिले सम्म सार्वजनिक गरिएको छैन ।

'मूल्याँकन परिषद्बाट स्विकृत भए पछि हुने कुरालाई पनि मन्त्री परिषद्मा लैजानुको कारण ब्यापारीहरुको दवाव हो' उक्त श्रोतले भन्यो, 'प्रधानमन्त्रीकै तहमा उनीहरुले दवाव दिएका कारण यसै बर्षबाट नयाँ पाठ्यक्रम अनुसार पढाई हुने नहुने भन्ने कुरा अहिले सम्म निर्णय हुन नसकेको हो ।'

पाठ्यक्रम विकास केन्द्रका प्रमुख कृष्ण प्रसाद काप्री भने यसै शैक्षिक सत्र देखि नयाँ पाठ्यक्रमका आधारमा पठन पाठन गर्ने गरी केन्द्रले काम अघि बढाएको बताउँछन् ।

'क्रेडिट आवर अनुसार पठन पाठन हुने गरी तय भएको पाठ्यक्रम प्रारुपका अधाारमा किताव नै चाहन्छि भन्ने कुरा हुँदैन' उनले भने, 'पाठ्यक्रम महत्वपूर्ण हो उक्त पाठ्यक्रमका आधारमा शिक्षकहरुले यस अघि नै प्रकाशित भएका विभिन्न सामग्रीलाई श्रोत पुस्तकका रुपमा प्रयोग गरी पठन पाठन गर्न सक्ने छन्, अहिले त ईण्टरनेटको यत्रो पहुँच छ, शिक्षकरुले त्यहाँबाट पनि श्रोत सामग्री जम्मा गर्न सक्छन्, त्यसैले पुस्तक नै छैन भन्ने कुरा महत्वपूर्ण हैन ।'

अहिले ११ कक्षामा पढ्ने विद्यार्थी आगामी बर्ष कक्षा १२ पुग्दा एक बर्षको अवधिमा पर्याप्त काम गर्न सकिने भएकोले कुनै समस्या नहुने उनको तर्क छ ।

यसै विच कक्षा ११ को नयाँ पाठ्यक्रम निर्माणका लागि पाठ्यक्रम विकास केन्द्रले विभिन्न समितिहरु गठन गरेको छ । पाठ्यक्रम विकास तथा मूल्याँकन परिषद्बाट स्विकृत प्रारुपका आधारमा निर्माण गर्ने गरी ती समितिहरु गठन भएका हुन् । विभिन्न ३० वटा समिति निर्माण गर्ने योजना बनाएको केन्द्रले अहिले सम्म सामाजिक, नेपाली र जिवनोपयोगी गरी तिन विषयका लागि समिति निर्माण गरेको हो ।

सामाजिकका लागि समाजशास्त्री प्रा.डा. चैतन्य मिश्र, नेपालीका लागि प्रा. केशव सुवेदी र जिवनोपयोगीका लागि विमल फुयालको संयोजकत्वमा समिति गठन भएका केन्द्रका काप्रीले जानकारी दिए । विषय विज्ञता हासिल गरेका र यस अघि पनि पाठ्यक्रम निर्माणमा संलग्न भएकाहरुलाई आग्रह गरिएकोले अन्य समितिहरु चाँडैनै निर्माण हुने उनले बताए । यसरी समिति गठन गर्दा संविधानको मर्म अनुसार महिला दलित, जनजातीको प्रतिनिधित्वलाई ध्यान दिएर सके सम्म धेरै क्षेत्रको प्रतिनिधित्व गराउने गरी गृहकार्य भईरहेको उनको भनाई छ ।

'बदलिदों परिवेश अनुसार पाठ्यक्रम प्रारुप तय गरिएको छ, सोही मर्मलाई केन्द्रमा राखेर पाठ्यक्रम निर्माण गरिने छ' उनले भने, 'यसरी काम गर्दा सकेसम्म धेरैको सहभागिता सुनिश्चित गरी अन्तिम रुप दिनलाई पर्याप्त बहस र छलफलहरु सञ्चालन हुनेछन् ।'

यसरी पाठ्यक्रम निर्माण गर्दा यस अघि नै केन्द्रले निर्माण गरेको विषय समितिहरुका सदस्यहरुको समेत संलग्नता हुने उनले बताए ।

पहिलो चरणमा धेरै विद्यार्थीले पढ्ने विषयहरुलाई महत्व दिएर काम गर्ने केन्द्रको योजना रहेको उनको भनाई छ ।

प्रतिक्रिया