Edukhabar
शुक्रबार, ०७ बैशाख २०८१
खबर/फिचर

सरकार न गणित विरोधी, न विज्ञान विरोधी !

बुधबार, ३० जेठ २०७५

काठमाडौं - शिक्षा मन्त्री गिरिराजमणि पोखरेलले संविधानको मर्म बमोजिम नयाँ पाठ्यक्रम तयार गर्ने सरकारको योजनालाई कुनै पनि विषय विरोधीका रुपमा नबुझ्न आग्रह गरेका छन् । नयाँ पाठ्यक्रम प्रारुपमा कक्षा ११ बाट गणित विषय हटाउने उल्लेख भए पछि बढेको आलोचना तर्फ संकेत गर्दै मन्त्री पोखरेलले सरकार कुनै पनि विषय विरोधी नभएको भन्दै उक्त निर्णयको बचाउ गरे ।

'सरकार न गणित विरोधी हो, न विज्ञान विरोधी' विश्व योग दिवस मनाउने सन्दर्भमा बुधबार मन्त्रालयमा आयोजित कार्यक्रममा उनले भने, 'समृद्ध देश सुखी नेपाली निर्माण गर्ने सरकारको लक्ष्यमा पाठ्यक्रम निर्माण महत्वपूर्ण पक्ष हो, त्यही योजना अनुसार मन्त्रालयले काम अघि बढाएको छ ।'

भागावण्डाका आधारमा पाठ्यक्रम बन्ने परिपाटिको अन्त्य गरेको उनले बताए ।

धेरै लडेर संविधान बनेको भन्दै उनले त्यसकै मर्म अनुसार पठन पाठनका काम अघि बढाउन पाठ्यक्रममा जिवनोपयोगी शिक्षालाई समेट्न लागेको बताए ।

उक्त विषयको पाठ्यक्रम बनाउन पाठ्यक्रम विकास केन्द्रले विमल फुयालको संयोजकत्वमा एक कार्यदल  बनाएको छ । यसै बर्षबाट नयाँ पाठ्यक्रमबाट पठन पाठन गर्ने योजना अनुसार मन्त्रालयले विभिन्न विषयको पाठ्यक्रम बनाउन छुट्टा छुट्टै समिति बनाईरहेको छ । तर निजी क्षेत्रका पाठ्यपुस्तक प्रकाशकहरुले आफूहरुले यस अघि नै छापेको कितावहरु बेचिसके पछि मात्रै अर्को बर्षबाट नयाँ पाठ्यक्रम अनुसार पठन पाठन गर्नु पर्ने भन्दै उच्च राजनीतिक तहबाट शिक्षा मन्त्रालयमा दवाव दिएको श्रोतले जनाएको छ ।

पढ्नुहोस् : शिक्षा मन्त्रालयमा व्यापारीको दवाव, कक्षा ११ को पाठ्यक्रम बनाउन समिति गठन

उक्त दवावकै कारण गत जेठ १८ गते बसेको पाठ्यक्रम विकास तथा मूल्याँकन परिषद्बाट स्विकृत प्रारुपलाई शिक्षा मन्त्रालयले मन्त्रीपरिषद्बाट पारित गराउने प्रकृया शुरु गरेको हो । यस अघि शिक्षा मन्त्रीको अध्यक्षतामा रहेको उक्त समितिले गरेको निर्णय नै पाठ्यक्रम प्रारुप गर्न काफि हुन्थ्यो । 

प्रतिक्रिया