Edukhabar
शुक्रबार, ०७ बैशाख २०८१
खबर/फिचर

एसईई नतिजा असार दोश्रो साता सम्ममा, एडुखबरबाट हेर्न सकिने

विहीबार, ३१ जेठ २०७५

भक्तपुर - यस बर्षको माध्यमिक शिक्षा परीक्षा (एसईई) नतिजा असार दोश्रो साता सम्ममा सार्वजनिक गर्ने तयारी गरेको परीक्षा नियन्त्रण कार्यालयले जनाएको छ । यस बर्ष प्राविधिक धारको पनि एकै पटक नतिजा सार्वजनिक गर्ने कार्यालयको तयारी छ ।

विगत बर्षहरुमा जस्तै यस बर्ष पनि नतिजा एडुखबरबाट हेर्न सकिने गरी परीक्षा नियन्त्रण कार्यालय र एडुखबर बिच सम्झौता भएको छ । कार्यालयले नतिजा सार्वजनिक गरेपछि एडुखबरमार्फत् विद्यार्थी तथा अभिभावकले नतिजा थाह पाउने छन् ।

एडुखबर सहित अन्य संस्थाहरुसँग सम्झौता गर्न आयोजित कार्यक्रममा बोल्दै नियन्त्रक अम्बिका प्रसाद रेग्मीले विगतकै जस्तो पद्धतीमा नतिजा सार्वजनिक गर्ने गरी कार्यालयले अन्तिम चरणको काम गरिरहेको बताए ।

उक्त अवसरमा उप नियन्त्रक डिल्लिराम लुईटेलले विभिन्न अप्ठ्याराका बिच कार्यालयले काम गर्नु परेकाले विगत बर्षहरुको तुलनामा केही ढिलो हुन गएको बताए ।

'सम्भवतः असार ८ गते भन्दा पछि नजाने गरी हामीले काम गरिरहेका छौं' उनले भने, 'कुनै ठूलै प्राविधिक समस्या आईपर्यो भने मात्रै हो नत्र त्यो भन्दा पर जान्न ।'

नतिजाको प्राविधिक कार्य गर्दै आएका ईञ्जिनियर अनुप न्यौपानेको सरुवाले गर्दा काममा असजिलो भोग्नु परेको उनको गुनासो छ ।

'लामो समय देखि परीक्षाको काममा संलग्न अनुप जीको बढुवा संगै सरुवा भयो, अर्को जनशक्ति ब्यवस्थापनमा हामीले निकै समय मन्त्रालय र विभागमा ताकेता गर्नु पर्यो, त्यसले पनि हामीलाई काम गर्न गाह्रो भयो' उनले भने 'यही विचमा जिल्ला शिक्षा कार्यालयहरु हटाउने सरकारको निर्णयले पनि उत्तर पुस्तिका संकलन देखि अन्य ब्यवस्थापकीय काममा अलमल भयो ।'

न्यौपानेको बढुवा सँगै कम्पनी रजिष्टारको कार्यालयमा सरुवा भए पछि पाठ्यक्रम विकास केन्द्रका ईञ्जिनियर नसिव आचार्य मार्फत् कार्यालयले प्राविधिक काम गरिरहेको छ । बल्ल बल्ल तोकिएका प्राविधिकले दुई तिरै काम गर्नु पर्दा चुस्त हुन नसकेको भन्दै लुईटेलले ढिलो हुनाको बचाउ गरे ।

कक्षा १० को अन्तिममा लिईने यस बर्षको परीक्षामा सहभागी हुन देशभरबाट ४  लाख ८५ हजार ५ सय ८६ परीक्षार्थीले फारम भरेका थिए । परीक्षामाक ति सहभागी भधए भन्ने कुरा नतिजा संगै सार्वजनिक हुने छ ।

शिक्षा ऐनमा भएको आठौं संशोधनले विद्यालय शिक्षालाई कक्षा १२ सम्म हुने ब्यवस्था गरे पनि राष्ट्रिय परीक्षा बोर्डको असक्षमताका कारण परीक्षाको व्यवस्थापन साविककै परीक्षा नियन्त्रण कार्यालय मार्फत् भएको हो । आगामी वर्षदेखि प्रदेश स्तरमा सञ्चालन गर्ने शिक्षा मन्त्रालयको तयारी छ ।

माध्यमिक शिक्षा पाठ्यक्रम, २०७१ अनुसार नयाँ पाठ्यक्रम अनुसारका प्रश्नपत्रका आधारमा परीक्षा सञ्चालन भएको थियो । यस अनुसार अनिवार्य विषय तर्फ गणित बाहेक बाँकी सबैमा प्रयोगात्मक परीक्षाको व्यवस्था गरिएको थियो ।

प्रतिक्रिया