Edukhabar
शुक्रबार, ०७ बैशाख २०८१
खबर/फिचर

प्राविधिक, व्यवसायिक शिक्षा तथा तालिममा स्नातकोत्तर

शुक्रबार, ०१ असार २०७५

ललितपुर - प्राविधिक तथा व्यवसायिक शिक्षामा नेतृत्व तयार गर्ने उद्धेश्य सहित काठमाडौं विश्वविद्यालय शिक्षा संकायले प्राविधिक, व्यवसायिक शिक्षा तथा तालिममा स्नातकोत्तर तहको पठन पाठन शुरु गर्ने भएको छ । प्राविधिक शिक्षा क्षेत्रमा देखिएको दक्ष नेतृत्वको अभाव हटाउँदै यस क्षेत्रलाई थप बलियो बनाउन आवश्यक जनशक्ति तयार पार्न पठन पाठन शुरु गर्न लागेको विश्वविद्यालयले जनाएको छ ।

यस अघि जुनसुकै संकायबाट स्नातक गरेको विद्यार्थी २ बर्षे उक्त कोर्षका लागि योग्य हुने विश्वविद्यालयको स्कुल अफ एजुकेशनका डीन प्रा.डा. महेशनाथ पराजुलीले बताए । यसका लागि १० हजार धरौटी सहित २ लाख ३५ हजार शुल्क तोकिएको छ । धरौटी रकम विद्यार्थीले पढाई पुरा गरेपछि फिर्ता  पाउने छन् । बाँकी शुल्क विद्यार्थीले ८ किस्तामा तिर्न सक्ने छन् ।

आउँदो अगष्टबाट शुरु हुने यो कोर्ष पढेर सके पछि विद्यार्थीले पढाउने सहित प्राविधिक क्षमतासँग सम्बन्धित कम्पनिहरुमा काम पाउन सहज हुने पराजुलीले दावी गरे ।

'अहिले सम्बन्धित विषयका विज्ञ विना नै प्राविधिक विषयको पठन पाठन भईरहेको छ, त्यति मात्रै हैन, प्राविधिक शिक्षाको योजना निर्माण देखि नेतृत्व प्रदान सम्म योग्य जनशक्तिको अभाव छ' उनले दावी गरे, 'उक्त अभावलाई देश भित्रकै योग्य जनशक्तिबाट पुरा गर्ने हाम्रो उद्धेश्य हो ।'

पहिलो ब्याजमा २५ जना विद्यार्थीलाई पढाउने विश्वविद्यालयको योजना छ ।

प्राविधिक शिक्षाका लागि आवश्यक नेतृत्व हातका औलामा गन्न सकिने अवस्था भएकोले देशमै उत्पादन गरेर यस क्षेत्रको विकास र विस्तार गर्न कार्यक्रम शुरु गर्न लागेको पराजुलीले बताए । यो कोर्षले सीप सिकाउने भन्दा पनि प्राविधिक तथा व्यवसायिक शिक्षाको क्षेत्रमा आवश्यक नेतृत्वको अभाव पुर्ति गर्ने उद्धेश्य लिएको उनले बताए ।

'देशमा प्राविधिक शिक्षाको ईतिहास झण्डै ८० बर्षको भईसक्यो तर अझै पनि यसको महत्व बुझाउन सकिएन, त्यसैले योग्य नेतृत्व तयार गरेर प्राविधिक शिक्षाको विकास गर्दै आयआर्जनमा वृद्धि गराउने बृहत्तर उद्धेश्य साथ कार्यक्रम शुरु गर्न लागेका हौं' उनले भने, 'यो कोर्ष पढेका विद्यार्थी प्राविधिक शिक्षा क्षेत्रको अध्यापक, योजनाकार, ब्यवस्थापक तथा नेतृत्व कर्ता हुन सक्ने छन्, जसको माग देशमा उच्च छ ।'

सरकारले प्राविधिक शिक्षाको महत्वलाई आत्मसात गरेर यसको विस्तार गर्ने नीति अख्तियार गरेको छ । प्रधानमन्त्री केपी ओलीले पद वहाली गरेकै दिनमा सबै पालिकामा एक एक वटा प्राविधिक शिक्षालय खोल्ने योजनामा हस्ताक्षर गरेका थिए । शिक्षा मन्त्री गिरिराजमणि पोखरेलले पनि आफ्नो कार्ययोजनामा प्राविधिक शिक्षालाई जोड दिएका छन् ।

सरकारको प्राथमिकता र विश्वविद्यालयले शुरु गर्न लागेको नयाँ कार्यक्रमका विच संयोग मात्रै परेको पराजुलीले बताए ।

'सरकारको प्राथमिकतामा प्राविधिक शिक्षा पर्नु सुखद् कुरा हो, तर हामीले नयाँ कार्यक्रम शुरु गर्नु र सरकारको प्राथमिकतामा पर्नुमा कुनै प्रत्यक्ष सम्बन्ध छैन' उनले भने, 'बरु, राज्यको उक्त नीति अनुसार जनशक्ति तयार पार्न यो कार्यक्रमले सघाउने छ ।'

यसैविच स्विजरल्याण्ड स्थित स्विस नेशनल साईन्स फाउण्डेशन र विश्वविद्यालय विच पनि प्राविधिक शिक्षाका क्षेत्रमा मिलेर अनुसन्धान गर्ने सहमती भएको पराजुलीले बताए । नेपाल सहित कोष्टारिका, चिली र वेनीन गरी ४ देशमा हुने प्राविधिक शिक्षा अघि र पछिको तुलनात्मक अध्ययन गर्ने अनुसन्धानात्मक परियोजना पनि उक्त विषयसँग नै सम्बन्धित रहेको उनको भनाई छ । उक्त परियोजना अन्र्तगत नेपाल आउने विज्ञहरुले समेत विद्यार्थीलाई पठन पाठन गराउने पराजुलीले बताए । यसका अलावा विभिन्न संस्थाहरुले आफ्ना कर्मचारीलाई उक्त कोर्षमा भर्ना गर्ने रुची देखाएकोले आफूहरु थप उत्साही भएको पराजुलीले बताए ।

प्रतिक्रिया