Edukhabar
शुक्रबार, ०७ बैशाख २०८१
अन्तैवाट

सम्पत्ति विवाद अझै टुङ्गिएन

आइतबार, ०३ असार २०७५

काठमाडौं ३ असार /  त्रिभुवन विश्वविद्यालय र कृषि तथा वनविज्ञान विश्वविद्यालयबीचको लामो समयदेखिको सम्पत्ति विवाद अझै टुङ्गो लागेको छैन ।

कृषि तथा वनविज्ञान विश्वविद्यालयको आठौँ वार्षिकोत्सवका अवसरमा शनिबार हेटौँडामा आयोजित कार्यक्रममा सहभागीहरुले दुई विश्वविद्यालयबीचको विवाद छिटो अन्त्य गर्न जोड दिएका छन् । कृषि तथा वन विज्ञान विश्वविद्यालयको ऐनमा नै त्रिविको हेटौँडास्थित वन विज्ञान संकाय र चितवनको कृषि क्याम्पसको केही जग्गासहित भौतिक संरचना कृषि तथा वनविज्ञान विश्वविद्यालयको हुने स्पष्ट व्यवस्था छ ।
सरकारले समयमा टुङ्गो नलगाउँदा र दुबै विश्वविद्यालयका पदाधिकारीहरुको अडानका कारण विवाद समाधान हुन सकेको छैन । यसले गर्दा बेलाबखत अध्यापनसमेत प्रभावित हुने गरेको छ । कृषि तथा वन विज्ञान विश्वविद्यालयका पदाधिकारीहरुले विगतमा त्रिविमा अध्यापन गर्ने गरेका थिए ।

कार्यक्रममा प्रदेश ३ का मुख्यमन्त्री डोरमणि पौडेलले विश्वविद्यालयभित्रको विवादलाई छिटोभन्दा छिटो समाधान गर्नुपर्ने बताउनुभएको छ ।

उहाँले विश्वविद्यालय कसैको निजी सम्पत्ति नभएकोले समस्यालाई समाधान गर्नुपर्नेमा जोड दिंदै विश्वविद्यालय प्रदेश सरकारको मातहतमा रहने र बिवाद नआउने बताउनुभयो । प्रतिनिधि सभा सदस्य कृष्णप्रसाद दाहालले विश्वविद्यालयभित्रको विवाद समाधान भएमात्र विश्वविद्यालय सुचारुरुपमा सञ्चालन हुने बताउनुभयो ।

प्रदेश ३ का उद्योग, वन तथा पर्यटनमन्त्री अरुण नेपालले धेरै नागरिक कृषिमा निर्भर भए पनि प्रतिफल नपाएको बताउँदै विश्वविद्यालयले युवालाई कृषि प्रति आकर्षित गर्नुपर्नेमा जोड दिनुभयो ।

गोरखापत्रबाट

प्रतिक्रिया