Edukhabar
विहीबार, १३ बैशाख २०८१
अन्तैवाट

विद्यालय पुनर्निर्माणमा स्थानीयको अवरोध

सोमबार, ०४ असार २०७५

काठमाडौं ४ असार / विद्यालय हाता प्रवेश गरी स्थानीयले नाराबाजी र हुलदंगा गरेपछि काठमाडौं महानगर–१० बानेश्वरस्थित रत्नराज्य माविको भवन पुनर्निर्माण अवरुद्ध भएको छ ।

काभ्रेको पाँचखाल नगरपालिकाका मेयरसमेत रहेका स्थानीय महेश खरेलको नेतृत्वमा गएको समूहले विद्यालय निर्माण गर्दा मन्दिरको जग्गा मिचिएको भन्दै नाराबाजी गरेको हो । उक्त समूहले यसअघि पनि अवरोध गर्दै आएकाले पुनर्निर्माणमा ढिलाइ भएको विद्यालयले जनाएको छ ।

जिल्ला अदालत, काठमाडौंले यसअघि विद्यालय पुनर्निर्माण नरोक्नू भनी आदेश दिएकामा त्यसविपरीत खरेलसहितका स्थानीयले अवरोध गरेका हुन् । विद्यालय र स्थानीय महादेव मन्दिरको जग्गाका विषयमा भएको विवादमा शनिबार खरेलको नेतृत्वमा विद्यालय परिसरमै स्थानीय र युवाले नाराबाजी गरेका थिए । हुलदंगापछि पठनपाठन बन्द गरिएको विद्यालयले जनाएको छ ।

‘शान्तिसुरक्षाका लागि विद्यालय बन्द गर्नुपर्ने अवस्था आयो । निर्माणको काम पनि रोकिएको छ,’ प्रधानाध्यापक गीता खरेलले भनिन्, ‘शिक्षामन्त्रीदेखि प्रशासनसम्म घटनाबारे जानकारी दिएका छौं ।’ मेयर नेतृत्वको समूहले पुनर्निर्माणका क्रममा रहेको विद्यालय भवनको ढलानसमेत भत्काइदिएको विद्यालयले जनाएको छ । घटनाको जानकारी दिन आइतबार अभिभावक र शिक्षक शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालय पुगेका थिए ।

मेयर खरेलले मन्दिर र विद्यालयबीच तारबार नलगाएसम्म अवरोध जारी रहने भन्दै विद्यालय व्यवस्थापनलाई चेतावनी दिएका थिए । उनले ‘सामुदायिक विद्यालयमा यति धेरै विद्यार्थी पढाउनु आवश्यक छैन’ भन्दै भाषणसमेत गरेका थिए । रत्नराज्य शैक्षिक अवस्था राम्रो रहेका राजधानीका सामुदायिक विद्यालयमध्ये एक हो, जहाँ २ हजार १ सय विद्यार्थी अध्ययनरत छन् ।

पुनर्निर्माण प्राधिकरणको आयोजना कार्यान्वयन इकाइमार्फत भवन निर्माण गर्न ठेक्का स्वीकृत भएको थियो । एसियाली विकास बैंकको ५ करोड ५० लाख लागतमा बन्न लागेको भवनबारे दुई पक्षबीच विवाद चर्केको हो । ६ महिनादेखि पुनर्निर्माणले तीव्रता पाउन सकेको छैन ।

महादेव गुठीको जग्गामा रहेको मन्दिर च्यापेर विद्यालय भवन बनाउन लागिएको आरोप स्थानीयको छ । प्रधानाध्यापक खरेलले भने यसअघि विद्यालयकै चमेनागृह रहेको ठाउँमा भवन बनाउन लागिएको बताइन् । ‘केही निजी विद्यालय सञ्चालकको उक्साहटमा सामुदायिक विद्यालयको उन्नति देख्न नचाहनेले पहिल्यैदेखि अप्ठ्यारो पार्दै आएका छन्,’ एक शिक्षकले भने।

वडाध्यक्ष रामकुमार केसीले भने विद्यालय एकलौटी ढंगबाट अघि बढ्न थालेपछि स्थानीयले विरोध जनाएको बताए । ‘दुवै पक्षको कुरा सुनेर मिलाउने प्रयास गरेको छु,’ उनले भने। विद्यालय व्यवस्थापन समिति अध्यक्ष केशवमणि ओलीले मन्दिरको जग्गा अतिक्रमण नगरे पनि दोहोरो विवादले स्थानीय भड्केको बताए । उनले भने, ‘विद्यालय र मन्दिर एकअर्काका सहयोगी हुनुपर्छ ।’

मन्दिरका नाममा २०७२ सालमा बानेश्वर महादेवस्थान संरक्षण समाज नामक गैरसरकारी संस्था दर्ता भएको थियो । त्यसयता विद्यालयमा हस्तक्षेप बढेको शिक्षकहरूको गुनासो छ ।

मेयर खरेलले स्थानीयको आग्रहमा आफू मन्दिर संरक्षणका लागि गएको प्रतिक्रिया दिए । ‘मैले पढाइमा बाधा पुर्‍याएको छैन, बिदाको दिन गएको हो । मन्दिरका लागि खाली ठाउँ चाहिन्छ भन्ने स्थानीयको माग हो,’ उनले थपे, ‘मेयर भएर म गएको हैन, स्थानीय भएर गएको हुँ ।’ स्थानीयसँग सरसल्लाह र समन्वय नगरी विद्यालय मनोमानी तरिकाले अघि बढेको आरोप उनले लगाए ।

कान्तिपुरमा सुदीप कैनीले लेखेका छन् ।

प्रतिक्रिया