Edukhabar
विहीबार, १३ बैशाख २०८१
अन्तैवाट

विद्यालयबाट ‘रकम असुल्न’ शैक्षिक हडताल

सोमबार, ०४ असार २०७५

काठमाडौं ४ असार / केही दिनअघि नेत्रविक्रम चन्द ‘विप्लव’ नेतृत्वको नेपाल कम्युनिस्ट पार्टी (नेकपा) निकट विद्यार्थी संगठनले काठमाडौं पश्चिम भेगमा नाम चलेको एक निजी विद्यालयसँग ‘मोटो रकम’ माग गर्यो । विद्यालय सञ्चालक र त्यहाँ पैसा माग्न पुगेका सो संगठनका विद्यार्थीबीच केहीबेर रकममा बार्गेनिङ भयो।

नागरिकका अनुसार कुरा नमिलेपछि ती विद्यार्थी नेताहरू पछि आउने भनेर हिँडे । स्कुल सञ्चालक सकेसम्म कम रकम दिने र सो विद्यार्थी संगठन बढी असुल्ने प्रयासमा छन् । ‘हामीसँग लामो समयदेखि विप्लव निकट विद्यार्थी संगठनका नेताले रकम तोकेरै सहयोग गर्नुप¥यो भन्दै आइरहेका छन्,’ स्कुल सञ्चालकले भने, ‘नदिऊँ स्कुलमा आक्रमण गर्लान् भन्ने त्रास छ, दिऊँ भने विद्यालयको आर्थिक हैसियत छैन ।’ ती सञ्चालकले आफूसँग माग भएको रकमबारे भने खुलाउन चाहेनन्।

त्यस्तै ललितपुरको सानेपास्थित एक निजी विद्यालय सञ्चालकका अनुसार विप्लव नेतृत्वको नेकपा निकट विद्यार्थी संगठनले शुल्क वृद्धि घटाउनुपर्ने निहुँ बनाएर स्कुलहरुसँग ‘मोटो रकम’ असुल्न थालेको छ । ‘निजी विद्यालयले चर्को शुल्क लिएका छन् भने सम्बन्धित सरकारी निकायले अनुगमन गर्न सक्छ, कारबाही पनि गर्न सक्ने अधिकार छ,’ नाम उल्लेख नगर्ने सर्तमा ती सञ्चालकले भने, ‘राजनीतिक दलका भ्रातृ संगठनले शिक्षण शुल्क घटाउने निहुँमा जबरजस्ती लाखौं रकम मागेर विद्यालयमा त्रासको वातावरण सिर्जना गरिरहेका छन् ।’

चालू शैक्षिक सत्र सुरु भएयता करिब दुई महिनाको अवधिमा शुल्क घटाउने निहुँमा दुईपटक शैक्षिक हडताल भएको छ । यसबाट बालबालिका पढ्न पाउने अधिकारबाट वञ्चित भए । विप्लव नेतृत्वको नेकपा निकट अखिल नेपाल राष्ट्रिय स्वतन्त्र विद्यार्थी युनियन (क्रान्तिकारी) ले सरकारले आफ्ना कार्यकर्ता पक्राउ परेको निहुँमा आइतबार विद्यालय तहदेखि उच्च शिक्षासम्मका शिक्षण संस्थाहरु बन्द आह्वान गरेपछि पठनपाठन ठप्प भयो ।

देशभरका ८० लाख विद्यार्थी मर्कामा परे । यसअघि आठ विद्यार्थी संगठनले जेठ २३ गते निजी विद्यालयले बढाएको शुल्क फिर्ता लिनुपर्ने माग राखेर शिक्षण संस्था ठप्प पारेका थिए।अभिभावक संघ, नेपालका अध्यक्ष केशव पुरी पक्राउ परेका कार्यकर्ता छुटाउन दलका विद्यार्थी संगठनले शिक्षण संस्था बन्द गर्नुभन्दा गृह मन्त्रालयमा दबाब दिनुपर्ने बताउँछन् ।

उनले जुनसुकै माग पूरा गराउने हतियार विद्यालय र बालबालिकालाई बनाइनु गैरकानुनी र अराजक कार्य भएको बताए । ‘निजी विद्यालय सबैले विद्यार्थी भर्ना गरिसके, शुल्क लिइसके, सरकार पनि केही बोल्दैन,’ पुरीले भने,‘यस्तो अवस्थामा विद्यार्थी संगठनको आन्दोलनको कुनै तुक छैन ।’

निजी तथा आवाशीय विद्यालय अर्गनाइजेसन नेपाल (प्याब्सन) का अध्यक्ष विजय सम्बाहाम्फेले सरकारको लाचारीको फाइदा उठाउँदै जो कोहीले पनि शैक्षिक संस्थामाथि हमला गरिरहेकोमा भन्दै दुखेसो पोखे । उनले सरकारले विद्यालयलाई शान्ति क्षेत्र घोषणा गरी निर्देशिका बनाए पनि कार्यान्वयनमा ल्याउन नसकेको आरोप लगाउँदै भने, ‘चालू शैक्षिक सत्रमै जेठ र असारमा गरी दुईपटक विद्यालय बन्द भइसक्दा पनि दोषीलाई कारबाही गर्न सरकार निरीह बन्यो ।

कहिले शुल्क वृद्धि फिर्ता र कहिले विद्यार्थी नेता छुटाउने निहुँमा देशभरिका शैक्षिक संस्था ठप्प बनाइन्छ तर गृह मन्त्रालय र शिक्षा मन्त्रालय कुनै प्रक्रियासमेत जनाउँदैनन्,’ उनले भने, ‘बन्द भनेका बेला विद्यालय खोल्दा डरत्रास हुन्छ । सरकारले जिम्मेवारी लिएर शैक्षिक संस्था निर्वाधरुपमा सञ्चालनको प्रत्याभूति गर्नुपर्छ।’

राष्ट्रिय निजी तथा आवाशीय विद्यालय एसोसिएसन नेपाल (एनप्याब्सन) का अध्यक्ष रितु सापकोटाले यो पटकको बन्द शैक्षिक मागसँग सम्बन्धित नभए पनि विद्यार्थी संगठनले शैक्षिक संस्था बन्द गराई बालबालिकाको भविष्यमाथि खेलवाड गरेको तर सरकारले कुनै प्रतिक्रिया नजनाएको भन्दै आक्रोश व्यक्त गरे । उनले निजी विद्यालयले जथाभाबी शुल्क बढाएको भए अनुगमन र कारबाही गर्ने निकाय शिक्षा मन्त्रालय किन चुप लागेको भन्ने प्रश्न गरे।

उनले भने, ‘विद्यार्थी संगठनले निजी विद्यालयलाई पैसा दिनुपर्ने भन्दै दबाब बढाएका छन्, हामीहरु खुलेर बोल्दा भौतिक आक्रमणमा परिएला भन्ने डर छ । एउटा सूचनाकै भरमा सम्पूर्ण शैक्षिक संस्था बन्द गर्नुपर्छ । यसमा गृह र शिक्षा मन्त्रालयले कुनै प्रतिक्रिया दिँदैनन् ।’ उनले थपे, ‘आइतबार शिक्षण संस्था बन्द आह्वानको माग शिक्षासँग सम्बन्धित छैन ।’

विप्लव निकट अखिल क्रान्तिकारी विद्यार्थी संगठनका अध्यक्ष चिरञ्जीवी ढकालले आफूहरुले शैक्षिक क्षेत्रको हितमै विगत एक महिनादेखि शान्तिपूर्ण आन्दोलन गर्दै आए पनि सुनुवाइ नभएकाले बाध्य भएर शिक्षण संस्था बन्दको बाटो अपनाएको बताए । उनले निजी विद्यालयले विभिन्न शीर्षकमा चर्को शुल्क बढाएर असुल गर्दासमेत शिक्षा मन्त्रालय केही नबोल्नुको अर्थ ती विद्यालय सञ्चालकले नै मन्त्रालयलाई सञ्चालन गरेको बुझिएको बताए ।

‘हामीले टायर बालेका छैनौं , ढुंगामुडा र तोडफोड केही गरेका छैनांै,’ उनले भने, ‘कुनै स्कुल र कलेजसँग चन्दासमेत मागेर दुःख दिएका छैनौं । ’ढकालले शिक्षा मन्त्रालय, एनप्याब्सन र प्याब्सनसँग पटकपटक भएका सहमति कार्यान्वयन नभएको बताए । उनले भने, ‘विद्यार्थीको हककै लागि निस्वार्थ भावले आन्दोलन गर्दासमेत हाम्रा कोषाध्यक्ष नरेन्द्र विक, केन्द्रीय सदस्य प्रकाश तिरुवालगायतलाई प्रहरीले जेठ २८ गते पक्राउ गरेको छ । साथीहरु रिहा नभएसम्म थप कडा आन्दोलनमा उत्रने छौं ।’

शिक्षा मन्त्रालयका प्रवक्ता बैकुन्ठ अर्यालले आइतबारको शैक्षिक हड्तालबारे अनभिज्ञता प्रकट गरे । उनको जबाफ थियो, ‘बन्दबारे शिक्षा मन्त्रालयमा कुनै सूचना छैन ।’ सरकारले विद्यालय र बालबालिकालाई शान्ति क्षेत्र कायम गर्न निर्देशिका बनाएर अघि बढेको जानकारी दिँदै उनले बालबालिकालाई पढाइबाट वञ्चित पार्ने अधिकार कसैलाई नभएको बताए । ‘मन्त्रालयले विद्यार्थीसँग छलफल गरी समस्या समाधानको निकास खोज्नुपर्छ,’ उनले भने ‘अब शैक्षिक संस्था बन्दमुक्त पार्ने दीर्घकालीन उपाय खोज्न मन्त्रालय छलफल गर्छ ।’

नागरिकमा  रूबी रौनियारले लेखेकी छन् ।

प्रतिक्रिया