Edukhabar
शनिबार, ०८ बैशाख २०८१
गतिविधि

सिकाइ सुधार्ने हो भने खारेज गरौं शिक्षा संकाय

मंगलबार, ०५ असार २०७५

काठमाडौं - शिक्षा सचिव खगराज बरालले अन्य संकाय पढे पनि शिक्षक बन्ने बाटो खुल्ला नगरे सम्म विद्यार्थीको सिकाइमा चुनौती यथावत रहने बताएका छन् । सबै भन्दा कमजोर विद्यार्थीले शिक्षा शास्त्र संकाय पढ्न पाउने र तीनै ब्यक्ति शिक्षक बन्ने हुँदा सिकाइ स्तर सुधार नभएको उनको तर्क छ ।

'मेरो पनि पढाई त शिक्षा नै हो, तर पछिल्लो समय कम ग्रेड ल्याए पनि शिक्षा शास्त्र पढ्न पाईने भए पछि राम्रो ग्रेड ल्याएका विद्यार्थीलाई शिक्षक तर्फ आर्कषित गर्न सकिएन' शिक्षा पत्रकार समूहले गरेको अन्तक्र्रियामा बोल्दै बरालले भने, 'भन्दा त विरोध होला तर स्कुल अफ एनुकेशन खारेज गरौं ।'

सक्षम शिक्षक विना सिकाइमा सुधार असंभव भएको बताउँदै उनले विज्ञान र मानविकी पढेकाहरुलाई पनि शिक्षक बन्ने वातावरणको खाँचो रहेको उल्लेख गरे ।

'सिकाइ प्रणालीमा सरलीकरण गर्दै शिक्षकको क्षमता विकास गर्नु पर्ने छ, बरु त्यस्ता शिक्षक तयार पारौं जसको तलब सचिवको भन्दा पनि धेरै होस्' उनले भने, 'शिक्षकले मिहिनेतका साथ राम्रो पढाइदिने हो भने रुख मुनी पढाए पनि उपलब्धि बढ्छ ।'

२०३९ देखि शुरु गरेको सिकाइ र पहुँचमा सुधार तथा क्षमता विकास गर्ने नारा अहिले सम्म पनि दोहोर्याई रहनु पर्दा दुःख लागेका बताउँदै बरालले सक्षम शिक्षक उत्पादन र विकासमा सरकार लाग्ने बताए ।

कार्यक्रममा सहभागी शिक्षाका सरोकारवालाहरुले विद्यालय स्तरको खस्कदो सिकाइ उपलब्धि प्रति चिन्ता व्यक्त गरेका छन् । कार्यक्रममा सहभागीहरुले  सरकारको ध्यान भर्ना अभियानबाट विद्यालय भित्र्याइएका बालबालिकालाई टिकाएर गुणस्तरीय शिक्षण सिकाइ गर्नेतर्फ केन्द्रित हुनुपर्ने बताए ।

शिक्षाविद प्रा.डा. विद्यानाथ कोइरालाले शिक्षकको योग्यताको आधारमा वर्गिकरण गरी उत्कृष्टलाई पुरस्कृत र सम्मानका साथै, कमजोर शिक्षकलाई  तत्काल हटाउनु पर्ने बताए । सिकाइ सुधारका लागि स्थानीय सरकारलाई क्रियाशील बनाउनु पर्ने बताउँदै उनले उदार कक्षा नीतिको पुनर्मूल्यांकन गर्नुपर्नेमा जोड दिए ।

सूर्यविनायक नगरपालिका  भक्तपुरकी उपमेयर जुना बस्नेतले शिक्षकहरुलाई जिम्मेवार नबनाई सिकाइ सुधार नहुने भन्दै शिक्षकहरुलाई त्यसको लागि प्रोत्साहित गर्नुपर्ने बताईन् ।

पूर्व शिक्षामन्त्री गंगालाल तुलाधरले कमजोर सिकाइ सुधारका सम्बन्धमा एकअर्कालाई दोष लगाउनुभन्दा सवै आत्मआलोचित हुँदै आ–आफ्नो दायित्व पुरा गर्ने तर्फ जुट्नुपर्ने बताए ।

कार्यक्रममा शिक्षा विभागका महानिर्देशक बाबुराम पौडेलले जारी दोस्रो चरणको भर्ना अभियान पश्चात् सिकाइ सुधारका लागि विशेष कार्यक्रम ल्याउने उल्लेख गरे ।

कार्यक्रममा समुहकी अध्यक्ष रोश्ना सुब्बाले निरन्तर घटिरहेको सिकाइ स्तर र धनुषा जिल्लाको अध्ययन प्रस्तुत गरेकी थिईन् ।

कार्यक्रममा शिक्षक, शिक्षाकर्मी सहित स्थानीय सरकारी निकायका प्रतिनिधिको उपस्थिती थियो । 

प्रतिक्रिया