Edukhabar
बुधबार, १२ बैशाख २०८१
अन्तैवाट

योग शिक्षा विद्यालय तहबाटै

शुक्रबार, ०८ असार २०७५

काठमाडौं ८ असार / सरकारले विद्यालयस्तरका पाठ्यपुस्तकमा पनि योग शिक्षा समावेश गर्ने भएको छ । चौथो अन्तर्राष्ट्रिय योग दिवसका अवसरमा आयोजित कार्यक्रममा स्वास्थ्य र शिक्षामन्त्रीले आयुर्वेद पद्धतिको विकास र विस्तारलाई अगाडि लैजान विद्यालय शिक्षाबाटै योगको सुरुवात गर्ने जनाएका हुन् ।

कार्यक्रमम स्वास्थ्य तथा जनसंख्यामन्त्री उपेन्द्र यादवले योगको सुरुवात नेपालबाट भएको औँल्याउँदै यसको विकास अपरिवार्य रहेको बताए । उनले नसर्ने रोगका कारण मृत्यु हुनेको संख्या ६१ प्रतिशत पुगेको जानकारी दिँदै यसलाई कम गर्ने एक मात्र विकल्प योग भएको प्रस्ट्याए । उनले भने, ‘अब सरकारले विद्यालय तहबाट योगबारे सिकाउने, पढाउने र अभ्यास गराउनेछ । त्यसका लागि विद्यालयका शिक्षकलाई तालिम दिनेछौँ ।’

नयाँ पत्रिकाका अनुसार कार्यक्रममा शिक्षामन्त्री गिरिराजमणि पोखरेलले आयुर्वेद पद्धतिको विकास र विस्तारलाई अगाडि लैजान विद्यालय शिक्षाबाटै योगको सुरुवात गर्ने प्रतिबद्धता जनाए । उनले आफू शिक्षामन्त्री भएपछि नयाँ पाठ्यक्रममा योगको विषय विद्यालय तहमै समावेश गराउने निर्णय गरेको बताए । सो अवसरमा मन्त्री पोखरेलले आयुर्वेद विश्वविद्यालयको स्थापना गर्ने पनि बताए । उनले भने, ‘भोजपुरकी स्व. योगमायाले योगको सुरुवात गरेको स्मरण गर्दै सरकारले संखुवासभामा आयुर्वेद विश्वविद्यालय खोल्ने तयारी गरेको छ ।’

नयाँ पत्रिकामा अर्जुन अधिकारीले लेखेका छन् ।

प्रतिक्रिया