Edukhabar
शुक्रबार, ०७ बैशाख २०८१
अन्तैवाट

चुहिने छानोमुनि चिसो भुइँमा बसेर पढ्न बाध्य

शुक्रबार, ०८ असार २०७५

काठमाडौं ८ असार / महोत्तरीको मटिहानी नगरपालिका–९ सिमरदहीको लक्ष्मीनारायण माविका विद्यार्थी चुहिने छानोमुनि चिसो भुइँमा बसेर पढ्न बाध्य छन् । विद्यालयमा न पर्याप्त भौतिक सामग्री छ, न बस्ने सुविधाजनक व्यवस्था । वर्षामा पानी पर्न थालेपछि विद्यार्थीलाई बिदा दिइन्छ । तर, भिजेर घर जान नसक्दा विद्यालयमै जसोतसो ओत लागेर बस्ने गरेको अभिभावक बताउँछन् ।

नयाँ पत्रिकाका अनुसार बेलायत सरकारको सहयोगमा विद्यालयका लागि दुईकोठे भवन बनाइएको छ । तर, एउटा कोठा कार्यालय र अर्को माथिल्लो कक्षाका लागि प्रयोग गरिएको छ । केही दिनअघि अनुगमनमा गएको स्थानीय जनप्रतिनिधिको टोलीमा सहभागी प्रदेश सांसद अभिराम शर्माका अनुसार कक्षा १० सम्म पढाइ हुने विद्यालयमा दुई कोठा पर्याप्त छैन ।

विद्यालयमा सहयोगी भए पनि कक्षाकोठा कहिल्यै सफा गर्ने नगरिएको पाइएको छ ।

बस्ने ठाउँको राम्रो व्यवस्था त छैन नै, खाजा खाने समय पनि दिइएको छैन । विद्यालय परिसरमा घेराबार नभएकाले टिफिनमा घर गएका विद्यार्थी नफर्कने हुँदा लगातार पढाएको प्रधानाध्यापक राजकिशोर चौधरीले बताए ।

नयाँ पत्रिकामा रञ्जन भण्डारीले लेखेका छन् ।

प्रतिक्रिया