Edukhabar
मंगलबार, ०४ बैशाख २०८१
अन्तैवाट

हामी अझै सवल छौ : सेवा निबृत शिक्षक

आइतबार, १० असार २०७५

काठमाण्डौ. १० असार / भक्तपुरका सेवा निवृत्त शिक्षकहरुले शैक्षिक विकासको लागि आफूहरु अझै सवल भएको बताएका छन्। सेवा निवृत शिक्षक समाज भक्तपुरले शैक्षिक विकासका लागि शनिबार आयोजना गरेको अन्तरक्रिया कार्यक्रममा उनीहरुले आफूहरुसँग भएको ज्ञान, अनुभव अझै समाजका लागि उपयोगी हुने बताए। उनीहरुले भक्तपुरको शैक्षिक विकासमा आफ्नो योगदान अझै पनि महत्वपूर्ण हुनसक्ने बताएका छन्।

२०६७ सालमै श्री नवीन निम्न माध्यमिक विद्यालय गोल्मढी भक्तपुरको प्रधानाध्यापकबाट सेवा निवृत शिक्षक विश्वराम कवाँले सेवा निवृत शिक्षकहरु नथाकेको बताए । ‘हामीहरु अझै समाजका लागि काम गर्न चाहन्छौं,’ उनले भने, ‘जीवनभर कमाएको ज्ञान हामी समाजको विकासका लागि उपयोग होस् पोख्न चाहन्छौं।’ ३० वर्ष सरकारी सेवामा सेवारत ५९ वर्षीय उनी अझै जीवनको महत्वपूर्ण समय देशकै विकासका लागि लागिपर्ने बताउँछन्।

सेवा निवृत्त शिक्षक कान्छा बासुकलाले निवृत्त शिक्षकहरुको अनुभव साट्न आफूहरु तयार रहेको बताए। शिक्षण पेशाको क्रममा रसुवा, सिन्धुपाल्चोक, काभ्रेपलान्चोकलगायतका जिल्लामा पुगेको स्मरण गर्दै उनले त्यहाँ पुगेर पढेर, भोगेर सिकेको ज्ञान समाजकै लागि लगाउन उत्सुक रहेको जनाए। कार्यक्रममा सेवा निवृत्त शिक्षक एवं भक्तपुर नगरपालिका वडा नं ५ का वडाअध्यक्ष प्रेमगोपाल कर्माचार्यले भक्तपुर नगरपालिकाको शुक्रबार सम्पन्न नीति तथा कार्यक्रममा शिक्षालाई पहिलो प्राथमिकतामा राखेको जानकारी गराए। साथै सामुदायिक र निजी विद्यालयबीचको खाडल पूर्ने पालिकाले योजना बनाएको उनले सुनाए।

सेवा निवृत्त शिक्षक समाज भक्तपुरका कार्यबाहक अध्यक्ष अम्बिकामान मानन्धरका अनुसार समाजमा आबद्ध भक्तपुरका सयभन्दा बढी सेवा निवृत्त शिक्षकहरु कुनै न क्षेत्रमा अझै क्रियाशील भई सामाजिक काममा लागिरहेका छन्। आफूहरुले विगतमा के ग-यौंभन्दा पनि महत्वपूर्ण भविष्यमा के गर्न सक्छौ भन्नेमा आफूहरु लागिरहेको उनको भनाइ थियो। त्यसकारण सेवा निवृत्त शिक्षकहरुलाई प्रोत्साहित गर्न समाजले प्रत्येक ६ महिनामा त्यस्ता सेवा निवृत शिक्षकहरुलाई सम्मान गर्ने र उहाँहरुको अनुभव संकलित ‘शैक्षिक अनुभव’ नामक पुस्तक प्रकाशित गर्दै आएको उनले जनाए।

समाजका सचिव रामगोपाल कर्माचार्यले वर्षको दुई पटक कार्यक्रम गर्ने, पुस्तक प्रकाशन गर्नेलगायतका योजना रहे पनि सेवा निवृत्त शिक्षकहरुको दवावले महिनैपिच्छे कार्यक्रम भइरहेको जानकारी गराए। कार्यक्रममा अभिभावक शिक्षामा सेवा निवृत्त शिक्षकहरुको योगदान र परिचालन, विद्यालयमा कार्यरत शिक्षकहरुले सामना गरिरहेका समस्या र चुनौतीहरुको पहिचान निराकरणमा सेवा निवृत्त शिक्षकहरुले खेल्नुपर्ने भूमिका, विद्यार्थीको समसामयिक जिज्ञासामा अनुभवी निवृत्त शिक्षकहरुको योगदान विषयमा अन्तरक्रिया गरिएको थियो। अन्तरक्रियामा सहभागी धेरै सेवानिवृत शिक्षकहरुले शैक्षिक विकासका लागि आफूलाई लागेको विचार सुनाएका थिए।

दुई वर्ष अगाडि हामी अझै सवल छौं भन्ने मूल नाराका साथ आदर्श आजाद माध्यमिक विद्यालयको प्रिन्सिपलबाट सेवा निवृत्त नाति कवाँँको अध्यक्षतामा समाज गठन गरिएको थियो। समाजले सेवा निवृत्त शिक्षकहरुको अनुभव समेटिएको ‘शिक्षण अनुभव’ पुस्तक पनि प्रकाशित गर्दै आएको छ।

कृष्ण किसीले नागरिकमा लेखेका छन् ।

प्रतिक्रिया