हामीले शिक्षा मन्त्रीलाई पटक पटक भन्यौं, भाग्न त कहाँ पाईन्छ ?


निजी विद्यालय सञ्चालकहरुले प्रधानमन्त्री मार्फत् दवाव दिए पछि कक्षा ११ मा यसै शैक्षिक सत्रबाट नयाँ पाठ्यक्रम अनुसार पठन पाठन गर्ने यस अघिको आफ्नो निर्णयबाट शिक्षा मन्त्री गिरिराजमणि पोखरेल पछि हटेका छन् । एक वर्ष केही विद्यालयमा परीक्षण गरेपछि मात्रै आउँदो बर्षबाट देशै भरीका विद्यालयमा जाने गरी तत्कालका लागि उक्त निर्णय फिर्ता गरिएको हो । निजी विद्यालय सञ्चालकहरुको संगठन उच्च शिक्षालय तथा माध्यमिक विद्यालय संघ हिसानका पदाधिकारीले उक्त प्रारुप लागू नगर्न प्रधानमन्त्री केपी ओलीलाई भेटेरै लविङ् गरेका थिए । हिसानको अध्यक्ष रमेश सिलवाल सहितको टोलीले ओलीलाई कन्भिन्स गरेपछि शिक्षा मन्त्री पोखरेल माथि दवाव परेको थियो । पाठ्यक्रमको विरोध किन आवश्यक पर्यो ? श्रीधर पौडेलले सिलवालसँग गरेको कुराकानी :

सरकारले यसै शैक्षिक सत्र देखि कक्षा ११ मा लागु गर्न लागेको नयाँ पाठ्यक्रमको प्रारुपमा तपाईहरुको ब्यापक असहमती रह्यो, प्रधानमन्त्रीसँगै पुगेर प्रभाव पारेर रोकिदनु भयो ! प्रधानमन्त्रीलाई नै प्रभाव पार्न सक्ने तपाईहरुसँग त डरलाग्दो खुवी पो रहेछ !

यसलाई प्रभाव पारेको भन्ने तरिकाले बुझ्नु गलत छ । हामीले पाठ्यक्रम प्रारुपमा कारेमा प्रधानमन्त्री सँग कुराकानी गर्यौं । हामीले हाम्रा तर्क उहाँ समक्ष राख्यौं । अहिले कक्षा ११ र १२  मा नयाँ पाठ्यक्रम प्रारुपमा के गल्ती कमजोरी छ र त्यसलाई कसरी समाधान गर्न सकिन्छ भनेर कुरा राख्यौं । उहाँ कन्भिन्स हुनु भयो, उहाँले नै यसलाई छलफल गर्नु पर्छ, विचार विमर्श पुगेको छैन भन्नु भयो । 

के हुन् त पाठ्यक्रम प्रारुपका कमजोरी ?

कक्षा १ देखि कक्षा १२ सम्म एउटा ल्याडर हो । त्यसको प्रारुप पहिले तयार भएको छैन । १ मा के राख्ने २ मा के राख्ने ३ मा के राख्ने ? अथवा आधारभूत तहको शुरु र अन्त्यमा के हुने ?  माध्यमिकको शुरु र अन्त्यमा के हुने भन्ने कुरो पहिले तय हुनु पर्छ ।
उहाँहरुले ५ तहको कन्सेप्ट ल्याउनु भयो, हाम्रो भिन्नता केमा हो भने ११ र १२ भनेको प्रि यूनिभर्सिटि कोर्ष हो । भिन्नता छैन भने कक्षा १० को प्रदेशले किन लिने ? १२ कक्षाको परीक्षा चाँही केन्द्रले किन लिने भनेको  ? ८ कक्षाको स्थानीय निकायले किन लिने भनेको ? केही भिन्नता त होला नी ! त्यो भिन्नतालाई पहिल महशुस गर्नु पर्यो ।

नम्बर दुई विगतमा सिंगल ट्रयाक भने पनि मल्टि ट्रयाक प्रणाली थियो । परीक्षा भनेको छुट्टा छुट्टै नतिजा निकाल्न पाईदैँन । तर प्लस टुको त्यतिखेर पहिला साईन्सको रिजल्ट हुन्थ्यो, त्यसपछि अरु विषको हुन्थ्यो । लेख्नमा सिंगल ट्रयाक भन्यौं ब्यवहारमा भने मल्टि ट्रयाक अनुसार गरियो । 

मल्टि ट्रयाक भनेको कसतो भने साईन्सले यो यो लिन पायने, मानविकीले यो यो, शिक्षाले यो यो लिन सकिन्छ ल ले यरी लिन सकिन्छ भनियो । शुरुमा मेरो  तर्क पनि यहि थियो । तपाईहरु उता यो यो समूहले यो यो लिन पाउने भनेर पाँच वटा समूह लिन पाउने भन्नु भा छ भने कसरी सिंगल ट्रयाक भयो ? अथवा यहाँ पढेको विद्यार्थीले विदेशको कुनै विश्वविद्यालयमा पढ्न जान चाह्यो भधने त्यसले  पाउँछ । 

तपाईले दिएको सुझाव के हो त ? के हुनु पर्छ ?

पहिलो कुरो प्रि यूनिभर्सटि कोर्ष हो यो भन्ने बुझ्नु पर्छ । दोश्रो साईन्स पढ्नेलाई वायोलोजि, फिजिक्स अनिवार्उ राखिनु पर्यो  । म्यानेजमेण्टले एकाउट नै पढ्न, ईकोनोमिक्स नै पढेन अथवा विजनेश पढेन भने अरु पढेर म्यानेजमेण्टको के अर्थ रह्यो ? जक की बेस नै छैन भने बेसमा उभिएर पढ्ने अरु विषयको के अर्थ रह्यो ? त्यसकारण बेसिक विषयहरु अनिवार्य गर्नु पर्छ । अरु विषयलाई छुट्याउनु पर्छ भन्ने धारणा हो ।

उहाँकरुको कुरा फरक थियो । उहाँहरुले ईङ्लिस नेपाली सामाजिक विषयलाई कोर सब्जेक्ट भन्नु भयो । मैले भने हैन यो कोर हैन कम्पल्सरी विषय हो । भोली गएर एमविविएस पढ्नेलाई ईङ्लिस नेपाली कसरी कोर सक्जेक्ट हुन सक्छ ? ईञ्जिनीयरिङ् पढ्नेलाई सामाजिक अध्ययन कसरी कोर सब्जेक्ट हुन सक्छ ? कम्पल्सरी हुन सक्छ । कोर र कम्पल्सरी फरक हो । कोर, कम्वल्सरी र ईलेक्टिभ क्षेत्र छुट्याउनु पर्छ । जसलाई जे मनलाग्यो त्यही लिन पाईने बनाउनु हुँदैन । 

अर्को कुरा धेरै घण्टा राखिएको छ । हजार २४ घण्टा अर्थात् ३२ क्रेडिट पुर्याउने पर्ने भनिएको छ । फलानाको कितावमा यस्तो लेखेको छ भनन्े उहाँहरुको तर्क छ । त्यो कितावको के आवश्यकता ? १० विषय किन राख्ने ?

अहिले ए लेभलमा साढे तीन सय पढे हुन्छ । नेपालको सन्दर्भमा ४ सय देखि साढे ४ सय सम्म भए हुन्छ । सीवीएसी। आईसीएएसी यीनीहरुकोमा ५ सय क्रेडिट छ । सात सय ५० घण्टा पढाए पुग्छ । हाम्रो निम्ति १० वषिय हजार २४ घण्टा किन राख्ने ? त्यसको आवश्यकता चाहियो नी ।

हैन, ९ १० कक्षाकोले पढ्न सक्ने तर कक्षा ११ – १२ ले मात्रै नसक्ने भन्ने तपाईहरुको तर्क के हो ?

उसो भए त पीएचडी गर्दा किन विशेष शिर्षकमा गर्ने ? उसलाई त ५० विषयमा गराउनु पर्ने हैन र ? जति माथि यूनिभर्सटि तिर जान्छ विषय साँघुरिदैं जान्छ ।  र स्पेसिफिक हुँदै जान्छ । जति हाईयर पढ्छ त्यस पछि टपिक्समा जान्छ । यो कुरो बुझ्नु पर्छ ।
अर्को कुरा हामी सँग अहिले भनिए अनुसार पठन पाठन गर्ने समय नै पुग्दैन । किन भने एसईई चैतमा हुन्छ । रिजल्ट चाँही यसपालि ढिला भए पनि सामान्यतया जेठ मसान्त सम्म हुन्छ । कक्षा चाँही साउन १५ देखि शुरु हुन्छ । भनेपछि पढाउने समय नौ महिना पनि हुँदैन । अहिले भनिएको प्रारुप अनुसार ढिाउने हो भने २ सय ५४ दिन लाग्छ । तर हामी सँग विभिन्न चार्डवार्ड आदी ईत्यादीका विदा, परीक्षाको ३० दिन, क्यालेण्डरमा नराखेनी हुने बन्द हड्ताल घटाउनुस् त्यो सबै जोड्दा १ सय ५० देखि १ सय ६० दिन भन्दा बढि आउँदैन । उसो भए त्यो समय कसरी पुरा गर्ने ? लौ मलाई बताईदिनुस् ।

बरु ती विषयमा जनरलाईज्ड भन्दा ब्रोडर नलेज दिउँ । साईन्सकोलाई फिजिक्स, क्यामेष्ट्रिलाई जोयोलोजीसँग, वायलोजिलाई ईन्भारोन्मेण्ट साईन्स सँग जोडौं, यी सम्बन्धित विषय हुन् । असम्बन्धित विषय यसमा नहालौं ।

अर्को मुख्य कुरो राज्यले धान्न सक्छ ? अहिले त माध्यमिक शिक्षा सम्म अनिवार्य भयो । २०६७ साल सम्म २ जना शिक्षक दिएको छ । यो रुपमा भयो भने न्यूनतम १० शिक्षक दिनु पर्छ । शिक्षक चाँही दिन नसक्ने, आवश्यक अनुसार १० जना कम्तिमा शिक्षक दिदाँ चार गुना बजेट चाहिन्छ । मैले अर्थ मन्त्री, सचिव प्रधानमन्त्री सँग सोँधे बजेट छ ? छैन भन्न हुन्छ । यो घोषणा गरेको भोली पल्टै त्यसको समस्ष त आयो नी अनी गर्न नसक्ने काम किन गर्नु पर्यो ?  

यो पाठ्यक्रम लागू भयो भने कतिपय सरकारी स्कुलले पठन पाठन नै गर्न सक्दैनन् । किन भने विहान नौ, साढे नौ सम्म प्लस टु हुन्छ । दिउँसो चाँही स्कुल चल्छ । यो भयो भने दिउँसो १ बजे सम्म कक्षा चलाउनु पर्छ । सरकारी विद्यालयका शिक्षकले विहान नौ बजे देखि बेलुका ५ बजे सम्म पढाउँछ ? हामी निजीले पठाउँछौं । कसरी खुसी बनाएर पढाउन लगाउने हामी गर्छौ , तर के सरकारी विद्यालयका शिक्षकले पढाउँछन् ? त्यसको परिणाम के हुन्छ भने अहिलेको नतिजामा झन् धेरै खस्किन्छ ।

हामीले उठाएका मुख्य कुरा भनेको कोर सब्जेक्ट छुट्याउँ, स्किल बेस एउटा दिउँ, अँग्रेजी र नेपालीलाई बेस गरौं र एउटा न एउटा लाईभ स्किल सिकोस् । 

तर, तपाईहरुले त नयाँ पाठ्यक्रम लागू गर्दा थप हुने विषयहरुमा थप शिक्षक राख्नु पर्नाले खर्च बढ्ने भयो भनेर लागू नगर्न दवाव दिनु भएको भन्ने चर्चा छ त !

हामीलाई के टाउको दुखाई छ र ? शिक्षक बढि भए भने विद्यार्थी अभिभावकको थाप्लोमा बढि भार पर्ने हो बढि पैसा लिईदिन्छौं बढि शिक्षक नियुक्त गर्छौ । आजको भोली हामी ब्यवस्थापन गर्न सक्र्छौ । राज्य सक्छ ? राज्यको त प्रकृया होला नी त । उसले सूचना निकाल्नु पर्ने होला, ईन्टरभ्यू लिनु पर्ने होला , त्यस पछि सम्बन्धित ठाउँमा खटाउन पर्ने होला, त्यो अगाडी कसले कति पैसा दिने भन्ने यकिन गर्नु पर्ला । यस भन्दा अघि २ हजार शिक्षकको दरबन्दी पनि म र उमेश सर (हिसानका पूर्व अध्यक्ष उमेश श्रेष्ठ) सहजकर्ता बनेर तीन तीन महिना लगाएर गरेको हो । त्यसो गर्दा अर्थ मन्त्रालय, अर्थ मन्त्रीले के भने कसैलाई थाह छ ? शिक्षा मन्त्रालय सचिव र मन्त्रीले नसकेको काम हामीले जुईनो फुकाएको हो ।

नयाँ पाठ्यक्रम लागू भयो भने यस अघि नै छापिएका पाठ्यपुस्तक विक्रि नभएर करोडौंको लगानी डुब्ने भयो भन्ने ब्यापारीको दवाव पनि तपाई मार्फत् नै प्रधानमन्त्री समक्ष पुगे पछि फिर्ता भएको कुरा हामीले थाहा पायौं, यसले पनि तपाईको दवावलाई साथ दिएको हो ?

बेकारको कुरा । त्यसमा मलाई चासै छैन । बेकारको कुरा त्यस्ता कुरामा म चासै राख्दिन । म चाँही के कुरामा मात्रै हो भने न्यायोचित कुराको म पक्षपाती हुँ ।  जहाँ अन्यायको कुरा हुन्छ म त्यसको विरुद्धमा हुन्छु ।

भनेको हाम्रो पठनपाठनको जे ढाँचा छ, अर्थात् नयाँ प्रारुप लागू नगरी जे छ त्यही अपनाईरहनु पर्ने हो त्यसो भए ?

त्यो मैले भन्दै भनिन । जे छ त्यही भन्ने भएको भए त हामीले सुधारको विकल्प नै दिदैंन थ्यौ नी । हामीले सुधार्दा त पहिलेको भन्दा त राम्रो गर्नु पर्यो नी । सुधार्ने भनेको पहिलेको भन्दा राम्रो गर्न हो । तर पहिलेको भन्दा खत्तम छ भने किन परिवर्तन गर्नु पर्यो ? बरु पुरानै ठिक थियो । बढि विग्रेको त थिएन ।

भने पछि देशमा नयाँ पाठ्यत्रम लागू गर्न नै नदिने तपाईहरुको अडान हो ?

हैन । कहिले देखि लागू गर्ने भन्ने कुरा राज्यको कुरा हो । तर यो रुपमा हामी स्विकादैनौं । यो लागू गर्न दिदैंनो भनेर चाँही हामीले भनेको हो ।

किन भने विद्यार्थीलाई बढि भार दिएर मात्रै हुन्न । मानौं न तपाईको कुनै वालवालिका छ भने एउटा त्यही पढेर ४ स य वा ५ सय क्रेडिट वावर पढेर अन्र्तराष्ट्रिय रुपमा मान्यता प्राप्त छ भने, अर्कोले किन यत्रो भारी बोक्नु पर्ने ? सरकारको काम बढि ज्ञान दिने नयाँमा विद्यार्थीलाई दवाव दिने हो ? विद्यार्थीको जीवनमाथि खेलवाड गर्नु हुन्न ।

ल उहाँहरुको प्रारुपका बारेमा सार्वजनिक बहस गरौं न त । उहाँहरुको तर्क पनि सुनौं मेरो पनि सुनौं । उहाँहरुको तर्क ठिक भयो भने म स्यालुट गर्छु । मेरो तर्क बहसले जित्यो भने उहाँहरुले त मान्नु पर्यो नी ।

संविधानले समाजवाद उन्मुख समाजका परिकल्पना गर्ने, समाजको विकास भनेका शिक्षाबाट बाहेक सम्भव छैन भन्ने, तर जव परिवर्तनका कुरा आउँछन् यस्ता गाँठो पारेर बस्दिने ! हामी जाँदै छौं चाँही कता ?

तपाईलाई एउटा कुरा भनिदिउँ ? संविधानले समाजवाद भन्यो । समाजवादका प्रवर्तक मध्ये एक जना माक्र्स हुन् । के एउटा डाक्टरले माक्र्सको फोटो झेण्ड्याएर अप्रेसन गर्ने की अप्रेसन गर्न जानेर गर्ने ? कुन ठाउँमा कुन प्रयोग गर्ने भन्ने त होला नी । समाजवाद भनेको त कसरी स्वास्थ्यको पहुँच जनतासँग पुर्याउने , औषधि खान नपर्ने कसरी बनाउने, खान पर्यो भने कसरी निशुल्क वा सहुलियत दिने भन्ने होला नी त ! म पनि समाजवादी शिक्षा यस्तो हुनु पर्छ भनेर यसका पक्षमा लडेको मान्छे हुँ । तर, उनीहरुले बुझाईदिनु पर्यो, जिन्दगीभर पुँजीवाद र पञ्चायतका मान्छेहरुले वकालत गर्ने मान्छेहरुको टिमले ल्याएको शिक्षा समाजवादी हुने ? कुन चाँही कुरा हामीले भनेको बुर्जुवा भयो ? नेपालको ईतिहास भूगोलको पढाई अनुसन्धानात्मक रुपमा गर्नु पर्छ भन्नु नेगेटिभ हो ?

तपाईहरुले सरकारले गरेको निर्णयबाट शिक्षा मन्त्रीलाई पछि हट्न वाध्य पार्ने गरी दवाव दिनुले राज्य सञ्चालनमा तपाईहरुको प्रभाव डरलाग्दो रहेछ भन्ने बुझिन्छ हैन र ?

यसलाई जित हारको विषय नबनाउँ । मैले अघि पनि भनेँ । हामीले यो कुरा बेठिक छ भन्यौं मन्त्रीलाई पनि पटक पटक भन्यौ । केही त गर्नु भयो, तर धेरै सुधार गर्ने उहाँमा पनि रुचि आएन । उहाँले तर्क पनि गर्नु भएन, बहस पनि गर्नु भएन, सुन्न चँही सुन्नु भयो, ल ठिक छ तपाईहरुका कुरा बुझें भन्नु भयो, तर के बुझ्नु भयो हामीलाई थाहै भएन । बहस नगरेर भाग्न त कहाँ पाहिन्छ र ? तपाईहरुका नी कुरा सुन्यौं उहाँहरुका नी कुरा सुन्यौं सबैको कमन लियौं भन्न पाहिन्छ ? शिक्षामा सम्झौता हुन्छ र ?

एउटा प्रसंग तपाईलाई सुनाईदिउँ । उहाँले विभिन्न कलाकार बोलाउनु भयो । १५ जना कलाकार थिए । ४ जना एसएलसी फेल थिए । उनहिरुले दोहोरि गितलाई कम्पल्सरी बनाउनु पर्छ भने, संगीतकारले के भन्यो गीत संगित पो त मुटु हो त त्यसलाई पो बनाउनु पर्छ,  । अर्को डान्सवालाले डान्सकै महत्व बतायो । यस्तै खेलाडीलाई बोलउाँदा उसले खेलै छैन भने कहाँ हुन्छ भन्ला । अब के सबै चिज हाल्दै जाने हो त ? सबै विषय एउटा बास्केटमा हालेर सम्भव छैन । ज्ञान त चाहिन्छ नी ।

त्यसैका लागि त जीवनोपयोगी शिक्षाको अवधारणा सहित पाठ्यक्रम प्रारुप आएको थियो रोकिदिनु भयो त !

जीवनोपयोगी शिक्षा भनेको त्यो हैन । यहाँ गलत तरिकाले भनिएको छ । लाईभ स्किल भनेको बाँच्न सक्ने आधार बनाउने भनिएको हो । बेसिक बाँच्न सक्ने आधार चाहियो । कोही ईलेक्ट्रिसियन बन्ला, कोही प्लम्बिङ् गर्ला, कोही ब्यूटि पार्लर खोल्ला ...

तर संसारको अभ्यास त जीवनोपयोगी भनेको सीप भन्दा धेरै ज्ञानसँग जोडिएको भनेर ब्याख्या हुँदो रहेछ, त्यही अनुसार काम भईरहेको छ भन्ने सुनिएको छ ...

हैन यसमा तपाईहरु स्पष्ट हुनु जरुरी छ । लाईफ स्किल भनेको टेक्निकल र आईटि तिरको कुरा हो, पछिल्लो फेजमा अलिक तोडमोड हुँदै छ भन्ने सुनिएको छ । छलफल एउटा विषयमा हुन्छ, निचोड अर्को आईदिन्छ यही समस्या हो ।