Edukhabar
शुक्रबार, १६ चैत्र २०८०
गतिविधि

स्थानीय सरकारलाई सुझाव : बाटा-घाटा हैन, शिक्षामा खर्च गर

बुधबार, १३ असार २०७५

काठमाडौं - सत्तारुढ दलका नेता तथा पूर्व मन्त्री जनार्दन शर्माले स्थानीय सरकारले आफ्नो बजेट बाटा घाटामा खर्च गर्न छाडेर शिक्षामा केन्द्रित गर्न सुझाव दिएका छन् । समाजको विकासका लागि शिक्षाको महत्व धेरै हुने भन्दै आफू अन्र्तगत प्राप्त अधिकार कार्यान्वयन गर्न स्थानीय सरकार केन्द्रित हुनु पर्ने उनको भनाई छ ।

गभर्नेन्स फेसिलिटि र सर्च फर कमन ग्राउण्डले आयोजना गरेको नेपालमा महिला तथा युवा नेतृत्व विषयक राष्ट्रिय सम्वाद कार्यक्रममा प्रमुख अतिथि रहेका शर्माले ठूलो त्याग र संघर्षबाट आएको संघीय ब्यवस्थाको प्रभावकारिता स्थानीय सरकारको कार्यसम्पादनमा निर्भर हुने बताए ।

धनुषा सिन्धुली र महोत्तरीका स्थानीय सरकारका प्रतिनिधि सहित शिक्षा, विकास र युवाका क्षेत्रमा कृयाशिल सरकारी गैह्र सरकारी क्षेत्रका प्रतिनिधि समेत सहभागी उक्त कार्यक्रममा शर्माले शिक्षाको पहुँचबाट टाढा रहेका वालवालिकाको संरक्षण र शिक्षामा ध्यान दिन पनि सुझाव दिए ।

'स्थानीयले आफ्नो श्रोत बाटा घाटामा खर्च गर्ने हैन, त्यसका लागि धेरै रकम चाहिन्छ, त्यो काम प्रदेश र संघीय सरकारले गर्छ, तपाईहरु शिक्षामा केन्द्रित हुनुहोस्' स्थानीय सरकारका प्रतिनिधिलाई सम्बोधन गर्दै उनले भने 'ब्यवस्थालाई सफल बनाउन ज्ञान र ब्यवहार सहितको शिक्षा चाहिएको छ, त्यस तर्फ तपाईंहरु पनि लाग्नुहोस् ।' 

नेतृत्वको निर्माण संघर्ष र आवश्यकताले निर्धारण गर्ने भन्दै उनले समाजमा विद्यमान समस्याको समाधान दिन वैचारिक स्पष्टता, योजनार साहस आवश्यक हुने पनि बताए ।

कार्यक्रममा विभिन्न स्थानीय सरकारका प्रतिनिधिले संघीय सरकारले बेलैमा आवश्यक कर्मचारी ब्यवस्थापन नगरिदिदाँ कार्य सञ्चालन प्रभावकारी हुन नसकेको गुनासो गरे । संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयका सहसचिव पुरुषोत्तम नेपालले स्थानीय सरकारको सकारात्मक कार्य सञ्चालनका लागि आवश्यक सहजीकरणका लागि मन्त्रालय तयार रहेको बताए ।

कार्यक्रममा सर्च फर कमन ग्राउण्डका कण्ट्रि डाईरेक्टर डा. भोला प्रसाद दाहालले तीन जिल्लामा सञ्चालित कार्यक्रम अन्र्तगत महिला तथा युवा नेतृत्वको अवस्था बारे चर्चा गर्दै शिक्षा र सीप मुख्य भएकोले त्यस तर्फ ध्यान दिनु पर्ने बताए ।

गभर्नेन्स फेसिलिटिकी डेपुटी चिफ शालिनी त्रिपाठिले नयाँ कुराको शुरुवात गर्दा केही चुनौती हुने भए पनि संविधानले गरेको ब्यवस्था अनुसारको कार्यान्वयन गर्न स्थानीय सरकार कृयाशिल हुनुको विकल्प नभएको बताईन् ।

कार्यक्रममा प्रदेश नम्बर तीनका प्रदेश सदस्य प्रदीप कटुवाल, विभिन्न संस्थाका प्रतिनिधि लगायतले युवा, महिला नेतृत्व विकास र शिक्षाको पहुँचका विषयमा अहाआफ्ना धारणा ब्यक्त गरेका थिए ।

प्रतिक्रिया