Edukhabar
बुधबार, १२ बैशाख २०८१
विचार / विमर्श

लाचार शिक्षा मन्त्रालय र लेटर ग्रेडिङ प्रणाली

शनिबार, १६ असार २०७५

गैरजिम्मेवारीपन तथा असक्षमताका कारण चर्चामा आइरहने शिक्षा मन्त्रालय यस पटक एसईई परीक्षाको नतिजा प्रकाशनमा भएको लापरवाहीले थप कलंकको बोझ उठाउन सफल भयो !

परीक्षामा सामेल लाखौं विद्यार्थीको मात्र नभई उनीहरुका अभिभावक, शिक्षक एवम् आफन्त र शुभेच्छुक समेतलाई यति चिन्तित बनायो यो कुनै शब्दमा ब्यक्त गर्न नसकिने अक्ष्यम्य अपराध हो ।

परीक्षाफल सार्वजनिक गर्न तीन दिन ढिला गरेको भए आकाश खस्थ्यो ?

दुई– चार पटक रुजु गरेर पछिल्लो नीतिगत कुराको सम्बोधन जाँचेर अनि विगतमा हुने गरेका त्रुटी यसपटक पुनः नआउने भनेरै नतिजा तयारी गर्न कसले रोक्यो ?

परीक्षा लिने र नतिजा प्रकाशन गर्ने मुख्य काम भएको राष्ट्रिय परीक्षा बोर्डको कार्य सम्पादन प्रति अब कोही कसरी सकारात्मक बन्न सक्छ ?

ठूलाले जे गरे पनि हुन्छ, सर्वसम्मत, छैन शिवको मगन्ते भेष निन्दित, भनेजस्तै छानविन समिति बनाएर आखाँमा छारो हाल्ने शिक्षा मन्त्रालय एक पछि अर्को लज्जास्पद र कायरता पूर्ण भाषमा डुबिरहेको छ ।

१. लेटर गे्रडिङ प्रणालीबाट परीक्षार्थीको सहि मूल्याङ्कन नहुने हो त ?  

विद्यार्थी मूल्याङ्कनमा लेटर गे्रडिङ प्रणाली स्वयम्मा वैज्ञानिक पद्धति हो । एउटा विद्यार्थीले विषयगत क्रेडिट आवरको आधारमा प्राप्त गर्ने सम्पूर्ण औसत उपलब्धिलाई आधार मानेर जीपीए प्रदान गरिन्छ र जीपीएलाई क्यूपीए पनि भनिन्छ । सर्वप्रथम Yale University का प्रोफेसर G W Pierson ले सन् १७८५ मा जीपीएको चर्चा उठाएको पाइन्छ भने सन् १७९२ मा पहिलो पटक क्याम्ब्रिज युनिभर्सिटीले जीपीए (Grade Point Average) को प्रयोग गरेको भन्ने भनाई छ । अहिले सबैभन्दा बढि युरोपका देशहरु रसिया, डेनमार्क, फ्रान्स, जर्मनी, फिनल्याण्ड समेत ३५ राष्ट्रहरु, अफ्रिकाको इजिप्ट र साउथ अफ्रिका गरी ५ वटा देशहरु, उत्तर अमेरिकाका क्यानडा र अमेरिका गरी ३ वटा, त्यस्तै मध्य अमेरिकाका कोष्टारिका र निकारागुवा तथा दक्षिण अमेरिकी राष्ट्र चिली, भेनेजुयलासहित एसियाका चीन, भारत, जापान तथा नेपाल गरी १७ राष्ट्रहरु सहित दुनियाका साठी भन्दा बढि राष्ट्रहरुका विद्यालय तहमा मात्र हैन, कलेज एवम् विश्वविद्यालयहरुमा पनि लेटर ग्रेडिङ पद्धति अवलम्बन गरिएको पाइन्छ ।

सिस्टम कार्यान्वयन गर्नुअघि आवश्यक पूर्वाधार तयार गर्नु पर्छ, यो अनिवार्य शर्त हो । नेपालको शिक्षा मन्त्रालय हतारमा नक्कल गर्छ र फुर्सदमा पश्चाताप गर्छ । राम्रो विधिको प्रवेश अन्यथा नहोला, तर लेटर ग्रेडिङ प्रणाली (Letter Grading System) को मर्म बमोजिमको पाठ्यक्रम, शिक्षण सिकाई प्रक्रिया, मूल्याङ्कनका औजारको उपयुक्त प्रयोग, शिक्षक विद्यार्थी र अभिभावकमा आवश्यक सूचनासहित अङ्कलाई अक्षरमा परिर्वतन र ग्रेड निर्धारणबारे आवश्यक ज्ञान सरोकारवर्गमा हुनै पर्छ । प्रश्नमा अंक तोकिएको, जाँच्दा परीक्षकले अंक दिएका छन् । यी अंकको इन्ट्री गरेर अक्षरमा परिर्वतन गरिएको छ, जसले विद्यार्थीको सहि मूल्याङ्कन हुदैन ।

जस्तो ३.६५ देखि ४.० जीपीए ल्याउने विद्यार्थी १४ हजार २ सय ३४ जना भनियो र उता ४.० जीपीए ल्याउने जम्मा २५ जना विद्यार्थी, जसको प्रत्येक विषयमा ९० देखि १०० बीचको अंक पाएको हुन्छलाई देखाइयो, यसो गर्दा ३.६५ देखि ४.० जीपीएभित्रका कतिपय विद्यार्थी जो बोर्डर जीपीएका छन्, ती कतै ओभरल्यापमा हराएका पनि हुन सक्छन् । पद्धति वैज्ञानिक भनिए पनि विद्यार्थीको अति शुद्ध मूल्याङ्कन यो विधिमा हुदैन, जबकि एउटा ग्रेडभित्र ० देखि ९ सम्मको अंक ग्याप रहेको हुन्छ । लेटर ग्रेडिङमा सबै राष्ट्रमा समान ग्रेड पाइदैन । धेरै राष्ट्रमा ए प्लस, ए र ए माइनस हुन्छ । त्यस्तै बी, सी, डी मा प्रत्येकको ३ गे्रड र ई समेत गर्दा १३ वटा तहमा विभाजन गरी नतिजा दिने प्रचलन पाइन्छ । नेपालमा भने ए प्लस, ए, त्यस्तै बी, सी, डी र ई को एउटा गे्रडमात्र गर्दा जम्मा ९ गे्रडमा नतिजा दिने गरिन्छ । पछिल्लो गे्रडहरु फेलका संकेत हुन्, तर कक्षा प्रमोशनमा जीपीएको मुख्य भूमिका रहन्छ । १.६ जीपीए कक्षा प्रमोशनको न्यूनतम आधार मानिए पनि विषयगत गे्रडको कारणले विद्यार्थीले माथिल्लो कक्षाको पढ्न पाउने विषयमा भने ऊ निर्देशित बन्न सक्छ ।

अर्कोतर्फ लोकसेवा आयोगले कम्तीमा २.० जीपीए ल्याउनेलाई मात्र निजामति सेवामा प्रवेश गर्न पाउने आधार तय गरेकाले कक्षा ११ मा पढ्नका लागि पनि २.० नै जीपीए कायम गर्दा सहज र समान बन्न सक्थ्यो, अन्यथा कक्षा ११ पढ्न पाउने तर निजामति सेवामा जान नपाउने भन्दा स्वभाविक विरोधाभाष देखिन्छ । धेरै विद्यार्थी कक्षा ११ मा पढ्न पाउने नाममा शैक्षिक स्तरीयता झनै टाढा हुन लागेको यो नतिजामा पूनर्मूल्याङ्कन गरी २.० जीपीए न्यूनतम आधार सहित गणित र विज्ञानमा कम्तीमा सी गे्रड हुनैपर्ने व्यवस्था गरिनु जरुरी हुन्छ ।

२. लेटर गे्रडिङले विद्यार्थीमा मेहनत गर्ने बानी घटाएको हो त ?

निश्चय नै, हाम्रो सन्दर्भमा यस्तो देखिएको छ । मेहनत गरेर गणित तथा विज्ञान विषय किन पढ्ने ? यी विषयमा ई गे्रड भए पनि शिक्षा, मानविकी जस्ता विषय लिएर कक्षा ११ पढ्न प्रवेश भइहाल्छ । यो मानसिकताले विद्यार्थीको मनोविज्ञान भाँडिएको छ । प्रतिस्पर्धा छैन । मेहनत गर्न, सिक्न खोज्ने आदत हराएको छ । नतिजाले यहि सिद्ध गरेको छ । सी गे्रडमा उत्तीर्ण विद्यार्थी एक लाखभन्दा बढि देखिनु र लगभग एक लाखले कक्षा ११ मा प्रवेश नपाउने अनि उनीहरुले ग्रेड बृद्धि परीक्षा दिनुपर्ने भनिएकोबाट प्रष्ट हुन्छ कि झण्डै आधा विद्यार्थी यसरी असफल देखिन्छन् ।

बाँकी विद्यार्थीमा पनि आफूले रोजेको विषय अध्ययन गर्न एसईईको सम्बन्धित विषयको गे्रडले सिधा प्रभावित पारिरहेको हुन्छ । गणित, विज्ञान र ऐच्छिक विषयको गे्रड कक्षा ११ को भर्नामा कूल जीपीएको प्रस्तुतिको अंशबाहेक बाधक नहुने शिक्षा तथा मानविकी समूहका विषय पढ्न पाउने भन्नाले विद्यार्थीमा मेहनत गर्ने बानी घटेको पाइन्छ । विद्यार्थी गम्भीर छैनन् । अभिभावक पनि शिक्षा व्यवस्थाबाटै निराश छन् ।
विदेश पठाउन गणित र विज्ञान पास गर्नु पर्दैन भन्ने जवाफ आउछ । अत्यन्त सिमित विद्यार्थीको तल्लो कक्षाबाटै डाक्टर, इन्जिनियर, कृषि, बन लगायतको प्राविधिक विषयको सपना देख्ने मात्र अलि मेहनत गर्ने गरेको र बाँकी असी प्रतिशतभन्दा बढि विद्यार्थी सतहमै रहेका र औपचारिकता पूरा गर्ने गरेको अर्थात् अभिभावकको लागि स्कूल गइदिने र शिक्षकले गाली गर्छन् कि भनेर किताबसम्म बोक्ने तर पल्टाएर अध्ययन भने नगर्ने अल्छी प्रवृत्ति सबैतिर झाँङिएको छ ।

न्यून जीपीएमै ११ कक्षा प्रवेश गराउने, गणित र विज्ञान नपढे पनि कक्षा प्रमोशन हुने, लेटर ग्रेडिङले विद्यार्थीको सहि अंक मापन नगर्ने, स्तरीयताको कुरा गर्ने तर व्यवहारमा कुनै कार्यक्रम नभएको कारणले विद्यार्थीमा अध्ययन प्रतिको रुचि घटेकै हो । प्रविधिको दुरुपयोगले यसमा थप सहयोग गरेकै छ । लेटर ग्रेडिङको मर्म र भावनालाई विद्यार्थीबीचमा कन्भिन्स नगर्ने शिक्षक स्वयम् अन्यौलमा रहनु, हतारमा लेटर ग्रेडिङलाई अंकमा रुपान्तरण गर्दै डिभिजन यो वा त्यो भनेर परम्परागत नतिजालाई प्रश्रय दिइरहनु पनि अतिरिक्त समस्या बनेका छन् । जीपीएबाट ग्रेड रुपान्तरण सहज भएजस्तो ग्रेडलाई तत्काल प्रतिशत र डिभिजनमा देखाउने र त्यो नै आधिकारिक बनाइरहने दबाब त्यहीअनुरुप गर्ने हो भने लेटर ग्रेडिङ सिधै खारेज गरे हुन्छ । अन्यथा यसको दुरुपयोग नियन्त्रण अर्को जरुरी पक्ष हो ।

अन्तमा, विश्लेषकहरुले औंल्याए जस्तै २०७२ सालबाट सुरु गरिएको लेटर ग्रेडिङ प्रणालीले हाम्रो माध्यमिक तहको परीक्षाको नतिजामा सुधार आउन सकेको छैन, बरु उल्टै घट्दो क्रममा गएको तथ्य स्पष्ट छ । २०७२ सालमा १.६५ देखि ४.० जीपीए ल्याउने विद्यार्थी ८४.३३ प्रतिशत थिए भने यो २०७३ सालमा घटेर ८२.३८ प्रतिशत र २०७४ को नतिजामा अझ ओरालो लाग्दै ७५.९२ प्रतिशत हुनुले यो प्रणालीमै प्रश्न चिन्ह उठाएको छ । सारमा हाम्रो शिक्षा व्यवस्था थप समस्या ग्रस्त बनेकै हो ।

शिक्षा मन्त्रालयले पछिल्लो चरणमा पाठ्यक्रमको विषयमा लिएको निर्णय, शिक्षक स्थायी गर्नेसम्बन्धी परीक्षाबारेको निर्णयजस्ता नीतिगत कुराले हाम्रो शिक्षा व्यवस्था उन्नत तर्फ हैन, थप दुरावस्था र वेथिति अनि अन्यौलतातर्फ बढेको सिद्ध गर्दछ । सामुदायिक अर्थात् सरकारी शिक्षा तहसनहस गरेर व्यवसाय र व्यापारिक शिक्षालाई प्राथमिकता दिएको यथार्थ तथ्यहरुले सावित गरेका छन् । यो शैली राष्ट्रकै लागि घातक बन्न सक्छ ।

जिम्मेवार स्थानीय तहदेखि प्रदेश र संघीयस्तरमा रहेका र रहने शिक्षा प्रशासन व्यवस्थित नगरेसम्म शिक्षा औपचारिकमात्र बन्ने निश्चित छ । प्रदेश स्तरमा मान्यता र मर्मको सम्मानसहित मर्यादित र सुव्यवस्थित परीक्षा प्रणाली स्थापित गर्नुको विकल्प छैन । विद्यालय तहका सबै जाच परीक्षा बोर्डमार्फत् सञ्चालन गर्ने गरी संयन्त्र विकास गर्नुपर्ने अवस्था हाम्रो सामु रहेको छ । केन्द्रीयस्तरको परीक्षा बोर्डहरु गठन गरी कक्षा १२ सम्मकै सबै परीक्षालाई तहगत रुपमा बोर्डलाई जिम्मेवारी दिने र बोर्डबाट एकैसाथ परीक्षा र नतिजा प्रकाशन गर्ने गरी परीक्षा बोर्डलाई सबल र सक्षम अधिकार सम्पन्न बनाउनु पर्छ । विवाद रहित र सबै खाले अन्यौलताहरु हटाएर स्तरीय शिक्षाको न्यूनतम मापदण्ड निर्धारण गरी कार्यान्वयन गर्नु पर्दछ । स्तरीय शिक्षा भनेको गफको विषय हैन, कार्यान्वयन गरेर देखाउनै पर्दछ ।

प्रतिक्रिया